मेरी उनी
आज उनको जन्म दिन । आज भन्दा पच्चीस बर्ष अघि आमाको कोखबाट, काखमा आएकी उनी । म मेरो मष्तिस्कमा चित्र कोर्न खोज्छु । कस्ती थिइन् होला उनी ? मनमा धेरै कुराहरू बयेली खेल्छन् । त्यसबेला म कहाँ थिएँ होला ? के पो गर्दै थिएँ होला ? जिन्दगीमा, कुनै दिन हाम्रो भेट हुने छ, भनि कहिले तय भएको होला ? उनले सुनाएका उनका बालापनका केही घटनाहरूसँग उनको अनुहार मिलाउन खोज्छु । उनी हुर्किदैँ गर्दा; बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएको उनको मुहार, शरीरको बनोट, सोँच, उनले देखे बुझेको संसार, उनको बोली, मुस्कान; सबै सबै कल्पना गर्छु । उनको आँखाले धर्ती हेर्न मन लाग्छ । उनको मनले महसुस गर्न मन लाग्छ । उनी नै हुन मन लाग्छ । उनको जिवनका तीता मिठा सबै पलहरू एकपटक आफैले महसुस गर्न मन लाग्छ । उनलाई बुझ्न मन लाग्छ । उनको सम्पूर्ण खबर थाहा पाउन मन लाग्छ । उनको मनको पुरै हाल जान्न मन लाग्छ । म उनलाई प्रेम गर्छु । कति ? कहिलेकाहीँ म आफै हराउँछु, यो प्रश्नको उत्तर खोज्दा । यति धेरै कि; उनलाई सम्झिदाँ, म आफैलाई बिर्सन्छु । भौतिक रूपमा त उनी साथमा छैनिन्, टाढा छिन् । तर यो मनले उनलाई नसम्झेको पल हुँदैन । मतलब; अब म, म होइन,...