उनी नै उनी
झरिको मौसम, घरि ठूलो बर्षा घरि सिमसिम पर्ने पानी, शहरको व्यस्तता आफ्नै गतिको । म भने आज फूर्सदमा छु । अपरान्ह तिर हामी एउटा रेस्टुराँमा हुन्छौँ । मेरा मिल्ने साथीहरू र सँगै काम गर्ने साथीहरूको एउटा सानो जमघटको मौका परेको थियो । मसँग उनी पनि थिइन्, मेरी उनी, प्यारी उनी । अलौकिक रुपकी उनी, विशाल मनकी खानी । प्रकृतिले सोँची सम्झी कुनै कसर बाँकी नराखी, मेरै लागी भनेर बनाएकी उनी । सुमधुर आवाज र सुन्दर जिउडालले सुसज्जित उनी । अझ चालढालको त के कुरा, बान्की परेकी उनी । मेरा ग्रहगोचरहरू निकै नै उत्तम हुनुपर्छ त्यतिबेला, जब मैले उनलाई पहिलोपल्ट भेटेँ । मेरो यो जड जिन्दगीमा, उनको साथ, उनको माया, उनको सामीप्यता पाउनु, मलाई मेरो अहोभाग्य लाग्दछ । हाम्रो जमघट सानै भए पनि निकै आत्मीय र रमाइलो थियो । खाने र पिउने कार्यक्रम चलिरहेको हुन्छ । म मेरो मन पर्ने खाजा मो:मो मा होमिएको हुन्छु । उनी र म एउटै प्लेट्बाट नै लिईरहेका हुन्छौँ । बेलाबेला उनी मलाई हेर्छिन् । उनको त्यो नजर मेरो मुटु सम्मै पुग्छ । म पनि हेरी रहन्छु उनीलाई । उनी मुस्काउँछिन् । यो पल मलाई संसारकै प्रिय पलहरू मध्येको लाग्छ । उनको सानिध्यता...