बाटो मुनिको फूल

कान्ला मुनिको खालि जमिन सानो
झार, पतकर, विष्ठा, आदिले मलिलो
एउटा चरा, चोँचमा त्यान्द्रो बोकी
पुग्यो त्यहिँ, खायो आहार ठोसी-ठोसी

त्यान्द्रोको केहि भाग यत्रतत्र छरियो
एउटा बिजले चिस्यान् पायो
बिउ फुटेर बिरूवा टुसायो
घामपानी खाँदै हुर्किन थाल्यो

बर्षाको थोपाले टाउकोमा हान्थ्यो
किरा, फट्याङ्ग्राले चुमेर जान्थे
हार नमानि बढ्यो बिरुवा
एकदिन त्यसमा बस्यो कोपिला

पातको डल्लो एकदिन खुल्यो
पत्रदलले साहारा दिए
पुष्पदलको राज भयो
प्रकृतिको सुन्दरता बढ्यो
भमरा र पुतली रम्न थाले
हावासँगै नाच्न थाल्यो, बाटो मुनिको फूल

माथीबाट ढुङ्गा पल्टियो 
थिचियो त्यो फूल, बिरामी पर्‍यो
केहि दिन लाग्यो, तर फेरि पलायो
जुर्मुरायो, पहिले जस्तै बयेलीन थाल्यो

दुई स्कुले केटा आए
बाटोबाटै तुर्क्याए 
मुखमै पर्ने गरि
निथ्रुक्कै शरीर भिज्ने गरि
मुस्कायो फूल अम्लीय पानी बोकेर
केहि छिनलाई आफ्नो सास रोकेर

सुकिलो हुँदै मात्र के थियो
गोठालो आयो एक हल गोरु लिएर
एउटा गोरुले उसको हात निमोठ्यो
उ डरले काँप्न थाल्यो
गोरुको नाक फूलको मुखै निर आयो
गोरुले एक सास भित्र तान्यो
र फेरि जोडसँग बाहिर फाल्यो
किशोरहरू प्रति फूल कृतज्ञ भयो

एउटी चेली आइन् र बाटो छेउ बसिन्
वनस्पति फूलले मानुषी फूल देख्यो
फूल झुक्यो लाजले
फूललाई भिजाइन् चेलीले
अहिले फूल वजनले झुक्यो

भमराको आँखा पोल्यो
उड्न खोज्दा पखेटा खुलेनन्
काँढामा ठोकीएर भुइँमा पछारियो

चेली गएपछि
अलिकती सुकेपछि
बिस्तारै फूलले मुन्टो उठायो
सहेर सबै हाँस्ने कोसिस गर्‍यो

बाटोबाट मोटर हूँइकियो
फुलको मुख भरि धुलो बस्यो
उसका आँखा धुमिल भए 
एक झट्को हावाले आँखा अलिक खुले पनि
उसको मुख भने मैलो नै रह्यो

दिउसोको घाम, रातको चिसो
जुनको उज्यालो गर्दै, दिन काट्दा
उसले एकदिन अवसर पायो 
प्रकृतिले उसको दुख बुझेर
हावासँगै हल्लाई हल्लाई नुहाई दिइन्
फुलको रुप फेरियो
हटेर गयो सबै गन्ध, मैला
सम्पूर्ण रूपमा नयाँ भयो फूल

डल्लो रातो पूर्वको, दक्षिण लाग्यो
एउटी बुढीआमाको दर्शन भयो
कान्लोको चुच्चे ढुङ्गो समाउँदै
फूलको छेउमा पुग्नुभयो आमै
टिप्नु भयो टपक्क
फाल्नु भयो ढक्कीमा
फूल अझै हाँसेकै थियो
ढकीयामा उ जस्तै अरु पनि थिए

शंख र घण्टको आवाजसँगै एक्कासी
फूल, कुनै साह्रो वस्तुसँग ठोकिन पुग्यो
ठोकिदा उसलाई दुख्यो की ?
तर उसले कुनै बिलौना गरेन
अनि खस्यो, उ जस्तै अझ धेरैको माझमा 

फूल ओइलाउन थाल्यो
आफ्नै मुख गन्हायो फुललाई
पानी र कुचोले हुत्याए... पर पुर्‍याए
फूलको भेट माटोसँग भयो
मान्छेले उसलाई कुल्चेर गए
गाईले उसलाई सुँघेर छोड्यो
कमिलाले उसलाई सुम्सुम्याएर गए

उसलाई नुहाईदिन फेरि आइन् प्रकृति
तर यसपाली उ सफा हुन सकेन
हिलोले झन् कुरूप हुन थाल्यो
आधा त उसलाई जमिनले निल्यो
आधा शरीरले आकाश हेर्दै थियो

अहिले उ माटो भएको छ
अनि उसको अन्तिम स्थानमा
एउटा नयाँ टुसा पलाएको छ ॥

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न