शब्दमा मात्र ...


च्याट्मा सामान्य तवरले कुराकानी चलिरहेकै बेला, म आफै जान्ने पल्टिदाँ कुरा बिगारेँ । भएका सबै खुलदुलीहरू मेटाउनै पर्ने मलाई !
“हैन, जिज्ञासा पनि के साह्रो लागेको हो ? कहिँ नभा’को !” - मनमनै कराएँ म ।
“लागे पनि, लागी राखोस् ! अब, आफ्ना प्रश्नहरू आफैसँग राख्ने गर् । बिथ्थामा उनको मन दुखाइस् ।” - आफैसँग आक्रोश पोख्दै थिएँ ।

प्रसङ्ग, उनको प्रेमील ट्वीट्को थियो । पढेर म, भावनामा हराएको थिएँ । उनले मलाई नै सम्झेर रचेको जस्तो लागेको थियो । हुन त, उनका हरेक प्रेमील प्रसङ्गहरूमा, म त्यस्तै नै महसुस गर्ने गर्छु । कुनै नौलो कुरा थिएन ।
मैले उनलाई त्यो ट्वीट्को स्क्रिनशट पठाएर भनेँ “कसम ! म अवाक भएँ” ।
उनको जवाफ थियो “कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ, भनेर लेख्नु पर्ला जस्तो छ, मुनि” ।
उक्त ट्वीट्लाई मैले आफैसँग जोडेर हेरेको कुरा बुझेर नै उनले त्यसो भनेकी थिइन् । मलाई, केहि जवाफ दिन आएन । केहि क्षण सोँचमा हराएँ ।
उनले फेरि भनिन् “आफ्नै जिवनमा मेल खाएमा चाहिँ के लेख्ने होला” ? टेक्स्टको अन्त्यमा दुइवटा थिङ्किङ् इमोजीहरू थिए ।
अहिले भने मेरो दिमागमा केहि जवाफको खाका आयो कि जस्तो लाग्यो । मैले भनेँ “मेल मात्र खाएको कि सत्यता भन्ने कुरा भो” ?
उनको रिप्लाइ थियो “त्यो पनि हो” ।
लगत्तै उनले मलाई सोधेकी थिइन् - “मैले त शब्दमा मात्र लेखेँ । तपाईंलाई त्यस्तो लाग्छ कि नाइँ ? कि अलि अगाडि भेट भएको भए हुन्थ्यो या भेट नै नभएको भए हुन्थ्यो ?”
प्रश्न निकै गम्भीर एवम् जटिल थियो । एकबसाईको कुराकानीमा यसको जवाफ दिनु सम्भव थिएन । अझ च्याट्मा त झनै अप्ठ्यारो । उनिसम्म पुग्दा उत्तरको सहि अर्थ नपुग्न पनि सक्थ्यो । किनकि मनको वास्तविक भाव शव्दमा पेस गर्नु निकै गाह्रो कुरा ।
मैले उनलाई प्रति प्रश्न गरेको थिएँ, “तिमीलाई कस्तो लाग्छ ?” र त्यसपछि भनेको थिएँ “मलाई त, नहुनु भन्दा ढिलै भएपनि भेटेको राम्रो” ।
चाहना त हुन्छ नि, पहिले नै भेट भएर, अहिले सँगै हुन पाएको भए, कति जाति हुन्थ्यो । तर त्यस्तो भावीले दिएनन् । ढिलै भए पनि भेट हुन पाइयो, राम्रो कुरा । म चाहन्छु, साथै हुन नपाए पनि अन्तिम साससम्म पनि एकअर्का प्रतिको यो चाह कहिले अन्त्य नहोस् । सधै-सधै यसैगरी, मनको माया साट्न पाइयोस् ।
उनको जवाफ थियो “मलाई त खोइ, कस्तो कस्तो” ? आफु अनिश्चित भएको कुरा जनाएकी थिइन् उनले ।
मैले “ए” मात्र भनेको थिएँ । त्यस विषय प्रतिको मेरो रायमा भने उनको “ओह” प्रतिक्रिया थियो । जुन प्रतिक्रिया आश्चर्य मिश्रित लाग्दछ मलाई ।
मेरो रायमा मैले थपेर भनेको थिएँ “तिमीसँग भेट हुनु; जहिले, जहाँ र जस्तो अवस्थामा भएको भए पनि, मेरो लागि जिवनकै सबैभन्दा महान कुरा हो” ।

