समान फरक

तिमी वहाँ प्रेममा छौ
म पनि यहाँ प्रेममा छु
तिमी वहाँ, उहाँसँग छौ
म यहाँ तिम्रो यादमा छु
तिम्रो साथमा, तिम्रो उहाँ
मेरो साथमा तिम्रो सम्झना

तिमी घुम्छ्यौ होला बजार उहाँसँग
म बरालिन्छु एक्लै, सम्झिदैँ तिमीलाई
तिमी खान्छ्यौ मिठो, तातो उहाँसँगै
म खान्छु चिसै एक्लै बस् धान्न प्राण
गर्छ्यौ तिमी, उहाँसँग दोहोरो संबाद
म गर्छु एक्लै कुरा कल्पनामा तिमीसँग
तिमी बाँधिन्छौ उहाँको न्यानो अङ्गालोमा
म सम्झिन्छु तिम्रो प्रिय अङ्गालो चिसो रातमा
हाँस्छ्यौ होला तिमी प्रत्येक जोक्समा उँहाका
मेरा आँखा रसाउँछन् यहाँ तिम्रो अभावमा

मेरो निधारमा यस्तै कि
मैले जिउन नजानेको
यो कस्तो पहेली जिन्दगीको
जसको कुनै उत्तर भेट्दिन
तिमीसँग छ भने देउ न है
मलाई कुरो बुझाइदेउ न है

तिमी सुख, शान्ति र सन्तुष्टिकि रानी
म बज्र, पिडा र टुक्रिएको हानी
तिमी कति पुष्ट, मोटीघाटी, सुन्दर
म ख्याउटे, कुरूप, बेकार, बाँदर
तिमी कति विदुषी र छौ व्यवहारिक
म कस्तो ग्वाँच र अप्रासङ्गिक
तिमी निस्फिक्री आनन्द जिवनमा
म कस्तो सधै डर र बिलौनामा
तिमी कत्ति ज्ञानी, सम्पूर्ण ढङ्गकी
म गुड्डी हाँक्ने मात्र, खोक्रो बेढङ्गी
तिमी हौ विचारिणी सबको ख्याल छ
म लहडी, मतलबी तैपनि बेहाल छ
तिमी कति जाति र महान
म जहिले लुकेको, गुमनाम

मलाई तिमी जस्तै बन्न सिकाइदेउ
त्यो मनको ज्ञानगुन बताइदेउ

(२०७७ माघ १४, २०:००)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न