खुलासा - खुला आशा

‘दिस् म्यासेज् वाज् डिलिटेड् (१६:०३)’ देखेपछि मेरो मन रन्थनियो । त्यो मेरो लागि– म्यासेज् होइन, म हुनुको अर्थ डिलिट् भए झैँ थियो । ज्यान पुरै तातो भएको महसुस गरेको थिएँ । आखिर तिम्रो लागि, मेरो के नै अर्थ छ र– जस्तो लाग्यो । मुटु मै किला ठोकिदिए जस्तो भएको थियो । मेरो मुहारै पुरै अमिलिएको आभाष गरेँ । देख्नेले पनि सायद थाहा पाए होला– पुलकित मुहार एक्कासि ओइलाएको । अनुहार अमिलो बनाउँदै सरेको धार आँखामा पुगेर जम्यो । पहिले आँखा अप्ठ्यारा भए । अनि अलिकती अमिलो रस पाएपछि थोरै सजिला । सोँचे– यदि मनको कुरा त्यसरी लुकाउनु पर्छ भने... सुरुमा भन्नु किन ? अन्त्यमा म हुने भनेको त एक्लो न हो– झैँ लाग्यो ।

तिम्रा यी र यस्तै कुराहरूले गर्दा पनि, तिम्रो मनको नजिक पुग्न असम्भव जस्तै लाग्छ । तिमीसँग कुराहरू गर्दै जाँदा कहिलेकाहिँ तिम्रो मनको नजिकै पुगेको जस्तो लाग्दा, मेरो मन मख्ख पर्छ । त्यति हुँदा-हुँदै पनि एउटा डर भने मडारिइ रहेको हुन्छ– कहिँकतै एउटा कस बाँकी रहे जस्तो । आफुले चाहेको झैँ नजिक पुग्न खोजे पनि तिमीले केहि कुराले छेकेको जस्तो लाग्छ– ‘यो लाइन् क्रस् गर्न मनाही छ’ भनेको जस्तो । तिम्रो आभाले नै छेकेको होला मलाई ।

मनको कुरा शब्दमा आउँदै नआएको त होइन रहेछ नि ! आएको कुरा पनि मसँग लुकाउनु पर्छ, फिल्टर् गर्नु पर्छ भने– म को हुँ त तिम्रो लागि ? के बुझौँ म ? सधै यस्तै अन्-सियोर् भएर चल्नु पर्छ मलाई । कि मलाई त्यस्तो हक छैन– जहाँ म तिम्रो मनको पत्र-पत्र फर्काउन पाउँ । तिम्रो मनको ठेकीमा बहसको मदानी चलाउँ । अनि तिमीलाई नरम निष्कर्षको नौनी भेटको रुपमा चढाउन पाउँ ।

यदि तिमी मसँग नै खुल्न सक्दिनौ भने । मनको कुरा भन्न हिच्किचाउँछौ भने । मलाई माया गर्छ्यौ किन ? चाहन्छ्यौ तिमी मलाई किन ? मायाको अर्थ के हो, तिम्रो लागि ?

म माफी चाहन्छु । म यो दुनियाँले भनेको जस्तो प्राक्टिकल् छैन । मेरो प्राथमिकतामा सधै मनका कुरा पर्छन् । भावनाका कुरा पर्छन् । मनोगुणका कुरा पर्छन् । मेरो मनको संसार नै, मेरो वास्तविक संसार हो । र यो संसारमा सबैभन्दा ठुलो प्रभाव पनि तिम्रो मात्र छ । अनि यसरी तिमीले आएको मनको भाव पनि लुकाए पछि... म के गरौँ, भन त ? म अलमल पर्छु । आइ फील् सो ड्याम् कन्फ्युज्ड् एण्ड् लस्ट् ! मेरा पाइला रोकिन्छन् । मेलामा आमाको हात छुटेको बच्चा जस्तै हुन्छु ।

निकै दरिद्रताले भरिएको जस्तो लाग्छ मेरो जिन्दगी । अब म यसबारे तिमीसँग कुरा गर्न पनि सक्दिन । के डिलिट् गर्‍यौ ? किन गर्‍यौ ?–भनेर सोध्न पनि सक्दिन । झन् तिमी रिसाएर, भएको सम्बन्ध पनि बिग्रन्छ कि जस्तो लाग्छ । पाएको माया पनि रोकिन्छ जस्तो लाग्छ । यस्तो अवस्थामा, पहिलो कुरा त तिमीलाई फेस् गर्ने बित्तिकै मैले भन्न खोजेको मुख्य कुरा बिर्सन्छु । हिम्मत गरेर भनेँ भने पनि सहि तरिकाले भन्न जान्दिन । केहि न केहि उल्टो-पाल्टो पारेको हुन्छु । निकै ठुलो उम्मिद बोकेर, आफुलाई लागेको कुरा डराई-डराई सोध्यो– खालि हात फर्काइ दिन्छौ । मन त्यसै सुकेर आउँछ– मरिच जस्तै । अनि यता-त्यताका कुरामै सिमित भइदिन्छ हाम्रो संबाद । मनका कुरामा प्रवेश गर्नै पाउँदैन । जसोतसो प्रवेश गराएँ भने पनि, एकपल टिक्न पाउँदैन । मनको कुरा मनमै रहन्छ– काँढा जसरी । अनि त्यसैले बिझाइ रहन्छ । टनटनी दुखाइ रहन्छ ।

निकै रसले बितिरहेको मेरो दिन एक्कासी बेरस भैदियो । मायामा मुग्ध मेरो मन, सास नपाएर छटपटायो– पौडिन नजानेको सिकारु जस्तै । शान्त र शितल जिउमा जलन हुन थाल्यो– कसैले झुसिल्किरा लगाइदिए जस्तै ।

तिमीसँग होइन । तिमीसँग त म बारम्बार हार्न तयार छु । प्रेमको सारसँग हारेको महसुस भयो । संसारसँग हारेको जस्तो लाग्यो । आफैसँग हारेको फील् गरेँ । कर्महारा जिन्दगी मेरो ।

गरिराखेको काम छोडेर टोलाउने बनायो । ‘मन भित्रकी तिमी’लाई नै माया गर्न सजिलो लाग्यो । ‘बाहिरकी तिमी’लाई त बुझ्नै सक्दिन म । बुझ्न खोजे पनि सधै असफल भइरहन्छु । तिम्रो भावनाको मामलामा म कहिले स्पष्ट हुन सकिन । एक छोडी अर्को दिन, केहि न केहि कुरामा अल्झि रह्यो मेरो मन । एक थान प्रश्नहरूले जवाफ खोजिरहे । तर ति प्रश्नहरूको तिर्खा कहिले मेटिन पाएन । जिज्ञासाहरू मरे तुल्य भए । न तिनले मुक्ति पाए । न त फेरि बाँच्न सके । आखिर, के छ त्यो मनमा ? तिम्रो थट् प्रोसेस् के हो ?

मुटु कट्कटि खान्छ । तर पनि फेरि प्रयास गर्ने उर्जा जुट्दैन । मानौँ, म भित्रको एउटा ‘म’ मरि सकेको छ । मेरो भाग्य नराम्रो कि मेरो सोँचाइ त्यस्तै ? फेरि सोँचे– मेरो सोँचाइ नै खतम होला । अनि त्यसकै शिकार भइरहेँ । बारम्बार भइरहेँ । र सायद भइ नै रहने छु ।
भाग्यमा त तिमीलाई पाएको छु ।

(२०७९ चैत्र १०)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न