रोदन

यति विधि म कहिले रोएको थिइन । वा मलाई सम्झना छैन । उनले फोन राखिसके पछि मन भक्कानिएर आयो, थाम्न खोजेँ सकिन । मन उद्देलित भएर भित्रैबाट हुत्तिएर आयो, अनि फुट्यो मूल सरी । बाथरूम पसेर शावर खोलेर रोएँ । आवाज छेक्न लाइ, धारा खोलेर बाल्टिन थापी दिएँ । भित्ताको साहारा लिएर रोएँ । पीडा लुकाउन रोएँ, बेदना पखाल्न रोएँ । खै किन रोएँ ? confusion मा रोएँ, मायामा रोएँ, सम्झनामा रोएँ, आफ्नै पागलपनमा रोएँ, acceptance मा रोएँ, denial मा रोएँ, रुन्चे म खुब रोएँ । सुटुक्क रोएँ, आफैले आफैलाई सम्हाल्न नसक्दा रोएँ, उनलाई दुख दिएकोले रोएँ, सताएकोले रोएँ, रोयल persona उनी, उनलाई रुवाएकोले रोएँ, उनीसँग सहज हुन नसकेर रोएँ, मिठा बात गर्न नजानेर रोएँ । आफ्नै स्वार्थीपनले रोएँ, आशामा रोएँ, निराशामा रोएँ, छटपटीमा रोएँ । वाक कुशलताको अभावमा रोएँ । स्पष्ट भएर रोएँ, अस्पष्ट देखेर रोएँ । खराब भएर रोएँ, खतम भएर रोएँ । खुब रोएँ, काम नपाएर रोएँ । यी शब्दहरू लेख्दै गर्दा पनि आँसु रोकिन मान्दैनन् । पृष्ठमै आँसु खस्छ, तप्प ! कागज फुल्लिन्छ । हातले पुछी दिन्छु । कागज नै च्यातिन्छ । मन झनै भक्कानिन्छ, बलिन्द्र धारा लाग्छन, यी आँसुका । सायद मूल नै सुक्ने गरि ।

उनले भनेको सम्झिन्छु, अझै बल्झिदिन्छ पीडा । भन्दै थिइन् “अब देखी मैले तपाईँलाई, यो गर्नु वा त्यो गर्नु भनेर कहिले भन्दिन । पहिला भन्थेँ, अब भन्दिन, जे मन लाग्छ त्यहि गर्नुस्” । एकैपलमा म, त्यो मन देखी धेरै टाढा पुगेको महसुस भएको थियो । मन भाँचिएको थियो । मेरो धड्कन बढेको थियो । आँखा भरिएका थिए । गला सुकेर अवरुद्ध जस्तै थियो । I was devasteted. मैले हाम्रो मिठो सम्बन्धलाई बिगारेको थिएँ । मेरो आफ्नै खराबीले । उनले त्यसो भनिसके पछि मैले टुक्रिएको मलिन स्वरमा भनेको थिएँ, “हिजो आज लाग्दैछ, I’m pushing you away” । “त्यस्तो पनि होइन है” उनले भनेकी थिइन् । मेरो जवाफ थियो, “yaa, it is” । उनको प्रत्युत्तर थियो, “होइन भो” । त्यसपछि म केहि बोलेको थिइन, के भनुँ के भनुँ, निर्क्यौल गर्नै सकेको थिइन । दिमाग शुन्य प्राय थियो । अलि लामो समयसम्मै हाम्रो कुराकानीमा शुन्यता छायो । धेरै बेर पछि उनी बोलिन् “के भयो” ? मैले “केहि नाइँ” मात्र भन्न सकेँ । फेरी पनि एकैछिन शुन्यता मडारियो । त्यसपछि उनले झर्को मान्दै भनिन् “ल ल नबोल्ने भएपछी, म फोन राख्छु, तपाइँ सुत्नुस्, सोँचेर बस्नुस् वा whatever तपाईँलाई मन लागेको गर्नुस्, पछि केहि भन्ने जस्तो कुरा भयो भने call गर्नुस् है”। सपाट भएको मेरो दिमाग, मेरो मुखबाट “हस्” फुस्किन्छ । फोन काटिन्छ । आधा एक घण्टा पछि मैले परिस्थितिलाई अलि सहज बनाउने कोसिसमा उनलाई फोन गर्छु । उनी भन्छिन् "के भो " ? मैले बिस्तारै भनेँ "sorry" ! उनले भनिन् "आफैले आफैलाई sorry भन्नुस् न" ! यो सुनेर, म पुरै ध्वस्त भएको थिएँ । कानमा तिखो 'टु...ट्' को आवाज लगातार आइरहेको थियो । म फेरि अवाक, केही बोल्न सकिन ।

उनले भनि सकेपछी सहजै सम्हालिने म, केही दिन अगाडिको शित युद्ध पछि भने सम्हालिन सकेको थिइन । रातभर छटपटीन थालेको थिएँ । अनि दिनभर सुत्ने भएको थिएँ । मैले उनलाई स्पष्ट भनेको थिएँ, केहि नलुकाई, सुतेको छैन भनेर । सायद यो कुरा उनलाई मन परेन । अब कहिले यसो वा त्यसो गर भनेर नभन्ने भएकी थिइन् । उनको मिठो अर्ति उपदेश पाउने म्याद मैले गुमाई सकेको थिएँ । मैले यो हाम्रो सुमधुर सम्बन्ध, मेरै कालो कर्तुतले बिगार्दै जान थालेको थिएँ । हिजोको late night talk मा यस सम्बन्धको नाम वा प्रकारको कुरा भएको थियो । उनले भनेकी थिइन् “खै, मैले त बुझ्न सक्दिन, नेपालको politics जस्तै छ, यो सम्बन्ध” । म फेरि पनि अवाक नै थिएँ । परिस्थिति बुझेर त्यसै अनुसार गर्न नसक्ने, म हावा !

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न