मनको घाम
आज मौसम घमाइलो छ । पौष महिनाको जाडोमा सेक्ने घाम लागेको छ । घामको रापले ज्यान रनक्क तातेको छ । सम्झना भने उनको छ । मनमा उनकै राज छ । प्रेमालापको प्रतिक्षामा छु । केहि दिन देखी कुराकानीमा ब्रेक लागेकोले पनि कति बेला आवाज सुन्न पाउँला जस्तो लागेको छ । उनीसँग मन बिसाउन हतार भइ रहेछ । धित मरुञ्जेल प्रेमालापमा डुब्न आतिएको छ मन । अतृप्त बचेरा जस्तै छटपटाइ रहेछु । आज त्यो दिन आएको छ । मेरी मायासँग रुवरु हुने समय भएको छ । म उनलाई फोन गर्छु । म उद्वेलित हुँदै कुराहरू गर्न खोज्छु । तर आज मनकी रानी गद्दीमा छैनीन् । उनका सबै जवाफहरू जाडोयामको चिसो भुइँ जस्तो आउँछन् । म विस्मित भैरहेछु । अचम्म लाग्दै छ । उनको लय फेरिएको छ । भाव रुग्ण भएको छ । म बुझ्न केहि सकेको छैन । केहि मेसो पाउन सकेको छैन । कुहिरोको काग जस्तै भएको छु । नेटवर्कको खराबीले पनि आवाज राम्रोसँग सुनिएको छैन । मैले दोहोर्याएर सोध्नु परेको छ । म भन्छु “के भन्यौ रे ? फेरि भनन” । उनी झर्किएर भन्छिन् “केहि होइन” । म चाहिँ कोसिस गरिरहन्छु । कुराकानीमा खुलापन आइहाल्छ कि भनि लागिरहन्छु । तर आज बेग्लै भाका थियो उनको । म सोध्छु “आज घरमा कोहि आ...