त्यसपछि उनले एउटा अडियो रेकर्ड पठाइन् । उनले गीत सुन्दै रहिछन् । त्यस अडियोमा गीतले भन्दै थियो “वो वचपन कि यादें, वो रिस्ते, वो नाते” । अडियोको अन्तिम तिर उहाँको आवाज थियो । भन्दै हुनुहुन्थ्यो “एक सेकेण्ड” !
अडियो पछि लगातार उनले दुई कुरा सोधीन् । भनेकी थिइन् “के गर्दै तपाईं” ? अर्को थियो “खाजा खाने बेला भएन” ?
म भने यि प्रश्नहरूको जवाफ दिनु भन्दा अगाडि, माथिको मेरो कुराको कुनै प्रतिक्रिया आउँछ की, भनि पर्खेको थिएँ । तर कुनै टेक्स्ट आएन ।
मैले त्यति नै बेला बुझ्नु पर्थ्यो की – अब त्यो ट्वीट् प्रसङ्गको डेट एक्सपायर भइसक्यो । अब कुराकानीको शिर्षक बदल्ने बेला भो’ !
तर म त, म हुँ ! गतिलो बानी कहाँ छ र ? मेरो दिमाग भरि त्यहि कुरा चलीरह्यो ।

मैले पालैपालो दुवै कुराको जवाफ पठाएँ । भनेँ “तिमीले पठाएको गीत सुन्दै छु नि” । अर्को जवाफ पठाउनु अघि, उनले अझै पनि केहि भनि पो हाल्छिन् कि भनि पर्खिएँ । कुर्दै गर्दा उनले पठाएको गीत सुनिरहेको थिएँ । सवा एक मिनेट जति लामो जो थियो ।
अनि मैले भनेँ “खाने बेला भएको छैन नि” ।
लगत्तै मैले प्रति प्रश्न पनि गरेँ “तिमी के गर्दै छौ नि” ?
उनले भनेकी थिइन् “गीत सुन्दै, तपाईंसँग च्याट् गर्दै” ।
उहाँले “एक सेकेण्ड” भनेको प्रसङ्ग ल्याउँदा, पहिले त उनले बुझिनन् । पछि हाँसेकी थिइन् ।

मलाई भने त्यहि ट्वीट्कै बारेमा कुरा गर्ने मन थियो । के चिलाएको थियो कुन्नि मलाई ? तर त्यसबेला आफैलाई रोकेर सोधेँ  “खाना खायौ” ?
किनकी उनले दुई घण्टा जति अगाडिको कुराकानीमा भनेकी थिइन् “अब पकाउनु पर्ला” । उनले अझै पकाएकी रै’नछिन् । भनिन् “पकाएकै छैन नि, अब पकाउनु पर्ला” ।
उनले आज ढिला गरिछन् । मैले अचम्म मान्दै “होर” भनेको थिएँ । उनले “हजुर” भनेकी थिइन् । दिउसो दुई बज्दा सम्म पनि नपकाई आनन्द रहनुको कारण बुझ्न मैले उनलाई सोधेको थिएँ “बिहान के खाएकी थियौ र” ? उनले हलुवा खाएको कुरा गरेकी थिइन् । हाम्रा केहि शब्दहरू हलुवा केन्द्रित भएका थिए ।

