द व्हाइट् टिकेट्

बन्न त, जिन्दगीमा धेरै साथीहरू बने । धेरै थरिका पनि बने । तर कलेज पढ्दा, जब उ आयो, त्यसपछि उ जस्तो कोहि आएन । कलेजमा हुँदा पनि र त्यसपछि पनि ।
त्यसपछाडिका दिनमा म, उसँग जस्तो नजिक अरुसँग भइन । जिन्दगीको निकै लामो अंश मैले उसँग बिताएको छु । उसको साथमा व्यतित गरेको छु ।
उसँगका त्यस्ता धेरै क्षणहरू छन्, जुन म कहिले बिर्सन सक्दिन । धेरै त्यस्ता सम्झन लायक पलहरू बनेका छन्, जुन हामीले साथमा बिताएका थियौँ ।

उ मेरो साथी मात्र नभई, हाम्रो परिवारकै एक सदस्य पनि हो । एकअर्काको घरमा हाम्रो आउजाउ पनि समय मिलेसम्म भइ नै रहन्छ । कहिले कामको शिलशिलामा, कहिले भेटघाट र गफगाफको लागि मात्र पनि । म उसको घरमा जाँदा, उसका बुबाआमा तथा दिदीहरू मेरो प्रशंसा गर्न थाल्नु हुन्छ । उ मेरो घरमा आउँदा, मेरो बुबाआमा र बहिनी उसको प्रशंसा गर्न थाल्नु हुन्छ । उ आएर गएको केहि दिन सम्मै चल्छ मेरो घरमा, उसको गुण र मेरो दोषको चर्चा । उ आएर मेरो घरमा बसेर गएपछि, कहिलेकाहिँ म उसलाई भन्ने गर्छु - "अब दुई-चार दिनसम्म डाइलग खुवाउने भयौ यार !" उ फिस्स हाँस्छ मात्र । उ आउँदा मेरो घरमा सबै उजेलिन्छन् । म जाँदा वहाँ पनि सबैजना खुसि भएको महसुस गर्छु । उसको घरमा मैले पाउने स्थानले अप्ठ्यारो पनि लाग्छ, साथै खुसि पनि । यत्ति धेरै महत्व त नदिएको भए पनि हुन्थ्यो नि जस्तो लाग्छ ।

एकदिन, अपरान्ह तिर उसले मलाई फोन गर्यो । म मेरो साइटमा थिएँ ।
उसले सोध्यो - “आज कोहि काठमाडौँ तिर जाने मान्छे छैन, तिमीले चिनेको ?”
जवाफमा मैले सोधेँ - “किन र ? केहि पठाउनु पर्ने छ र ?”
उसले भन्यो - “होइन !”
अनि उसले, पुरा कथा सुनायो :-
अघिल्लो दिन, उसको अफिसको एकजना विदेशी स्टाफले, उसलाई १००० रुपैयाँ थमाइदिएका रहेछन् । ति स्टाफलाई, काठमाडौँ जानको लागि बसको टिकट चाहिएको थियो ।
बिहान, उ काउन्टर पुग्यो र एउटा डिलक्स बसको टिकट लियो । टिकट रात्रिबसको थियो । साँझ आठ बजेको ।
अफिस पुगेर, उसले आफ्ना सहकर्मीलाई टिकट र फिर्ता आएको १०० रुपैँया, उनका हातमा दियो । उनले आभार प्रकट गरे । उसले पनि खुसि व्यक्त गर्यो ।

तर दिउसो, त्यो टिकट उसकै हातमा फर्कियो । उसका सहकर्मी साथी त, बसमा नभई, भैरहवा देखि विमानमा जाने भएछन् ।
टिकट हातमा लिँदै, उसले सोध्यो - “म के गर्नु यसको ?”
ति सहकर्मीले जवाफ दिए - “जे तिमि गर्न सक्छौ वा चाहन्छौ !”
उसले अलमल्ल पर्दै त्यो टिकट गोजिमा राख्यो । त्यो सम्पति अब उसको भएको थियो । तर बेलैमा त्यसलाई सहि ठाउँमा लगाउनु पर्थ्यो । टिकट अब रिफण्ड हुने वाला पनि थिएन । के गर्ने होला त - भनि सोँच्दै गर्दा, उसले मलाई याद गरेको रहेछ ॥

