सपनी

बिहान, साथीको फोनले ब्युझायो । ब्युझदाँ पसिना-पसिना भएको रहेछु । बिहानीपख चिसो हुने भएकोले, राति मैले पङ्खा बन्द गरेर सुतेको थिएँ ।
बाहिर घाम लागिसकेको देखेको थिएँ । तर फोन राखेपछि पनि फेरि निदाएछु । उठ्दा निकै ढिला भैसकेको थियो ।

आज उनी मेरो सपनीमा आएकी थिइन् । र सायद यो उनीसँगको मेरो पहिलो सपनी-भेट थियो ।
उनी हाम्रो घरैमा आएकी थिइन् । ढोका खोल्न म पुगेको थिएँ । ढोका बाहिर उनलाई देेेेखेेर अचम्ममा परेको थिएँ । उनी मलाई निकै प्रेमिल नजरले हेर्दै थिइन् । मेरो ओठमा मुस्कान छाएको थियो । उनी यहाँ एक दिन बस्ने गरी आएकी थिइन् । सबैजना घरमै हुनुुुहुन्थ्यो । उनी साँझपख आइपुगेकी थिइन् । यो उनको सरप्राइज भिजिट जस्तो थियो । सबैजनाले निकै खुसि हुँदै उनलाई स्वागत गर्नु भएको थियो । मेरो त झन् खुसिले, होस् ठेेेगानमा थिएन । त्यसै त्यसै मख्ख परेेेेको थिएँ ।

खाना खाई सकेपछि एकैछिन डिनर टेबुलमा गफगाफ चलेको थियो । सबैजना उनीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । उनी पनि मुस्काउँदै कुरा गर्दै थिइन् । म भने सबैका आँखा छलेर बेला-बेला उनलाई हेर्दै थिएँ । उनको मुहार हेर्दै थिएँ । उनको अलौकिक रुपमा डुबेको थिएँ । उनको प्रेमभावले मेरो मुटुको कुना छोएको थियो ।

गफगाफ पछि, सुत्नको लागि उनी र म, मेरो कोठामा गएका थियौँ । उनको प्रिय अँगालोमा बेरिएर निदाउन पाएको थिएँ । धेरै पछि उनको कोमलताको आनन्दमा रमाउन पाएको थिएँ । उनले पनि कसेर मलाई आफ्नो बाहुमा बेरेकी थिइन् । उनको धेरै माया पाएको महसुस भएको थियो । खुसिले नाच्दै थियो मेरो मन । उनको मायाले गदगद भएको थिएँ ।
हुन त, उनको गन्तव्य उनको कर्मस्थलसम्मको थियो । उनी आफ्नो जन्मघरबाट आएकी थिइन् । तर आउँदा-जाँदा उनी यसरी हाम्रो घरसम्म आउनु, मलाई सम्झेर आउनु, मेरो लागि आउनु, मेरो मनको खालिपन भर्न आउनुले मलाई औधी खुसि प्रदान गरेको थियो । उनको म प्रतिको मायाले मेरो हृदय पुलकित भएको थियो । उनको आगमनले घरै उज्यालो भएको थियो । सबैका अनुहार खुसिले चम्केका थिए । सबैजना निकै रमाउनु भएको थियो । निकै चाखसँग उनको ख्याल गर्नु भएको थियो । उनीसँग नजिकिनु भएको थियो । आफ्नोपनको आभाष गराउनु भएको थियो । सबैजनाको उनी प्रतिको त्यो व्यवहारले मेरा आँखामा आँसु छचल्किएका थिए । सबैले उनीप्रति धेरै माया दर्शाउनु भएको थियो ॥

अर्को दिन बिहानै उठ्यौँ । नित्य कर्म, चिया र त्यसपछि खाना; सबै गर्यौँ । बिहानै देखि पानी परिरहेको थियो । बाहिर निस्कनु जस्तो थिएन । त्यसैले दिनभर जसो हामी घर भित्रै बस्यौँ । उनी र म, कोठामा गफ गर्दै बसेका थियौँ । चल्दै बसेका थियौँ । एक-अर्कालाई चलाउँदै  बसेेेेका थियौँ । निकै मिठो समय आएको थियो ।

उनलाई आज जानु पर्थ्यो । उनको साँझको टिकट थियो । उनले जाने विचार गर्दै थिइन् । तर आमाले खाजा खाएर मात्र जाने भनेर उनलाई रोक्नु भएको थियो । खाजामा हामीले पोलेको मकै खाएका थियौँ । चिया पनि पिएका थियौँ । उनले निकै खुसि हुँदै खाएकी थिइन् । म उनका प्रिय हातहरूले मकै छोडाएको हेरिरहेको थिएँ । उनका आँखाले तल हेरेका थिए । उनको ओठमा मुस्कान थियो ।