हलुवाको कुरा सकिए पछि, मैले आजको युद्दको बिउ रोपेको थिएँ । पुन: उहि ट्वीट्को विषय उप्काएको थिएँ । लाग्छ, निकै ठुलो भुल थियो मेरो ।
जिज्ञासाले जेलेको थियो । के जान्नु थियो, त्यो पनि थाहा थिएन । तैपनि कुरा त्यसकै गर्नु परेको मलाई । वार जो पर्नु थियो ।
मैले अलिकती भूमिका बाँधेर भनेँ - “हुन त, यो मेरो एउटा सोँच मात्र हो । किनकी तिमीले भनि पनि सकेकी छौ ‘शब्द मात्र हुन्’ भनेर । तर मलाई सबैभन्दा बढि के कुराले हान्यो भने, कि तिम्रो यो ट्वीट्, मेरो ‘सपनी’ पछि आयो र मलाई यो ट्वीट् ‘सपनी’को रिप्लाई जस्तो लाग्यो” ।
उनले ‘सपनी’ पढिसके पछिको एउटा असरले आएका भावनाहरू हुन् कि जस्तो लागेको थियो । मलाई त्यो जान्न मन लागेको थियो । तर गलत तरिकाले पो सोधेँ कि जस्तो भने लाग्यो । करिब दश मिनेट जति उनको रिप्लाई आएन । म प्रतिक्षा गरेर बसेँ । उनले के भन्ने हुन्, डर लागेको जस्तो भएको थियो । लाग्छ, त्यो पल शान्त भइ, मैले आफुलाई रोकेको भए, I would not have caused a head punching war ! संयोग मात्र सम्झेर बसिरहन, खै किन किन, म सकिन ।

प्रतिक्षा सकियो, उनको जवाफ आयो । भनेकी थिइन् “सपनी कै रिप्लाई त होइन, तर मनमा आएर लेखेकी हुँ, ‘सपनी’सँग जोडेर लेखेकी होइन” ।
उनले फेरि भनिन् “तर ‘शब्द मात्र’ भन्नुको अर्थ; मैले त्यहाँ लेखेको ‘अगाडिनै भेट भएको भए या भेट नै नभएको भए’ मात्र शब्द हुन् । त्यो भन्दा माथिका लाइनहरू त मेरो भावना अनुरूप भएरै त मलाई लेख्न आएको होला नि” !
अन्त्यमा उनले भनेकी थिइन् “कि कसो” ?
उनको भनाइको अर्थ बुझ्न मलाई गाह्रो परेको थियो । मैले त्यो टेक्स्ट दुइ पटक पढेको थिएँ । मैले ‘शब्द मात्र’ भनेको कुरामा उनले चित्त दुखाए जस्तो लागेको थियो । र मैले टेक्स्टको अर्थ यस्तो बुझेँ – ट्वीट्का अन्तिम दुइ लाइन विना भाव वा फ्लो फ्लो मा लेखिएको भए पनि, माथिका छ वटा लाइनहरू उनका सहि वा सत्य भावहरू थिए ।
म काम नपा’को उल्लुको मनमा भने एउटै प्रश्न उब्जिएको थियो – के ति true feelings वाला लाइनहरू मेरो लागि थिए त ? “कहिँ नभा’को जात्रा हाँडी गाउँमा, सबै तेरै लागि मात्र हुन्छ है” – म आफैसँग झोँक्कीन्छु । उनका ति भावहरू मसँगै जोडिएका पनि हुन सक्थे, नजोडिएका पनि हुन पाउँथे । सरर उनलाई फुरेको पनि हुन सक्थ्यो । रचना गरि नै त रहन्छिन् उनी । तर मलाई भने सबै कुरामा हस्तक्षेपी हुनु पर्ने । उनलाई मन नपर्दो किसिमले सवाल मात्रै गर्नु पर्ने । कहिले आफैले कुरा बुझेर बस्न नसक्ने । मन भरि प्रेम भाव हुँदाहुँदै पनि उनीसँग कहिल्यै राम्रोसँग बोल्न नजान्ने भएँ म ।

