प्रेमाभिव्यक्तिमा प्रतिबन्ध
असार २१ (साल थाहा छैन)
आज, उनले मेरा अधुरा शब्दहरूलाई ओठमै बाँधिदिइन् । यो निषेधको पर्खाल यति छिटो र यस्तो कठोर ढङ्गले उभिन्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।
धेरै दिनदेखि मनको गहिराइमा थुप्रिएको मायाको छाललाई आज बगाउन मन थियो । मैले धक फुकाएर भनेँ, "धेरै दिनदेखि भनेको थिइनँ, आज एउटा कुरा भन्छु है !"
तर, उनका शब्दहरूले चट्टान बनेर मेरो प्रस्तावलाई बाटोमै रोकिदिए— "नभन्नु! किन भन्नुपर्यो ?"
त्यो पल, मेरो मुटुले आफ्नै गति बिर्सियो । म शब्दहीन भएँ, आफैँभित्र कतै छुटेँ । उनले "मैले फोन राखेँ है !" भन्दै संवादको डोरी चुँडाइन् ।
मनमा अनगिन्ती तरङ्गहरू उठे । के उनले मेरो समर्पण देखिनन् वा देख्न नै चाहिनन् ? तर, यदि मनमा कुनै अनुराग थिएन भने, एकपटकमै मेरो फोन उठाउन नपाउँदा, पछि आफैँ किन कलब्याक गरिन् । त्यसले कस्तो अर्थ राख्थ्यो ? यो रहस्य मैले बुझ्न सकिरहेको थिइन ।
हृदयको पत्रमा सञ्चित प्रेमाभिव्यक्तिको तृष्णा असह्य भइसकेको थियो । लामो समयदेखि परेको मनको गाँठोलाई म आज फुकाउन चाहन्थेँ । तर, मेरो पहिलो लवजमै मेरो अन्तरमनको कुरा थाहा पाएर उनले मलाई रोकिदिइन् । वास्तविकता के हो, त्यो त उनैको हृदयलाई थाहा होला । तर मैले यति मात्र बुझेँ— सायद अब यहाँ मायाका शब्दहरूको कुनै स्थान छैन ।
उनले किन त्यसो गरिन् ? यो प्रश्नको उत्तर खोज्ने सामर्थ्य मैले कहाँबाट पाउनु र ? मेरो मनको ढोकामा बग्न लागेको प्रेमको धारालाई उनले यति अनायासै किन छेकिदिइन् ? सोध्न खोजेँ, तर आँट आएन— किनकि मलाई थाहा थियो, उनको उत्तर सधै जस्तै "केही होइन" वा "मलाई थाहा भएन" मै अल्झिनेछ ।
अगाध स्नेहको शक्ति बटुलेर मैले यो साहस जुटाएको थिएँ, तर उनको एउटै प्रतिबन्धले मेरो वक्षस्थल रित्तियो । जहाँ मुटु नै आफ्नो ठाउँबाट खसिसकेको छ, त्यहाँ हिम्मतले कहाँ बास पाओस् ? कमसेकम संवादको अन्तिम क्षणमा मनको बह पोख्ने आशा थियो, तर त्यो अवसर पनि मिलेन । उनले आफैँले कुनै न्यानो कुरा गर्नेछिन् भन्ने झिनो आशा पनि कतै थिएन । सायद उनको उहाँको आगमनको समय भइसकेको थियो, त्यसैले हतार-हतार फोन राखिन् ।
उता उनी मौनतामा बिलिन भइन्, यता मलाई भने कसैले तीक्ष्ण तरबारले मध्यभागबाट चिरेझैँ अनुभव भइरहेको थियो । कोठाको पङ्खा पूर्ण गतिमा चलिरहेको थियो, तर मेरो शरीरबाट भने पसिनाका धारा छुटिरहेका थिए । र, म मेरो शून्य मस्तिष्कमा केवल एउटै प्रश्नसँग जुधिरहेँ— आखिर, उनले ममाथि यस्तो क्रूर छेकारो किन लगाइरहन्छिन्?
Comments
Post a Comment