कुर्था
बिहान गूड् मर्निङ् सन्देशसँगै उनले आफ्नो तस्बिर पठाएकी थिइन् । कुनै पर्व वा अवसर पारेर खिचिएको तस्बिर थिएन त्यो । बिहानी कक्षामा आफुले पढ्दै गरेको बेला एउटा सेल्फि खिचेर पठाएकी थिइन् प्रियतमाले । फिल्टरको असर प्रशस्तै भएपनि, आज तस्बिर इतिहासमा पहिलोपटक उनी भन्दा सुन्दर देखेको थिएँ मैले । र त्यहि अनुपातमा गम्भीर पनि भएकी जस्तो लाग्यो मलाई । रसिला आँखाले बिलकुल मलाई हेरेकी थिइन् । एउटा हात चिउँडोमा थियो । तर घाँटी तिर बढि पर्ने गरि । उनको त्यो अकस्मातको तस्बिर र तस्बिर भित्रको उनको स्वरूपले, उनको सानिध्यमा बिताएका पलहरू एकैपटक उद्वेलित गराईदिएको थियो । उनका यादहरू सम्हाल्नै नसकिने गरि मेरा आँखामा छचल्किएका थिए । तस्बिर बोल्दै थियो । — ई हेर मलाई । कक्षाकोठामा पनि म तिमीलाई सम्झिएर बसेकी छु । यि आँखाले तिमीलाई खोजि रहेछन् । कहाँ छौ तिमी ? दुई दिनको लागि आयौ । अनि अहिले कहाँ गयौ हँ ? मलाई तिम्रो उपस्थितिको बानी लगाईदिएर एक्लै छोड्यौ । यो निधारले तिम्रो अधरको स्पर्श याद गरि रहेछ । यी हातहरूले तिम्रो हातको पकडको अभाव महसुस गरि रहेछन् । अनि म तिम्रो चाहनामा डुबेकी छु । तिमी साथ नहुँदा एक्ली भ...