तिमी कस्की ?

आखिर, तिमी कस्की ?

उसकी ?
जसले तिमीलाई बनायो
तिमीलाई एउटा मुर्त शरीर दियो
तिमीमा प्राण भर्‍यो ।

या, उनकी ?
जसले तिमीलाई जन्म दिनुभयो
र हुर्काउनु भयो
तिमीलाई आजकी तिमी बनाउनु भयो ।

अथवा, उहाँकी ?
जसले तिमीसँग जीवन बिताउने प्रण गर्नु भयो
समाजले तिमीलाई जसकी बनाई पठायो
आफन्तलेहरूले तिम्रो घर उहाँसँगै भन्छन्
जहाँ उहाँ, त्यहाँ तिम्रो घर, त्यसैले तिमी उहाँकी ?
तिम्रो तन मनमा बास उहाँको, त्यसैले तिमी उहाँकी ?
जोसँग बिताउनु छ जीवन, उसैकी ?
जो हरपल, हरक्षण तिम्रो साथमा हुनुहुन्छ
तिम्रा सुख-दु:ख सबैमा साथै हुनुहुन्छ
र तिमी पनि हुने छ्यौ उहाँका उतार-चढावमा
जब चाह्यौ उहाँसँग नारिन पाउने छ्यौ 
जोसँग तिमीलाई मेरी भन्ने हक छ ।

या फेरि उसकी ?
जसले मध्यरातमा ब्युझेर, तिमीलाई सम्झिन्छ
तर तिमीमा कुनै हक राख्दैन, बस् माया गर्छ
जानेको पनि छैन प्रेम गर्न, बस् भावले गर्छ
उ कतै बिरानमा हुन्छ अधुरै, तिमीलाई सम्झिदै 
भौतारिन्छ सारा संसार, तिमीलाई मनमा राखेर ।

या तिमी, आफ्नै ?
आफ्नै मनकी रानी
न यसकी, न उसकी
कसै न कसै की
मात्र तिमी, तिम्रै आफ्नै ॥

(२२ मङ्सिर २०७७)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न