उनको निस्कने बेला भएको थियो । बाहिर हल्का-हल्का वर्षात् जारि नै थियो । "म छोड्न जान्छु नि तिमीलाई" भन्दा उनले मानिनन् । "मेरो उतै जाने एकजना साथी पनि छ" भनेर मलाई रोकिन् । उनले उनको ब्याकप्याक बोकिन् र छाता समाएर एक्लै निस्किइन् । हामी सबैजना वरन्डामा निस्किएर उनी गएको हेर्दै थियौँ । छातामा पानी परेेको आवाज पहिले ठूलो सुनियो, अनि बिस्तारै धिमा सुनिदैैँ गयो । आमाले सोध्दै हुनुहुन्थ्यो "किन, छोड्न गइनस् त" ? मैले भनेको थिएँ "उनको सँगै जाने साथी पनि छिन् रे" ! सबैजना भित्र पस्नु भयो । म भने उनलाई आँखाले देखुन्जेलसम्म उनी जाँदै गरेको हेरी रहेँ ।


म कोठामा यत्तिकै बसिरहेको थिएँ । उनको साया कोठामा अझै बाँकी रहे जस्तो लाग्थ्यो । मैले उनलाई फोन गरेँ । आवाज राम्रोसँग बुझिएको थिएन । तैपनि उनी साथीसँग सँगै भएको कुरा भनेे बुुझ्न सकेेको थिएँ ।

घरमा गाउँको एकजना काका आउनु भएको थियो । बुबा उहाँसँग गफ गर्दै हुनुहुन्थ्यो । बहिनी गफ सुन्दै बसेकी थिइ । भाइ आफ्नो कोठामा थियो । आमा भान्सामा हुनुहुन्थ्यो । मलाई भने उनीसम्म पुग्न मन लागेको थियो । राम्रोसँग उनलाई बिदा गर्न पनि नपाएको जस्तो लागेको थियो । उनी जानु भन्दा अगाडि एकपटक फेरि देख्न मन लागेको थियो । उनलाई, "यसरी नै बारम्बार आइराख है" भन्न मन लागेको थियो ।
मैले कपडा बदलेँ । लिभिङ् रूम हुँदै बाहिर निस्कन लाग्दा बहिनीले म तिर फर्केर सोध्दै थिइ "कहाँ जान लाग्नु भएको" ?
मैले भनेको थिएँ "बसपार्क पुगेर आउँछु" ।
त्यसपछि बहिनी उतै तिर फर्केकी थिइ । बुबाले मलाई एक नजर हेर्नु मात्र भएको थियो । केहि भन्नु भएको थिएन ।

घरबाट बाहिर त निस्किएको थिएँ तर उनीसम्म नपुग्दै बाटैमा ब्युझिएछु । सपनीमा पनि सोँचेको पुरा हुन पाएन । अधुरै रह्यो । जसरी उनी बिना मेरो बिपनी... अधुरो अधुरो ॥


निकै लामो समयसम्म उनको अवाजसम्म पनि सुन्न नपाएकोले होला, मनको बेचैनी दिनदिन बढ्दै थियो ।  कुनैपनि कुरा उनलाई भन्न पाएको थिइन । उनलाई मनको आवेग सुनाउन पाएको थिइन । मन तृप्त हुन पाएको थिएन । उनको खबर पनि राम्रोसँग बुझ्न पाएको थिइन । उनको दिलको हाल जान्न पाएको थिइन । उनको माया महसुस गर्न सकेको थिइन । मेरो मनको माया पनि पोख्न पाएको थिइन । चाहेेेर पनि टेक्स्टमा त्यति मजाले व्यक्त गर्न नसकिने । छटपटाहटले चुली नाग्दै थियो । लाग्छ, सायद त्यो खालीपन सपनीले भएपनि भरिदिन आएको थियो ।

हरपल त्यहि सपनीको भेटको सम्झना भइरह्यो । साँच्चिकै भेटेको जस्तो लागेको थियो । निकै खुसि लागेको थियो । धेरै पछि मन भरिएको जस्तो महसुस भएको थियो । बिहानी निकै सुन्दर लाग्दै थियो । Everything around me seemed so beautiful. After a long-time, I was feeling loved, I was feeling grateful.

तर फेरि दिन ढल्दै जाँदा बिस्तारै मन खाली-खाली हुँदै थियो । उनको अभावको छटपटीले पेल्दै थियो । उनको मायाले फेरि सताउन थालेको थियो ।
It was alright, all morning; and then, the loneliness kicks in !


(जेष्ठ १०, २०७८)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न