उनी नै उनी

झरिको मौसम, घरि ठूलो बर्षा घरि सिमसिम पर्ने पानी, शहरको व्यस्तता आफ्नै गतिको । म भने आज फूर्सदमा छु । अपरान्ह तिर हामी एउटा रेस्टुराँमा हुन्छौँ । मेरा मिल्ने साथीहरू र सँगै काम गर्ने साथीहरूको एउटा सानो जमघटको मौका परेको थियो । मसँग उनी पनि थिइन्, मेरी उनी, प्यारी उनी । अलौकिक रुपकी उनी, विशाल मनकी खानी । प्रकृतिले सोँची सम्झी कुनै कसर बाँकी नराखी, मेरै लागी भनेर बनाएकी उनी । सुमधुर आवाज र सुन्दर जिउडालले सुसज्जित उनी । अझ चालढालको त के कुरा, बान्की परेकी उनी । मेरा ग्रहगोचरहरू निकै नै उत्तम हुनुपर्छ त्यतिबेला, जब मैले उनलाई पहिलोपल्ट भेटेँ । मेरो यो जड जिन्दगीमा, उनको साथ, उनको माया, उनको सामीप्यता पाउनु, मलाई मेरो अहोभाग्य लाग्दछ । हाम्रो जमघट सानै भए पनि निकै आत्मीय र रमाइलो थियो । खाने र पिउने कार्यक्रम चलिरहेको हुन्छ । म मेरो मन पर्ने खाजा मो:मो मा होमिएको हुन्छु । उनी र म एउटै प्लेट्बाट नै लिईरहेका हुन्छौँ । बेलाबेला उनी मलाई हेर्छिन् । उनको त्यो नजर मेरो मुटु सम्मै पुग्छ । म पनि हेरी रहन्छु उनीलाई । उनी मुस्काउँछिन् । यो पल मलाई संसारकै प्रिय पलहरू मध्येको लाग्छ । उनको सानिध्यताको अलग्गै सुबास पाउँछु म । हर्षले भित्र भित्रै गदगद भएको हुन्छु । त्यसै त्यसै मख्ख परेको हुन्छु । उनी साथ हुँदा म सधै यस्तै भएको हुन्छु । साथ हुँदा मात्र होइन, उनको सम्झनाका लहरले मात्रै पनि निकै भित्र सम्म छुने गर्छन् मलाई । उनको रोजाई भनौ वा उनको मनको खोजीमा पर्नु, मेरो लागी अविश्श्वनिय भैदिन्छ । साथीहरू माझ गफगाफ, हाँसो ठट्टाको लहर चलिरहेकै हुन्छ । यसै बिच मेरो एउटा साथीले उनलाई गीत गाउनको लागी अनुरोध गर्न मलाई भन्छ । त्यसो भनेको उनले पनि सुनेकी हुन्छिन् । मैले उनलाई पुलुक्क हेर्छु । उनी खिस्स हाँस्छिन् मात्र केहि बोल्दिनन् । उसलाई थाहा थियो, कि उनले मिठो गीत गाउँछिन् । किनभने कहिलेकाहिँ हाम्रो फोन प्रेमालापमा उनले गीत गाउँदा, मैले उसलाई गीत सुन्ने हो भन्दै, दुई तिन पटक सुनाएको थिएँ । उसले कुरा निकाले पछि मैले पनि उनलाई गाउ न त भनेँ । उनी अप्ठ्यारो मान्दै ति लजालु नजरहरूले मलाई हेर्दै woofer सँगैको mic उठाइन् । अलिकती अगाडी कुर्सि र टेबुलहरू भन्दा अगाडिको lounge spaceको एउटा सोफामा बसेर उनले गाउन थालिन् । त्यो बसाइको स्वरूपमा उनी झनै राम्री देखिएकी थिइन्, कुनै एउटा मोडल नारीले तस्बिरको लागि पोज गरेको जस्तै ।
“मायाले बोलेको बोली मिठो भो, सुरिलो आवाजको जादु छुट्टै भो”, भनि उनले गजब मीठो स्वरले गाउँदा मेरा साथीहरू मुखमा राखेको खानेकुरा पनि चपाउन छोडेर उनलाई सुन्न थाल्दछन् । उनीहरू मुख खुला भएको थियो निकै बेर सम्म नै । रेस्टुराँका स्टाफहरू पनि उनी तिरै ध्यान लगाउँदै थिए । यसै गीत भित्रको उनलाई विशेष मनपर्ने भाग “बिहानी फूल हाँस्यो, राती चन्द्रमा; जन्ती लिई आउनु हजुर मङ्सिर पन्ध्रमा” भन्ने टुक्रा गाउँदा ठुलै कन्सर्टमा दर्शक दिर्घबाट आउने हुटिङ्कै शैलीमा साथीहरू ताली र सिट्ठीले साथ दिँदै थिए । मलाई त झन् यहि मङ्सिरमै