नारीको देश

बिचमा फराकिलो, कालोपत्रे बाटो । बाटोको दुइ छेउमा अग्ला र चौडा फूट्पाथहरू । र दुवै छेउमा ठुला ठुला झुम्म परेका रुखहरू पनि । ति रुखका हाँगाहरूले बाटोलाई माथीबाट पछ्छ्यौरीले जस्तै छोपेका थिए, छपक्कै । पश्चिम आकाशमा पुगिसकेका घामका केहि किरणहरूले मात्र, बाटो र फूट्पाथलाई स्पर्श गर्न पाउँथे । त्यो समथर भूभागको वातावरण निकै सुन्दर, सफा, शान्त र आनन्ददायक थियो । रात परि हाल्नलाई अझै निकै समय बाँकी थियो । त्यो स्वच्छ र मनोरम ठाउँमा म इविनिङ्ग walk गर्दै पुगेको थिएँ । Jog गर्दा गर्दै कसो-कसो त्यहाँ पुगेछु । मेरो गति, हिँड्दाको भन्दा तेज थियो भने दौडीएको बेलाको भन्दा धिमा ।

केहि अगाडि एउटी सानी नानी बाटोमा साइकल चलाउँदै थिइन् । म उनको समानान्तर पुगेँ र उनीसँग केहि भलाकुसारी गर्न खोजेँ । उमेरले त्यस्तै नौ-दश वर्षकी हुनुपर्छ । उनी आफ्नै धुनमा थिइन् । ति बाल खुट्टाहरूले साइकलको पेडल दबाउँदै । अलि अगाडि आफ्नो साथी पनि भएको कुरा गरेकी थिइन् । ति पातली बालिकाले निलो जिन्स र कालो टिसर्ट लगाएकी थिइन् । कपाल खुला छोडेकी थिइन् ।
उनको साइकलको गति र मेरो jogको गति उस्तै उस्तै भएकोले होला म उनको समानान्तर नै भइरहेँ । उनीसँग कुरा गर्न समर्थ भइ रहेँ ।
उनले आफ्नो घरमा दुइ वटा छोरा छोरी भएको बताइन् । र बताइन् - अहिले घरमा केटाकेटिको हेरचाह उनका श्रीमानले गर्दै हुनुहुन्छ ।
म, तीन छक परेँ । लाग्यो - होइन, यो के सुन्दै छु ? मस्तिष्कमा धेरै सवालहरूले जन्म लिए । ति बालिकालाई सोध्न पनि सकिन । हुन त, त्यो उनकै विशेष संसार होला । उनले जवाफ पनि सहजै दिन्थिन् होला । तर मेरो मगजमा भने - ति सानी बालिकालाई मैले सोध्ने प्रश्नहरूले, उनको मस्तिष्कमा नराम्रो असर पो पर्ने हो कि - भन्ने मात्र आयो । सोधौँ भने, कसरी सोधौँ ? नसोधौँ भने उनको त्यो बिल्कुलै नौलो संसारको बारेमा नबुझि, म बस्न सकिन । म निकै असमन्जसमा परेँ । उनको गजब प्रकृतिको प्रसङ्ग प्रतिको मेरो कौतुहलता र उनलाई सोध्न हुने वा नहुने भन्ने नैतिक विषयको गाम्भिर्यता एकै पटक मडारियो । म सोँचमा परेँ । दिमागले आफ्नो यन्त्र चलाएर आफै उत्तर फेला पार्न खोज्यो । तर अहँ । सकेन । उनलाई पनि केहि सोधिन । मेरो हिँडाइको गति घट्यो । उनी आफ्नै गतिमा अगाडि पुगिन् ।

अलिकति अगाडि एउटा टी-जङ्क्सन् आयो । त्यसको पारी ति बालिकाकी साथी आफ्नो साइकल समाएर उभिएकी थिइन् । सायद उनैलाई पर्खिरहेकी थिइन् । हेर्दा तेह्र-चौध वर्षकी जस्ति देखिने ति किशोरी खाइलाग्दि थिइन् । पुष्ट र बलिई । एकदम लक्का जवान । टम्म भरिलो शरीर थियो उनको । बालिकाले जङ्क्सन् पार गर्न लागेकी थिइन् । म अलिकती पछाडि नै थिएँ । ति किशोरी, बाटो क्रस गर्दै गरेकी बालिका तर्फ हेरेर मुस्काउँदै थिइन् ।
त्यो तेर्सो बाटोको पारी पट्टि एउटा ठुलो पोखरी थियो । बाटो पारी पनि रूखहरू थिए । तर यताको बाटो छेउका जस्ता थिएनन् । उता पट्टीका रुखहरू अग्ला र कम झुम्म परेका थिए ।
उनीहरू दुवैजना भेट भए । एकैछिन् त्यहिँ सुस्ताउने विचारमा होला, उनीहरू पोखरी र बाटोको बिच भागमा बसे ।
म पनि पारी पुगेँ । उनीहरू आफ्नै कुराकानीमा थिए । तर मैले उनीहरूको कुराको विषय भने ठम्याउन सकिन । किनकि निकै सानो आवाजमा कुरा गर्दै थिए ।
नजिकै पुगेर मैले भनेँ - म पनि बस्छु है ।
ति किशोरीले, आफुले पसारेको खुट्टाहरूलाई तान्दै, यस्सो माथि फर्किएर मलाई हेरिन् र भनिन् - हुन्छ ।