मैले उनलाई जवाफ फर्काएँ । भनेँ “त्यसै होला” !
यहाँ निर म अलिकती rude सुनिएँ की जस्तो लागेको थियो । अन्त्यमा wink emoji राख्नु पर्छ कि भनि सोचेँ तर राखिन । “सहि हो” भनेर प्रसङ्गलाई यहिँ निर बिट मार्नु पर्ने रहेछ । तर त्यसो पनि गरिन । जे हुनु छ, त्यो त भएरै छोड्छ । आज war पर्नु नै रहेछ । मैले उनको हृदय दुखाउनु नै रहेछ ।
मैले फेरि भनेँ “लेख्नको लागि भावना आउनु त पर्छ नै” ।
उनले नराम्रो मानिन् कि भन्ठानेर मैले उनलाई विश्वस्त पार्ने कोसिसले भने “म त मेरो मनमा लागेको कुरा तिमीलाई सुनाएको मात्र हुँ, कुनै निष्कर्ष निकालेको होइन” ।
तर मेरो जवाफले कुनै काम गरेन । उनले गुनासो पोखिन् । भनीन् “मैले पनि मेरो मनमा आएको कुरा लेखेकी हुँ, बाँकी अब जसरी बुझ्ने हो बुझ्नु, मलाई एक्स्प्लेन् गर्न आएन” ।
यहाँनिर मलाई लागेको थियो - मैले त, उनले आफ्नो मनको कुरा पनि लेख्न नपाउने जस्तो व्यवहार पो देखाएछु त । छ्या ! कस्तो होला म पनि ?
उनले फेरि भनीन् “positively बुझे पनि राम्रो, negatively बुझे पनि ठिकै छ, म के नै गर्न सक्छु र” ?
मैले उनको ट्वीट्लाई नराम्रो रुपमा त लिएकै थिइन । मलाई अन्त्यन्त राम्रो लागेको र प्रसङ्ग पनि हुबहु मिल्न पुगेकोले, मनमा आएको एउटा जिज्ञासा मात्र व्यक्त गरेको थिएँ । तर उनीसम्म पुग्दा मेरो कुरा कुन रुपमा पुग्यो मैले बुझ्न सकिन । तर उनले मन दुखाएको कुरा स्पष्ट हुन्थ्यो । लाग्छ, टेक्स्टमा गहन कुरा गर्दाको पीडा यहि हो । भन्नु नभन्नु पो भनेछु कि जस्तो लागेको थियो । परिस्थिति गम्भीर बन्दै गइरहेको थियो । कुराकानीमा अलिकती मिठास भर्न, के कुरा गर्ने होला, केहि मनमा आएको थिएन । मुटुको चाल बढेको थियो । उनी रुष्टिएको हेक्का पाएको जो पाएको थियो ।
मैले स्पष्टीकरण दिँदै भनेँ - “निकै सुन्दर र उत्कृष्ट थियो । मलाई छोएको थियो र म सोँचमा परेको थिएँ । जुन मेरो पुरानै बानी हो । त्यत्ति मात्र” !
खै के वा कुन आशामा भनेँ थाहा भएन । तर मैले थपेँ - “बाँकी छलफल गर्न कलमा सजिलो हुन्छ, त्यति बेला प्रसङ्ग पारेर गरौँला नि” ॥

त्यस लगत्तै मैले एउटा डिलिट गरिएको टेक्स्ट देखेँ । उनको के जवाफ थियो देख्न पाइन । मेरो जिउ थरथर काँपेको महसुस गर्दै थिएँ । उनले त्यो टेक्स्टमा के भनेकी थिइन् होला ? निकै सोँचमा परेँ । केहि निर्क्यौल गर्न सकिन । सोध्न पनि सकिन । सोधी हाले पनि उनको जवाफ “केहि होइन” मै सिमित हुन्थ्यो । उनी मेरो कुराहरूले दिक्क परेको प्रतित हुन्थ्यो । I just hurted her by becaming a self-indulgent prick. आफुलाई निकै पर हुत्तिएको महसुस गरेको थिएँ ।
र त्यसपछि पठाइन् उनले, दुई हात जोडेका दुई इमोजीहरू । हाम्रा पहिलेका खटपटहरूमा आउने तिनै इमोजीको सम्झना भयो मलाई । यस्तो लाग्थ्यो, उनी मसँग दुई हात जोडि, रुष्ट हुँदै भन्दै छिन् - “हस् हजुर हस्, जे मन लाग्छ त्यै बुझ्नु, जसो मन लाग्छ त्यसै गर्नु” । हाम्रो, अर्को एउटा युद्दको अफिसियल सुरुवात भएको फील गरेको थिएँ । प्रेमको छलफल गर्दागर्दै, युद्ध परेको थियो ।