उसको कुरा सुनिसके पछि, मैले गमेर भनेँ - “त्यसलाई हामी ब्ल्याकमा बेच्न सक्छौँ ! मतलब… सस्तोमा !”
उसले शङ्का व्यक्त गर्‍यो - “त्यस्तो पनि हुन्छ र ? हामीसँगबाट पनि कसैले त्यसरी टिकट लिन्छ होला र ?”
उसको कुरा ठिकै थियो । हत्तपत्त मान्छेले विश्वास नगर्न पनि सक्थ्यो । "यसरी बेच्न आएको छ, फ्रड पनि हुन सक्छ" - भनि सोँच्न सक्थे । तर त्यसलाई त्यसरी नै बेच्नु बाहेक हामीसँग अर्को कुनै उपाय थिएन ।
म भने, सम्भावना देख्दै थिएँ । किनकी हामीले जेनुइन टिकट सस्तोमा दिँदै थियौँ ।
त्यसैले, मैले भनेँ - “म भए लिन्थेँ । सस्तोमा राम्रो चिज पाए, को लिँदैन ? त्यो पनि, ठिक आफुलाई चाहिएको बेला ।”
मेरो कुरामा उसले सहमति जनाएको थियो ।
मैले थप भनेको थिएँ - “त्यहि हो ! हामी, सम्बन्धित मान्छेसम्म मौकैमा पुग्नु पर्थ्यो ।”
उसले सोध्यो - “हामीले कतिसम्ममा बेच्दा ठिक हुन्छ ?”
मैले भनेँ - “अलि मेहनत गर्योा भने त, ८०० सम्म पनि पार्न सकिन्छ होला ! तर धेरै लोभ गर्दा, खालि हात पनि हुन सक्छ । त्यसैले, ५०० रुपैयाँको अफर दिनु ठिकै हुन्छ होला !”

उसले सहि थप्यो । साँझ एकपटक मैदानमा उत्रिएरै हेर्ने सल्लाह मिल्यो हाम्रो । अरु केहि नभए, एउटा बेग्लै अनुभव बटुलेर फर्किन पाइन्थ्यो ।
त्यसबेला, उसको कार्यस्थल कोटिहवामा थियो । मेरो थियो, सुनवलमा । साँझतिर राजमार्ग-चौराहामा भेट्ने निर्णय गर्यौँे ।
जहाँ, काठमाडौँ तथा पूर्व तिर जाने बसहरूको लामै लस्कर हुने गर्छ । पश्चिम तथा उत्तर र दक्षिणका शहरहरूबाट आएका बसहरू पनि, एकैछिन् त्यहाँ नबिसाई कहिले गुड्दैनन् ।


उ पहिले नै आइसकेको रहेछ । म आई पुग्दा अलिकती ढिला भएको थियो । उ मलाई कुर्दै थियो । रात पर्न आटेँको थियो । बिस्तारै शहर, विद्युतको उज्यालोले चम्कदै थियो ।

यात्रीहरू आफ्नो सम्बन्धित बस कुरेर बसेका छन् । कुनै अर्को बस आउँदा यात्रुका आँखा त्यसको नम्बरप्लेट हेर्न तम्सिनछन् । कोहि यात्री रोकी राखेको बसको नम्बर झुकेर हेर्दै थिए । त्यहाँ बसहरू आउने, केही क्षण रोकिने, यात्रुहरू चढाउने र आफ्नो बाटो लाग्ने क्रम स्वचालित रुपमा चलिरहेछ । कमिलाको ताँती जस्तै गरि अनुशासित रुपमा सरिरहेछ त्यो लस्कर ।

भेट पश्चात हामी सिधै, त्यो दिनको मिसन तर्फ लाग्यौँ । उ एकैछिन रोकिन खोजेको जस्तै गर्दै थियो । तर म भने प्यासेन्जर खोज्न, बाटो काटेर पारि तिर लागि हालेँ । उ जिल्ल पर्दै मलाई पछ्छायो ।
मैले उसलाई सोधेको थिएँ - “टिकट साथमै छ नि ?”
उसले गोजी छाम्दै, साथैमा भएको बतायो ।

त्यसपछि म लागेँ, काउन्टर तर्फ । उ पछिपछि आउँदै थियो, हाँस्दै ।
काउन्टरको दाइलाई मैले, मेरो कुरा सुनाएँ । उनी तयार हुने छैनन् भन्ने त थाहा थियो । तर कहिलेकाहिँ ... ? कहिलेकाहिँ त, जे पनि हुन सक्छ !
त्यसैले मैले अनुरोध गरेँ - “कोहि त्यस्तो प्यासेन्जर आए भने, तपाईंले आफ्नो टिकट नदिएर, यो टिकट दिनु न प्यासेन्जरलाई !”
पहिले त उनी हाँसे । फिस्स । उनले खासै रुचि पनि देखाएनन् ।
मैले उनलाई भनेको थिएँ - "छ-सात सय मलाई दिनु, बाँकी तपाईं राख्नु ।"
तैपनि, उनी आफ्नै बियाँलो तिर व्यस्त हुन चाहे । उनको त्यो बेवास्ता देखेपछि हामी त्यहाँबाट फर्कियौँ ।
त्यो देखेर उसले निराशा व्यक्त गरेको थियो - “हुँदैन कि क्या हो ?”
मैले भनेको थिएँ - “नआत्तेउ न ! हामीसँग समय छ नि अझै त !”
किनकि भर्खर ७:०० बज्दै थियो ।

