चुम्बकिय गिफ्/जिफ्

९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए ।

दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन ।

राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भने गरेकी थिइनन् । त्यसपछि झन्डै एकघण्टा जस्तो निद्रा परेन मलाई । मनमा कुरा खेलाएरै बित्यो । छटपटीमै बित्यो । उनीसँग भलाकुसारी हुन नपाए पछि यो मनको बेचैनी कति धेरै बढेको । बिहान बोल्न नपाउदा दिउसोलाई सारेँ । दिउसो पनि मिलेन, डाह मात्रै भयो, रातीलाई सारेँ । राती पनि, ति त्यस्तै भयो ।

उनले प्रेम व्यक्त गरेको टेक्स्ट् हिजो बिहान देखी आएको थिएन । त्यसरी बिहानी सन्देशमा, त्यहि दुइ दिन आयो, त्यसपछि आएन । हिजोआज साँझमा आउन थालेको चुम्बन जिफ् पनि आएको थिएन । किन नआएको होला भन्ने भइरह्यो । सोध्न सक्ने आँट पनि कहिले आएन । एक खालको डर आएर कब्जा जमाउँथ्यो । निकै साहस गरेर सोध्यो भने पनि “त्यसै/उसै” भनि दिन्थिन् । खुलदुली मेटिन पाउँथेन । मेटिनु त परको कुरा– आफ्नो चित्त आफै दुखाउन किन पो सोधेछु नि, जस्तो लाग्न थालि हाल्थ्यो । त्यसैले पनि कतिपय कुराहरू उत्सुकता हुँदाहुँदै पनि आफ्नै मानसिक सुस्वास्थको लागी दबाएर राख्थेँ ।

अस्ति रातिको कुराकानीमा पनि उनको उत्साह खासै सुन्न पाइन । कुरा गरिरहँदा पनि केहि नपुगे जस्तो महसुस भैरहेको थियो । यति छिटै के भएछ यिनिलाई जस्तो लागिरहेको थियो । तर कुराकानीको अन्त्यमा उनले मिठो गरि प्रेम व्यक्त गर्ने बित्तिकै भने मेरो मन हल्का भैसकेको थियो । मैले नै धेरै नचाहिने सोँचेको पो रै’छु, सधै एकैनासको उत्साहप्रद वातावरण कहाँ हुन्छ र ?– भन्ने भइसकेको थियो ।

मैले राती २ बजे गरेको टेक्स्ट् उनले बिहान साढे ४ बजे सीन् गरेकी थिइन् । त्यति बेलै बुझिएकीले होला । तर जवाफमा केहि भनेकी थिइनन् । मैले १० बजे गुड्मर्निङ् म्यासेज् पठाएँ । तर एघार बजेसम्म उनको अत्तोपत्तो थिएन । उनी कतै रिसाइन् की ? दु:ख पो मानिन् कि ? जस्तो लागेको थियो । उनको केहि खबर नपाउँदा बेचैन बनाई रह्यो । छिनछिनमा मोबाइल् चेक् गर्ने बनायो । न्यास्रोपनले जित्न थाल्यो । बेफिक्री हुन सकेन मन । उराठ लाग्दो समय बन्यो ।

सवा एघार तिरको उनको म्यासेज्, साढे तिर देखे पछि बल्ल ज्यानमा आँत पलायो । अनि अपरान्ह तिर फोनमा एकछिन् बात्तिये पछि चाहिँ मनको चैन फर्केर आयो । अर्को दिन बिहान प्रेमिल सन्देश पनि आयो । सबै अन्यमनस्क सन्देह तत्क्षण दूर भए ।


२०८० जेठ १० गुरूबार (२०२३ मे २४)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

सि.आई.डी.