मैले केहि भन्न सकिन । उनी रिसाएको प्रतित हुँदा, sorry भन्न मन लागेको थियो । त्यो पनि भन्न सकिन । उनले “किन” भनेर सोधिन् भने फेरि त्यसको जवाफ के दिने ?
उनको last activity उनको अन्तिम टेक्स्ट सँगै रोकियो । उनले केहि भनिनन् । मलाई केहि भन्न आएन । मेरो दिमाग सपाट भएको थियो ।
समय एकदम क्रिटिकल छ । म झन् यस्तै बेला शीतयुद्द निम्त्याउन पुग्छु । आफैसँग शान्त र सौहार्दता कायम राखि रहने प्रतिज्ञा गर्छु । तर पटक पटक चिप्लिन्छु । मैले कहिले सक्ने भईन, आफ्नो प्रश्नको उत्तर आफै खोजी, शान्त भइ बस्न । म उनलाई सताउने देखि बाहेक अरु केहि जान्दछु जस्तो लागेन । म उनलाई माया त गर्छु तर खासै गर्न जानेको जस्तो लागेन । उनको भावनालाई एकै पलमा बुझ्नु पर्ने म, झन् उनलाई सवाल गरेर दिक्क लगाउँछु ।

मनमा कुराहरू खेली नै रहे । शरीरको स्फुर्ति सबै मर्‍यो । खान पनि मन लागेन । न केहि गर्न मन लाग्यो । न रुन सकेँ , न हाँस्न नै । सामान्य रहन पनि त सकिन । द्बिविधाको भुमरीमा अल्झिरहेँ । दिउसोको खाजा खाने बेला भएको थियो । खाजा त खाएँ तर के खाएँ थाहा पाइन । स्वाद कस्तो थियो मेसो पाइन । जनतन हात र मुख जोडेको थिएँ । सोँच्दै थिएँ – उनले खाना खाइन् होला कि खाएकी छैनन् होला ? तर सोध्न सकिन । मेरो छाती भारि भएको थियो । भाव शुन्य आँखाहरूले सिलिङ् हेरेर बेडमा पल्टिनु सिवाय अर्को कुनै उपाय थिएन मेरो । उनलाई फोन गरेर, सबै कुरा स्पष्ट भन्न मन पनि लागेको थियो । तर त्यस्तो सम्भावना थिएन । सोँच्दासोँच्दै मेरो दिमाग तात्न थालेको थियो । मैले घटनाको परिदृश्य नियाल्छु । के भइ रहेछ? केहि बुझ्न सक्दिन । आफ्नो अपरिपक्वता देखेर उदेक लागेर आयो । कस्तो अबुझी म ? कस्तो ग्वाँच ? लाग्यो, म केही कुराको लायक छैन । म कसैको लायक पनि छैन । फेरि लाग्यो, त्यसो सोँची रहँदा, म भित्रको भगवानले पनि दुख मान्नु हुँदो हो ।

उनका दुइ नमस्ते देखे पछि, जेठको गर्मीले तातेको शरीर झन् तात्यो । ज्यानमा चिटचिट पसिना आउन थाले । एकैपलमा म असिनपसिन भएको थिएँ । त्यसै त communication gap ले गर्दा, सर्र भइ कुरा गर्न सकेको थिइन । त्यसै माथि आज मैले युद्द सृजना गर्न पुगेँ ।
मलाई हाम्रो सम्बन्ध, हामी जस्तो सुकै परिस्थितिमा भएपनि निरन्तर चलि नै रहोस् भन्ने लाग्दछ । तर कहिलेकाहिँ, उनलाई चाहिँ कुनै फरक नै पर्दैन कि क्या हो, जस्तो मेरो मनलाई लाग्दा, म आफुलाई सम्हाल्न सक्दिन । अनायासै भक्कानिन पुग्छु । उनको साथ पाउँदिन की भन्ने लाग्दा, मेरो सारा शक्ति क्षीण हुँदै जान्छ ।