अब, हामी आफैले यात्री खोज्नु पर्ने भएको थियो । कहाँबाट सुरु गर्ने, केहि मेसो पाएका थिएनौँ ।
म एउटा बसको ढोका अगाडिको सानो भीडमा पुगेँ । यात्री जस्तो देखिने कोहि छ कि - भनि आँखाले स्क्यान गरेँ ।
त्यस्तै लाग्ने एकजना युवकलाई मैले सोधेँ - “कहाँसम्म हो, तपाईं ।”
मलाई बसकै स्टाफ जस्तो ठानेर होला वा केहि त्यस्तो नसोँची, उनले जवाफ दिए - “काठमाडौँ !”
मेरो पछाडि उभिएर कुरा सुनिरहेको उ पनि अगाडि आयो ।
मैले युवकलाई सोधेँ - “टिकट लिनुभयो ?”
उनले लिई सकेको कुरा सुनाए ।
अलिकती आशाको सञ्चार भएको मेरो मन पछाडि हट्यो । उ चाहीँ मुस्काउँदै थियो । सायद उसको मनमा पनि त्यस्तै भयो होला ।
अब उनीसँग, अरु कुरा गर्नुको कुनै अर्थ थिएन । हामी केहि नबोली, अगाडि हिड्यौँ ।

उ, अलिकती धक मानेको जस्तो गर्दै थियो । तर मलाई भने, त्यस्तो केहि लागेको थिएन । रातको समय, कसैले चिन्छ कि - भन्ने पनि थिएन । हामीले हाम्रो टिकटलाई जसरी भए पनि बेच्नु थियो । त्यसलाई पैसामा परिणत गर्नु थियो । कसैलाई काम लाग्ने कुरा दिएर, हामीलाई कामलाग्ने कुरा लिनु थियो । आज नै, त्यो टिकटलाई काममा लिन सक्ने मान्छेसम्म हामी पुग्न सकेनौ भने, त्यो टिकट त्यसै खेर जान्थ्यो । त्यसैले पनि त्यहाँ, लाज वा धक मान्नुको कुनै अर्थ थिएन ।
उसले, ‘अरु मान्छेले के भन्लान्’ भन्ने तिर बढि सोँच्यो कि ? ‘पैसाको लोभ गरेको’ भन्ठान्छन् कि भन्ने सोँच्यो कि ?
तर, कुनै पनि चिजलाई त्यसै खेर फाल्ने किन ? कोहि मान्छे सामु पुगेर 'तिमीलाई चाहिने कुरा मसँग छ' भन्न, डराउने किन ? त्यो पनि उनीहरूले काउन्टरमा पाउने मुल्य भन्दा, धेरै सस्तोमा ।
हामीलाई टिकट बेच्नु पर्ने छ नै । नबेचेसम्म त्यसको फाइदा हामीले लिन सक्ने पनि छैनौ । कसैलाई सुनाउँदै नसुनाई त कसरी सन्देश प्रवाह हुन्छ र ? हामी सेल गर्न सक्छौँ वा सक्दैनौँ, थाहा पाउन मात्रै पनि, फिल्डमा पुगेर एकैछिन् त लाग्नै पर्थ्यो ।
हामीलाई टिकट बेच्नु छ त, छ ! किन लाज मान्नु ? किन पछाडि हट्नु ?