म उनीहरूको अगाडि बसेँ । किशोरीले आफ्नो कपाल रङ्ग्याएर खैरो पारेकी थिइन् । आफ्नो साइकललाई छेवैमा लडाएर बसेकी उनले कालो टाइट ट्राउजर (लेगिज) लगाएकी थिइन् । माथि लङ्ग टिशर्ट र त्यसको बाहिर जिन्स ज्याकेट लगाएकी उनका खुट्टामा फिस् चप्पल थिए ।
म उनीसँग कुरा गर्न थालेँ । उनले आफ्ना दुईवटा श्रीमान् भएको कुरा सुनाइन् । मेरो कौतुहलताले चुली नै नाघ्यो । तर फेरि उनीबाट भने जिज्ञासा सबै मेटाउन सक्छु जस्तो लागेर मेरो मन अलिक शान्त पनि भयो ।
दुवै श्रीमान् बाट दुई-दुई सन्तान गरि, चार सन्तानकी आमा भैसकेको उनले बताइन् ।
मैले सोधेँ - दुई श्रीमान्, कसरी ?
उनी अलि विद्वत, अनुभवी र साहसी सुनिन्थिन् । लाग्थ्यो, उनलाई जिन्दगीका सबै पक्षहरूबारे राम्रो ज्ञान छ । भनिन्छ नि - आफ्नो भूमिका थाहा भएको मान्छे - हो त्यस्तै । आफ्नो उद्देश्य पनि राम्ररी निर्क्यौल गरिसकेकी । कहिले अँध्यारोमा हिँड्नु नपर्ने गरि, सबै बुझिसकेकी । अझ भनौँ, भोगी सकेकी । गजब ठाँट र आत्मविश्वास बोकेकी ।
उनले बिस्तारमा भनिन् । एउटा श्रीमान् बाट दुई सन्तान भईसके पछि, परिवार र समाजको स्वीकृतिमा, अदालतबाट no objection पत्र लिएर, ति केटाका परिवारको विशेष अनुरोधमा उनले ति केटाको पनि गर्वाधान गरेकी रे !

गर्वाधान कसरी गरिन्छ भनेर त मैले सोधेँ, तर गर्भवती हुने समय, बच्चा जन्माउने प्रकृयाबारे भने मैले सोध्न पाइन ।
उनले यत्ति मात्र बताएकी थिइन् की गर्वाधान इन्जेक्शन मार्फत गरिन्छ । पुरुष सेरम प्रयोगशालामा बनाइँदो रहेछ । इन्जेक्सन, नारीको ब्लड स्ट्रिममा पठाए मात्र हुने ।

उनका अनौठा कुराहरू सुन्दा लाग्थ्यो, म अर्कै ग्रह वा समय चक्रमा छु । नभए यस्तो कसरी हुन सक्छ ?
अठार वर्ष पुगिसके पछि; सबै चेलीहरू आफ्ना-आफ्ना काममा व्यस्त हुने र घरायसी काम लगायत बच्चा जन्माउने जस्ता कुराहरूमा फुर्सत, चासो र कर; केहि पनि नहुने हुनाले; अठार वर्ष अगावै नै ति कार्यहरू पुरा गरेर, चेलीहरू आफ्नो योग्यता र क्षमता बढाउने देखि लिएर विभिन्न प्रोजेक्टहरूमा काम गर्दा रहेछन् ।
देशको नेतृत्व तह र अन्य सङ्घसंस्थाहरूको नेतृत्व तहमा पनि महिलाहरूनै हुँदा रहेछन् ।
पुरुषहरूको काम भनेको चाहिँ; खेल्ने, कुद्ने वा पढ्ने । उमेर पुगेपछिको भुमिका भने - सन्तती उत्पादनका लागि सहयोग गर्ने, बच्चा जन्मि सकेपछि हेरचाह तथा हुर्काउन मदत गर्ने र महिलाको मार्गदर्शनमा बसेर सङ्घ-संस्थाहरूको लागी पनि काम गर्ने ।

उनीहरू “अब हाम्रो जाने बेला भयो” भन्दै निस्किए । तर मेरा जिज्ञासाहरू भने बाँकि नै थिए ।
पोखरीलाई एक चौथाई परिक्रमा गरेको त्यो घुमाउरो बाटो तर्फ उनीहरू लागे, साइकल कुदाउँदै । घुम्ति सकिए पछि भने पहाडको फेदिसम्मै सिधै गएको थियो त्यो बाटो । पश्चिम तर्फबाट आएर पोखरीलाई कोण पारी उत्तर लागेको । बाटोको दुवै तर्फ बसेको ठुलो बस्तीका घरहरू अत्याधुनिक एवम् साँस्कृतिक देखिन्थे । साँझ पर्नै लाग्दाको, सुर्यको रातो किरणले बस्ति झनै सुन्दर देखिएको थियो ।

अर्को दिन फेरि म, त्यहि मौका खोज्दै, त्यहि बाटो walkमा निस्किएँ । तर त्यो दिन भने मैले उनीहरूलाई त्यहाँ भेटिन । रात परुन्जेल सम्मै त्यो पोखरीको छेउमा उभिएर कुरि रहेँ । अहँ, उनीहरू आएनन् । करिब एक महिना जति मैले उनीहरुलाई त्यसरी नै, हरेक दिन पर्खिएँ । तर त्यसपछि मैले उनीहरूलाई कहिले देखिन । उनीहरूलाई खोज्दै म त्यो बस्ति तर्फ पनि लागिन । किन ? थाहा छैन । त्यत्तिका दिनहरूमा पनि मैले त्यो ठाउँ वा बाटोमा, अर्को मान्छे देखिन । ति किशोरी र बालिकासँगको त्यो भेट नै उनीहरूसँगको मेरो पहिलो र अन्तिम भेट बन्यो । यहि नै उनीहरूको अन्तिम कथा भयो ॥


(२०७८ असार ३१, सबेरै)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न