पात के को ?

धेरै दिनको अन्तरालमा उनीसँग फोन कुराकानी गर्दै थिएँ । धेरै दिनसम्म पोख्न नपाएको माया पोख्न पाउने आशमा थिएँ । उनको मायाले यो मन भर्ने विचारमा थिएँ । लामो समय उनीसँग भलाकुसारी गर्न नपाएको यो मन निकै खालि खालि भएको थियो । आजको मौकामा मन भरि कुरा गर्छु सोँचेको थिएँ । तर सोँचेको जस्तो कहाँ हुन्थ्यो जिन्दगीमा । मोबाइल नेटवर्क निकै खराब चल्यो आज । टुट र टिटको वर्षा भयो । अलि केहि फरक पर्छ कि भनि बारम्बार फोन काटेर गरेको थिएँ । फोन काट्दै गर्दै, काट्दै गर्दै गर्दा पनि समस्या भने ज्युँ का त्युँ !

मलाई भने छटपटी हुन थालि सकेको थियो । प्रेम प्रसङ्गका कुराहरू गर्न खोज्यो की उनको आवाज कि त चाइनिजमा आउँथ्यो, कि त उताबाट उनले भनेको आउँथ्यो "आवाज आएन..., आवाज आएन..." । मलाई उकुसमुकुस हुन थालिसकेको थियो । मैले च्वाट्ट फोन काट्छु । रूमको अर्को बेडमा मोबाइल फालिदिन्छु र मेरो बेडमा डल्लो परेर सुत्छु । उनलाई सम्झिदैँ । हाम्रो दुरीको भासमा हराउँदै । चाहेर पनि जोडिन नसक्नु वा नपाउनुको पीडामा रूमलिदैँ । उनलाई जुनसुकै परिस्थितिमा पनि जीवनभर माया गरिरहने प्रअण मनमा गर्दै ।

म निदाउन खोज्छु सक्दिन । उनको मुहार सम्झिन्छु । उनको अँगालोको यादले तड्पाउँछ । उनको प्रियता र कोमलपनमा लिप्त हुने चाहनामा डुब्छु । उनको बाहुपासमा समेटिएको सपनामा हराउँछु । सम्झनामै उनको बाहुमा बिलय भइदिन्छु । तर पनि मन भरिदैँन । उनको अभाब खट्की रहन्छ । सबै कुरा भरिपूर्ण हुँदाहुँदै पनि, उनी नहुँदा आफुलाई एकदमै अतृप्त भएको पाउँछु । कहिलेकाहिँ सोँच्छु, सायद यो मनलाई यस्तै भोको राख्नु पर्छ, अनि पो उनलाई खोजि गरिरहन्छ, उनलाई माया गरिरहन्छ । त्यसैले पनि मलाई प्रकृतिले मलाई प्रेमालापको तृप्तता मैले चाहे अनुसार नदिएको होला । आजकाल त झन महिनौ पर्खिनु पर्छ र पनि यो मन भर्न पाएको हुँदिन । उनको सामिप्यता को अभाब, उनीसँगको प्रेमिल संवादले पुरा गर्ने चाह पनि पुरा हुन पाउँदैन । यो कस्तो समय चल्दै छ मेरो । सोँच्छु, जे पाएको छु त्यसमै चित्त बुझाइ बसौँ कि नपाएको कुरामा गुनासो ?

कहिलेकाहिँ म, उनको अभावको छटपटीमा रही रहँदा, उनीसँग प्रेमिल भावमा बग्न नपाउँदा सोँच्ने गर्छु । कि कहिले उनलाई मलाई जस्तो हुँदो हो वा नहुँदो हो ? उनले त्यस्तो छटपटी कहिले व्यक्त गरिनन् । त्यसैले मलाई कहिले थाहा लागेन । अथवा उनका अरु भावभङ्गीहरूबाट व्यक्त गरिन कि ? सांकेतिक भाव बुझ्न मैले सक्नु कहाँ ?

आज भन्दा अघिल्लो पटकको कुराकानीमा भने हामीले केहि हदसम्म खुलेर कुराकानी गरेका थियौँ । फोन नेटवर्कले पनि साथ दिएको थियो । सुरुवाती चरणमा कल काट्दै गर्नु परे पनि हामी अन्त्य तिर आउँदा दुइ घण्टा लगातार सम्बादमा थियौँ । करिब चार महिना पछि प्रेम केहि बगेको महसुस गरेको थिएँ । त्यो दिन मेरो मन धेरै पछि अलि भरिएको थियो । मन आनन्दित र शान्त भएको थियो । त्यसबेला उनले भनेकी थिइन् "आज त मज्जाले हाँसेछु, मेरो गालाहरू पनि दुख्यो, आज मज्जा आयो । तपाईंलाई मिस गरेकी रहेछु" । मैले भनेको थिएँ "यसरी खुलेर कुरा नभएको महिनौं पछि बल्ल आज अलि खुलेर कुरा भयो नि त, त्यसैले होला" । उनको यो कुराले त झन मलाई औधी खुसि बनाएको थियो । खुलेर कुरा गर्दा उनीमा पनि पर्ने यो मिठो असरको जानकारी पाउँदा दङ्ग परेको थिएँ । मख्ख परेको थिएँ । यसरी खुलेको बेला मात्र उनले केहि अन्तर भावहरू व्यक्त गरेकी हुन्छिन् । तर त्यसको लागि मैले मेरो पर्खाइको धैर्यता टेस्ट गरिरहनु परेको हुन्छ ।

दिउसो देखी फालेको मोबाइल मैले राती खाना खाईसके पछि बल्ल हेरेको थिएँ । केहि क्षण अगाडि उनको टेक्स्ट आएको रहेछ ।
भनेकी थिइन् "मान्छे बेपत्ता" ।
उनको मनले मलाई खोजेको कुराले पुलकित भएको थियो मेरो मन ।
मैले उनलाई म भेटिएको कुरा जनाउन खोज्दै टेक्स्ट ब्याकमा भेनेको थिएँ "र पत्ता" !
उनले सोधेकी थिइन् "खोइ पत्ता" ?
मलाई के भनुँ, के भनुँ भयो, मैले एउटा पातको ईमोजी पठाएको थिएँ ।
उनले सोधेकी थिइन् "के को पात हो यो" ?
त्यो पात के को थियो, मलाई थाहा हुने कुरै थिएन । कुनै अंग्रेजी रुखको पात थियो । देखी रहेकै पात हो, तर नाम थाहा थिएन ।
मैले जिस्किदैँ भनेँ "रूख को" !
उनी हाँसेकी थिइन् । भनेकी थिइन् "नाइस वन" !
उनको हाँसोसँगै मेरो मन पनि हाँसेको थियो ।

(२०७७ चैत्र ३०)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न