अर्को एक प्रयासमा, सार्वजनिक शौचालयको अगाडि रोकि राखेको बसको अलि छेउमा उभिएर मोबाइल चलाइरहेका अर्का एक यात्रीलाई मैले सोधेँ - “तपाईं, काठमाडौँ जाने हो ?”
उनले “हो” भने ।
मैले फेरि सोधेँ - “टिकट लिनु भयो ?” 
उनले भनेँ - “छैन । यत्तिकै जाने हो !”
मैले मेरो कुरा राखेँ - “मसँग एउटा टिकट छ, बिहान लिएको । तर अहिले, म नजाने भएँ । त्यसैले, तपाईं लिनु हुन्छ भने, सस्तोमा दिन्छु ।”
ति यात्रीको अनुहारको भाव बदलिदै आयो । उनको अनुहारमा अविश्वासको लहर आएको देखेको थिएँ ।
मैले फेरि भनेँ - “एसी बसको टिकट हो । आनन्दसँग जान पाउनु हुन्छ ।”
उनको अनुहारको भाव, अविश्वासमै अड्कियो ।
मैले विश्वास दिलाउने कोसिसमा भनेँ - “अहिले बस आइसकेको छैन । बस आए पछि सबै कुरा चेक गर्नुहोला । सिटमा बसेपछि मात्र पैसा दिनुहोला !”
उनी अझै पनि आनाकानी गर्दै थिए । मैले उनलाई विश्वास दिलाउन सकिन ।
छेवैमा उभिएर हाम्रो कुरा सुनिरहेको उ, केहि सम्भावना साकार पार्न खोज्दै, अगाडि सरेर बोल्यो - “डिलक्स गाडीको ९०० को टिकट हो । तपाईंले ५०० मात्र दिनुहोला । कन्डक्टरलाई टिकट कन्फर्म गराएर मात्र पैसा दिनु होला के !”
तब पनि, उनी कन्भिन्स भएनन् । त्यो रातमा, शहरको त्यो वातावरणमा, उनले हामीलाई विश्वास गरेनन् । अथवा, उनी आफ्नै सुरमा, आफैले सोँचे अनुसारनै जान चाहन्थे ।

पहिले हामी, यता-उता, वर देखि परसम्मका बस छेउछाउका यात्रीलाई सोध्दै, अन्योलतामा घुमिरहेका थियौँ । कोहि, काठमाडौँ नभई, अन्तै जाने भन्दथे । कोहि, टिकट लि’सकेको सुनाउँथे । कोहि भने, हाम्रो कुरामा चासो नै दिदैनथे । कोहि, नबोलेरै अविश्वास प्रकट गरिदिन्थे ।

त्यहि टिकट सम्बन्धित बस आइसके पछि भने, हामी त्यसकै सेरोफेरोमा यात्री खोज्न थाल्यौँ । एकपटक मैले, त्यहि बसकै कन्डक्टरलाई मेरो कुरा राखेको थिएँ । हामीलाई, उनैले केहि मेसो, सहजै मिलाई दिन्छन् कि भनेर ! तर, उनले आफ्नो हाँसोले मात्र मेरो प्रस्तावलाई ‘नाइँ’ भनिदिए । र उनी आफ्ना अरु यात्रु खोज्न तर्फ व्यस्त भए । टिकट हेर्दै, त्यहाँबाट चढ्ने यात्रीहरूलाई चढाउन तिर पनि लागे ।

हामी सम्बन्धित बसकै ढोका अगाडि थियौँ । त्यहाँ केहि यात्रीहरू पनि थिए । मैले एकजना झोला बोकेको युवकलाई सोधेँ । हाम्रो क्राइटेरिया उनीसँग मिल्न पुग्यो । मैले उनीसँग सबै कुरा राखेँ ।
उनले सोधे - “कतिमा दिनु हुन्छ ?”
हामीले मुल्य बतायौँ । तैपनि, उनी अलि अनकनाए । अनिच्छा जस्तो प्रकट गरे ।
बस अगाडिनै थियो । त्यसैले भनेँ - “भित्र गएर सिट पनि चेक गर्न सक्नुहुन्छ ।”
उसले पनि मसँगै, ति यात्रीलाई विश्वास दिलाउन खोज्यो ।
हामीले भन्यौँ - “तपाईंलाई भर लागेन भने पनि, सिटमा बसेर गाडि नहिड्दासम्म तपाईंले पैसा दिनु पर्दैन । तपाईंले कन्डक्टरसँग सोधेर पनि निश्चित गर्न सक्नुहुन्छ ।”
तथापि, उनी पछाडि हटे । उनलाई हाम्रो डील, रिस्की लाग्यो होला ।

हामीले अरु यात्रीलाई सोध्न थाल्यौँ । एक जनासँग कुरा चल्दै थियो । पछाडि पुगेका ति युवक, सरक्क अगाडि आए ।
उनले भने - “खोइ ! मलाई दिनु !”
उनले गोजीबाट पैसा निकालेर दिए । हामीले पनि उनलाई टिकट दियौँ । उनी बस चढी हाले । भित्र कन्डक्टरलाई टिकट देखाई, सिटमा गइ बसे । हामी हेरेको-हेर्यै् जस्तो भयौँ ।

हाम्रो मिसन सफल भएको थियो । बस त्यहिँ थियो । तर हामी भने निस्कियौँ । निकै ठुलो जित हाँसिल गरेको जस्तो महसुस भएको थियो । हामी हाँस्दै थियौँ । एउटा बेग्लै अनुभवका बिच, बेग्लै सफलता मिलेको थियो ।॥

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न