अघिल्लो दिन मात्र उनी मेरो सपनीमा आएकी थिइन् । खुसियाली छाएको थियो । त्यो दिन पनि एकपल अगाडिसम्म हाँसी खुसि सबै ठिकै थियो । त्यसपछि छायो कालो बादल, एकाएक । न पानी पर्न सक्यो, न बादल हट्न सक्यो । हिजो सपनी पढेपछि भनेकी थिइन् “हमको बहुत अच्छा लगा” । त्यो सुनेर, म पनि खुसि भएको थिएँ । अहिले सोँच्दै छु - आज उनको कैसा लगा होगा ? ...

उनीसँग परेको असमझदारीको दु:ख त छँदै थियो । अर्को ताना थपेको थियो उनले डिलिट गरेको टेक्स्टले । के भनेकी थिइन्, बुझ्न पाइन । त्यही कुराले दिमागको तार ततायो । मैले फोनमा बिस्तारित कुरा गरौँला भनेको कुरामा ‘परेको छैन’ पो भनिन् कि ? किनकि उनले मलाई, अगाडि तिर ‘फोनमा तिम्रो अवाज कहिले सुनौँला’ भनि सोध्दा भनेकी थिइन् “लकडाउन पछि” । ‘मिलाएर गर न’ भन्दा हाँसेर टारेकी थिइन् । त्यो पल मलाई लागेको थियो, मसँग बोल्ने मन नै नभएकोले उनले त्यसो भनेकि हुन् । त्यहि कुरा अहिले निस्कियो तर फेरि डिलिट पो गरिन भन्ने पनि लाग्यो ।
मलाई क्षमा देउ प्रिय ! मैले विषय बस्तुलाई अतिरन्जित गर्न खोजेको पटक्कै होइन । That was just an innocent curiosity as always ! cause I find myself much more interested in you than I think !!


राती अबेरसम्म पनि उनको टेक्स्ट आएन । सोँचे, सधै को जस्तो भए, ‘खाना पाक्यो कुक ज्यु’ भन्दै टेक्स्ट गरेकी हुन्थिन् । मन रमाउँथ्यो । म खुसि हुँदै जवाफ दिन्थेँ । तर आज त्यस्तो भएन । यही कुराले पनि, हाम्रो खटपट शिद्द गरेको जस्तो लागेको थियो । सुत्ने बेलातिर मैले उनलाई टेक्स्ट गरेको थिएँ । मैले टेक्स्ट गर्नु भन्दा केहि अगाडिको समय उनको last activity भनि देखाउँदै थियो ।
रात अबेरसम्म निदाउन सकिन । म उनको टेक्स्टको प्रतिक्षा गर्दै थिएँ । तर अहँ, उनको last activity बदलिएन । मन त्यसै पनि क्षिण भएको थियो । नरमाइलोपनले गाँजेको थियो । जिन्दगीको रौनकता नै सकिएको जस्तो लाग्दै थियो । राम्रोसँग खाना पनि गएन । जबरजस्ती केहि गासहरू हुलेको थिएँ । शरीर रन्किएको थियो ।
के गरूँ, कसो गरूँ, भैरहेको थियो । बेडमा डल्लो परेर पल्टिएको थिएँ । म ट्वीटर खोल्छु । त्यहाँ, उनको च्याट्को last activity भन्दा अगावैको, एउटा शृङ्गारिक ट्वीट थियो । बिछ्यौनामा छट्पटाउँदैमा मध्यरात भइसकेको थियो । मनभरि दिउसोकै कुराहरू घुम्दै थिए । निदाउने कोसिस व्यर्थ साबित भइरहेको थियो ॥

अर्को दिन बिहान सबेरै ब्युझिएको थिएँ । मन खालि थियो । दिमाग शुन्य थियो । सम्झना उनकै थियो । हिजोकै कुराको जालो लागेको थियो । म मोबाइल हेर्छु । Notification bar मा च्याटको icon देखेर, उनको टेक्स्ट हो कि भनि झटपट भित्र हेर्छु । टेक्स्टको नभई, backup को notification रहेछ । त्यसै मनको आश मरेर गयो ।