उनलाई घर भित्र्याउँकी जस्तो भएको थियो । उनले असाध्यै सुन्दर गाएकी थिइन् । रेस्टुराँ अर्कै मुडमा पुगेको थियो । क्यारिओकी नाइट जस्तै भएको थियो त्यो क्षण । सबै जना उनको गायकी र गीतका शब्दमा झुम्दै थिए । यो गीत गाइसके पछि, उनी फेरि अरु गीत पनि गाउन् भन्नको लागी, साथीहरूले “वन्स् मोर्, वन्स् मोर्” को बोली एक स्वरमा लगाउँदै थिए । उनी हाँस्दै मलाई हेर्छिन् । मैले पनि हाँस्दै उनलाई हेर्छु र टाउको हल्लाई 'गाउ न त' भन्ने जनाउ सङ्केत दिन्छु । उनले “झुम्का बरेली वाला” गाउँछिन् । यो गीत सँगै एकैछिन म भूतकालमा हराउन पुग्छु । उनको र मेरो फोन कुराकानीको क्रममा गाइने गीतहरूमा, यो निकै धेरै पटक गाइएको गीत हो । मलाई पनि मनपर्ने गीतहरूमा पर्छ यो । यो गीतले, जहीँकतै पनि सुन्दा, मलाई उनको याद दिलाउँछ । उनलाई विशेष मन पर्ने झुम्काहरूको विषय यो गीतमा हुनाले पनि, यो गीत उनीसँग जोडिएको पाउँछु ।
उक्त गीत पछि उनले एउटा अर्को गीत गाइन्, फाल्गुनी पाठकको “मेरी चुनर उड उड जाए” । यो गीत गाइरहँदा रेस्टुराँको माहोल नै अर्को बनेको थियो । उसै पनि उनी राम्रो गाउँछिन्, फेरि पनि आज उनी छुट्टै लयमा थिइन् । कुनै ट्रयाक् वा सङ्गीत बिना पनि निकै सुमधुर गाएकी थिईन् । माधुर्य पल बनेको थियो । सबै साथीहरू दङ्ग परेका थिए । भविष्यमा फेरि कुनै दिन यस्तै माहोल सिर्जना गर्ने सोँचमा, गाउने कार्यक्रमलाई हामीले यत्तिमै टुङ्याएका थियौँ । हामीहरू अर्को एक राउण्ड् विभिन्न dishहरू मगाउछौँ । म चाहिँ मशरूम चिल्ली अर्डर गर्छु । उनी चाहिँ चिकेन सी मो:मो खाने मन गर्छिन् । म वेटरलाई सङ्केत गर्छु । साथीहरू पनि उनीहरुका मनपसंद खानेकुराहरू अर्डर गर्छन् ।
खाने पिउने सबै सकिएपछि हामीहरू ग्यादरिङ्लाई टुङ्याउँदै छुटिने तरखर गर्छौँ । साथीहरू पनि निकै खुसि देखिन्थे । धेरै पछि यस्तो जमघटको संयोग परेको थियो । त्यसै माथी मेरी उनी सँगको साक्षातकारले पनि उनीहरूलाई हौस्याएको थियो । किनकि मलाई परेको बेला निकै नै सहयोगी साबित मेरा प्यारा मित्रहरू जो थिए, मेरो खुशी र दु:ख सबैमा सामिल मेरा विश्वासिला साथीहरू । उनले गाएको समेत सुन्न पाएका थिए । लाइभ् कन्सर्टको जस्तो आनन्द लिन पाएका थिए, त्यो पनि एकदमै मिल्ने भरोसे मनहरूका साथमा । साँझ पर्न लागिसकेको हुन्छ । हामी सबै रेस्टुराँबाट निस्कन्छौँ, सबै आ-आफ्नो बाटो लाग्छन् । म पनि एउटा जिम्मेवार केटोको भूमिका पुरापुर् निभाउँदै, उनलाई उनको घर अर्थात् मेरो हुनेवाला ससुराली, उनको हुनेवाला माइतीसम्म पुर्याउन हुँइकिन्छु, उनलाई मोटरबाइकमा बसाएर । र बस्छिन् उनी, मलाई पछाडिबाट चरप्प अङ्गालोमा कँसी, हामी दुइ बिचबाट हावा समेत उम्कन नपाउने गरि । म, rear view mirror मा उनको हँसिलो मुहार हेर्दै, उनको स्पर्शमा मख्ख पर्दै, अघि भएका गतिबिधिहरुको बारेमा उनीसँग कुरा गर्दै, अगाडि बढ्छु, उनीलाई सधै सधैका लागी आफुसँगै राख्ने आशमा, ताकी फेरि कहिले उनलाई अन्तै छोडी, गह भरि आँसु लिई आफु एक्लै घर फर्किनु नपरोस् ।

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न