उनी खुसि छिन्, कमसेकम मसँग, भन्ने यो मनलाई हुँदा, धपक्क बल्ने मेरो दिन, एउटा misunderstanding (भनुँ वा के भनुँ) ले निम्त्याएको तिक्तताले गर्दा पुरै अन्धकार छाएको थियो । उनी साथै छिन् भन्ने लाग्दा, आफुमा निकै हिम्मत र आँट भएको पाउने म, अहिले आफैलाई उद्देश्य हिन, निरिह र कमजोर पाएको थिएँ । उनी मेरो मेरुदण्ड हुन् । उनी बिना म उभिन त के उठ्न पनि सक्दिन । उनी बिनाको भोली, म कल्पना पनि गर्न सक्दिन । हरबखत उनीसँग मायाकै कुरा गर्न मन लाग्छ । माया नै मायाले यो मन बाँध्न लाग्छ । उनको माया समेट्न मन लाग्छ । आफ्नो माया बगाउन मन लाग्छ । तर पोखि हालौँ भने पनि अविश्वास व्यक्त गर्ने हुन् कि भन्ने कुराले पिरोल्छ । किनकी कहिलेकहिँ उनको जवाफले, किन पो व्यक्त गरेछु भन्ने गराउँछ ।

बाहिर बिस्तारै उज्यालो हुँदै थियो । हिजो देखि निभेको मेरो मनको दियो भने अझै बल्न सकेको थिएन । मनको मान्छेसँगको भावनात्मक दूरिले गर्दा, सबै कुरा ध्वस्त भए जस्तो लाग्दै थियो । उनि हुँदा, सबै थोक भएको, पाएको र पुगेको महसुस गर्ने म । उनी नहुँदा सबै थोक एकै क्षणमा बिलाई जान्थे । विरक्तिले सताउन थाल्थ्यो । उनिसँगको मनको दूरिले नराम्रोसँग निमोठ्न थाल्थ्यो ।
बिछ्यौनाबाट उठ्न पनि मन लागेन । छाती बोझिलो भएको थियो । पेटमा पनि केहि अप्ठ्यारोपन पाएको थिएँ । जिउ तातेकै थियो । टाउकोमा कतै तिखो सियोले घोँचेको जस्तो महसुस गर्दै थिएँ । आँखा बन्द गरेर बिछ्यौनामा पल्टिरहेँ । आँखाभरि उनकै तस्बिर झलझली थियो । उनकै आकृतिको सम्झना भइरहेको थियो । उनी के गर्दै होलिन् ? के सोँचेकी होलिन्, जस्तो लागिरह्यो ।
उनीसँग भोलिका दिनमा सम्बन्ध फेरि सुमधुर हुनेछ, भन्ने आश भने मनमा अझै बाँकी नै थियो । तर यतिबेला आफुलाई सम्हाल्न भने निकै गाह्रो परिरहेको छ । कतिबेला आँखा पुरै आँसुले भिजेका हुन्छन् पत्तै पाएको थिइन । घरिघरिको मेरो यस्तै व्यवहारले, उनले मलाई बिस्तारै बिस्तारै आफ्नो मनबाट बिदा गरिदिने पो हुन् की, सम्झेर मुटु पिरो हुन्थ्यो ।
अबदेखी बढ्ता जान्ने भएर नबोल्ने निर्णय गर्छु । बोल्दै जाँदा के-के बोल्छु थाहै नहुने । मनमा त्यस्तो कुनै दुरभाव भएको त होइन मेरो, तर खोइ उनिसम्म पुग्दा किन अर्कै सन्देश पुग्दो रहेछ । कि म बोल्न नजानेर होला ?

बाहिर उज्यालो भैसकेको थियो । उठ्न पनि मन लागेको थिएन । निदाउने कोसिस गर्छु । सक्दिन । कोल्टे  फेरेरै पल्टि रहन्छु । आँखा बन्द नै थिए । आखाँमा पर्ने प्रकाश हातले छेकेर पल्टिएको थिएँ । म मोबाइल हेर्छु । उनको टेक्स्ट आएको जस्तो लागी रहन्छ । उनको टेक्स्ट आएको थिएन । उनको ‘अन्तिम गतिविधि’ पनि हिजोकै त्यहि समय देखाएको थियो ।

केहि काम गर्दै छु भने पनि यत्तिकै टोलाएको हुन्थेँ । हिँड्दा हिँड्दै पाइला रोकिन्थे । मन भरि तिनै कुराहरूको हुल आउँथ्यो । काम गर्दा गर्दै हात रोकिन्थे । सोँच्दा सोँच्दै आँखामा आँसु भरिन्थे । उठेर दाँत माझ्न भनि बुरुश लिन गएको म, के गर्न आएको बिर्सिएर त्यसै बसेँ । एकै छिन पछि झसङ्ग भएँ । याद आयो र दाँत माँझे ।

हिजो देखि उनको टेक्स्ट आएन । हुन त, म धेरै आत्तिएँ कि त ? उनलाई टेक्स्ट गर्न मिलेन होला ! समय मिलेन होला वा जरूरी लागेन होला वा गर्न मन लागेन होला !
आज मैले सधै भन्दा धेरै चाँडै उनलाई टेक्स्ट गरेँ, किनकि सबेरै ब्युझिएको थिएँ । निद्रा नपुगेको जस्तो भएको थियो । लागेको भए पो पुग्नु । आँखा अप्ठ्यारा भएको थिए ।
एक घण्टा जति पछि उनको टेक्स्ट आयो । सधै जस्तो एउटा फूल आउने टेक्स्टमा आज त्यो थिएन । मेरो शरीर काँपेको थियो । शरीरका प्रणालीहरूले काम नगरे जस्तो लागेको थियो । पुरै जिउ फतक्क गलेर ढल्छु कि जस्तो भएको थिएँ । त्यही टेक्स्ट हेरेर टोलाई रहेँ । केहि अर्थ लगाउने कोसिसमा अल्झिएछु । धेरै बेरसम्म स्तम्भ जस्तै उभिन्छु । लामो समय पछि उनलाई टेक्स्ट ब्याक गरेको थिएँ ।

उनीसँग छलफल गर्न मन त लाग्छ । हरेक बिषयको गहिराइसम्म पुग्न मन लाग्छ । उनको राय जान्न मन लाग्छ । उनको मनको भाव बुझ्न मन लाग्छ । तर उनलाई एउटै विषयको लामो केरकार मन पर्दैन । उनलाई मन पर्दैन भन्ने कुरा मैले हरेक पटक बिर्सिएको हुन्छु । थाहा हुँदै हुँदै पनि बिर्सन गएकाले आज यो गति हुन परेको थियो । दुख पाइस मङ्गले आफ्नै ढङ्गले । मायाले अतृप्त यो मन भर्ने चक्करमा के के गर्न पुग्छु के के ? उनको भावानामा ठेस पुर्‍याउने काम गर्न पुग्छु । अनि आफै पछुताउँछु ।

हामी बिच माया नभएको होइन, छ । प्रशस्त छ । तर मलाई सधै सघन खालकै माया चाहिने । जुन हरेक पल, पुरा हुन सक्दैन थियो । उनको मनमा पनि म प्रतिको चाह भरपुर होस् जस्तो लाग्ने मलाई । त्यसो नभई दिँदा, झरेको पात जस्तै सुक्न पुग्थेँ । फेरि उनी जहाँ जुन अवस्थामा छिन्, त्यो स्थानबाट त्यसो गर्नु त्यति सहज नभएर पनि होला । म्युचुअल माया टनाटन हुँदाहुँदै पनि त्यसको intensity नदेख्दा मन खुसि हुन नमान्दो रहेछ । हरेक पटक गहिरो intensity नभए पनि, बेला बेला हुने निकै सघन प्रेमको सम्झना गर्दै, फेरि त्यस्तै पलहरूको पर्खाईमा म ... । मनलाई सम्हाल्दै, जसोतसो चित्त बुझाउँदै, प्रतिक्षा गर्दै छु ॥


(२०७८ जेष्ठ ११ र १२)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न