मनको घाम

आज मौसम घमाइलो छ । पौष महिनाको जाडोमा सेक्ने घाम लागेको छ । घामको रापले ज्यान रनक्क तातेको छ । सम्झना भने उनको छ । मनमा उनकै राज छ । प्रेमालापको प्रतिक्षामा छु । केहि दिन देखी कुराकानीमा ब्रेक लागेकोले पनि कति बेला आवाज सुन्न पाउँला जस्तो लागेको छ । उनीसँग मन बिसाउन हतार भइ रहेछ । धित मरुञ्जेल प्रेमालापमा डुब्न आतिएको छ मन । अतृप्त बचेरा जस्तै छटपटाइ रहेछु । आज त्यो दिन आएको छ । मेरी मायासँग रुवरु हुने समय भएको छ । म उनलाई फोन गर्छु । म उद्वेलित हुँदै कुराहरू गर्न खोज्छु । तर आज मनकी रानी गद्दीमा छैनीन् । उनका सबै जवाफहरू जाडोयामको चिसो भुइँ जस्तो आउँछन् । म विस्मित भैरहेछु । अचम्म लाग्दै छ । उनको लय फेरिएको छ । भाव रुग्ण भएको छ । म बुझ्न केहि सकेको छैन । केहि मेसो पाउन सकेको छैन । कुहिरोको काग जस्तै भएको छु । नेटवर्कको खराबीले पनि आवाज राम्रोसँग सुनिएको छैन । मैले दोहोर्‍याएर सोध्नु परेको छ । म भन्छु “के भन्यौ रे ? फेरि भनन” । उनी झर्किएर भन्छिन् “केहि होइन” । म चाहिँ कोसिस गरिरहन्छु । कुराकानीमा खुलापन आइहाल्छ कि भनि लागिरहन्छु । तर आज बेग्लै भाका थियो उनको । म सोध्छु “आज घरमा कोहि आउने कार्यक्रम त छैन नि” ? उनी ठाडो स्वरमा भन्छिन् “आउने कार्यक्रम भए के हुन्थ्यो” ? अघिपछि यस्तो जवाफ आउँदैनथ्यो । भन्थिन् “छैन त्यस्तो अहिलेसम्म त” । तर उनको जवाफ र कडा लय दुवैले मलाई विचलित बनाएको थियो । केहि सोध्ने हिम्मत पनि क्षिण हुदैँ गइरहेको महसुस गर्दै थिएँ । अडियो कलमा समस्या नै थियो । केहि पावर तानेर अलि ठिक पो भइहाल्छ कि भनि म भिडियोकल गर्छु । उनी तिखो स्वरमै भन्दै थिइन् “अडियो राम्रोसँग आएको छैन, खुबै भिडियोकल फेरि” । केहि समय लगाएर भएपनि उनी कल स्वीच गर्छिन् । उनको बेसिक शृङ्गारमा पनि उनी चम्किएकी थिइन् । उज्यालो देखिने उनको अनुहारको भाव भने हँसिलो थिएन । ओठ रातो लिपिस्टिकले सजिएको थियो । तर उनको अलौकिक मुस्कान हराएको थियो । म सोध्छु “कतै जान लागेकी हौ र ? किन लिपिस्टिक लगाएकी नी” ? उनको जवाफ उस्तै कडा स्वरमा आउँछ “के हो ? घर बस्दा लिपिस्टिक लगाउन हुन्न क्या” ? म मलिन स्वरमा भन्छु “नाइँ, सोधेको मात्र” । भिडियो कलमा पनि उनी मलाई हेर्दै नहेरी कुरा गर्दै थिइन् । हुन त, हेर्नै पर्छ भन्ने पो कहाँ हो र ? एक दुइ झल्को बाहेक उनका आँखा अन्तै थिए । सोचेँ सायद केहि गर्दै या हेर्दै भएर होला । तर सोधि हाल्ने हिम्मत आएन । भिडियोमा पनि नेटवर्क कनेक्सन गतिलो थिएन । आज उनको भावभङ्गी र टेक्नोलोजी दुवैको सल्लाह मिलेको जस्तो थियो । म फेरि अडियोकल गर्छु । म भन्छु “हिजो घर सफा गरेको भन्दै थियौ नि है” ? उनी भन्छिन् “उम् सधै गरिरहेकै चिज त होनी” । म फेरि भन्छु “भिषणवाला गरेको होइन र” ? उनी ठुलो स्वरमा चिच्याएर भन्छिन् “त्यस्तो भिषणवाला पनि केहि होइन है” । म झस्किएको जस्तो भएको थिएँ त्यो चिच्याहटले । म निकै सानो स्वरमा भन्छु “मलाई त्यस्तै लागेर सोधेको के” । उनी फेरि तिखो स्वरमा भन्छिन् “कस्तो हो र ? आफ्नै घर त हो नी, सधै सफा गर्ने त हो नी” । मेरो मुटु नै खसेको जस्तो भएको थियो । खसेर तल पुगेको जस्तो लाग्दै थियो । म अवाक भएको थिएँ । दिमागले काम गर्न छोडिसकेको थियो । केहि समय मौनता छाउँछ । उनी पनि केहि बोल्दिनन् । शुन्यता तोड्दै म सोध्छु “के छ त तिम्रो हालखबर” ? उनी उही कडा स्वरमा भन्छिन् “ठिक छ” । म फेरि सोध्छु “मनको हालखबर के छ त” ? उनी अझ कडा स्वरमा भन्छिन् “मनको हालखबर पनि ठिक छ । के भा’को छ र मनलाई ?” मैले “ए” बाहेक अरू केहि भन्न सकिन । मेरा हात खुट्टा लुला भएको महसुस गर्दै थिएँ । कलमा निकै disturbance आइरहेको थियो । कल काटिन्छ । म उनलाई टेक्स्ट मार्फत पनि जानकारी गराउँछु । उनको रिप्लाइ थियो “ehhh” ॥
छतमा बसेर कुरा गरिरहेको म तल झर्छु । मोबाइल टेबुलमा राख्छु । केहि दिनको अन्तराल पछिको सम्पर्क थियो यो । मिठा मिठा प्रेमले ओतप्रोत कुराहरू गरौँला सोचेको थिएँ । खासै पुरा हुन सकेको थिएन । मन भासिएको थियो । दिमाग निकै तातेको जस्तो पोल्ने भएको थियो । मसँग न केहि समाधान थियो । न म नजरअन्दाज गरि बस्न सक्थेँ । पिरले छाती भारी भएको थियो । आफैसँग रिस उठ्दै थियो । परिस्थितिलाई सहज बनाउन नसक्ने ग्वाँच मान्छे म । म यत्तिकै बिछ्यौनामा अडेस लागेर बसिरहन्छु । मनमा कुराहरू खेलिरहेका थिए । सोँच्दा सोँच्दा दिमाग फुट्ला जस्तो भएको थियो । सुत्न खोज्छु । निदाउन खोज्छु । निको लाग्दैन । आफ्नो काम गर्न खोज्छु, ध्यान जाँदैन । बाहिर दिन घमाइलो थियो । उनको दिलमा घामको किरण पुर्‍याउन सकेको थिइन । म आफु झन् अँध्यारो भएको थिएँ । शरीर तातेर ज्वरो आएको जस्तो भएको थियो । पुरै ज्यानले प्रतिक्रिया देखाई रहेको थियो । यस्तै सुर्तामै घण्टौँ बितेको मैले पत्तै पाउँदिन ॥
उठेर मोबाइल हेर्छु । अलि अगाडिनै आएको उनको एउटा मिस्ड्कल रहेछ । म कलब्याक गरि हाल्छु । अहिले भने अलि खुसामत लयमा पाउँछु उनलाई । म सोध्छु “के भा’को थियो तिमीलाई” ? उनी भन्छिन् “के भा’को थियो र मलाई, केहि त भा’ छैन” । मनमा पक्ष-प्रश्न हुँदाहुँदै पनि म सोध्न सक्दिन । यता भाँडा बजेको सुनेर उनी भन्छिन् “तपाईं के गर्दै हो र” ? म भन्छु “म चिया तताउँदै” । उनी भन्छिन् “किन, तपाईंलाई बोलाउनु भएन र पिउने बेला” ? म भन्छु “खोइ, बोलाउनु भयो होला तर मैले सुनिनछु” । उनी भन्छिन् “किन त, नसुन्या” ? म भन्छु “म dark zone मा थिएँ होला, त्यसैले” । उनी भन्छिन् "उम्, might be” ! म हाँस्दै भन्छु “might be होइन, definitely हो नि” । उनी पनि हाँस्छिन् । म प्रसङ्ग बदलेर सोध्छु “छुट्टी कस्तो रह्यो त” ? उनी झनक्क भएको लयमा सोध्छिन् “कसको छुट्टी” ? मैले आफुलाई सच्च्याउँदै फेरि सोध्छु “छुट्टी भन्दा पनि वीकइन्ड” ? उनी त्यहि लयमा भन्छिन् “वीकइन्ड, वीकइन्ड जस्तै” । खुसामत लय फेरि हराएको थियो । मेरो केरकार गलत साबित भैरहेको थियो । के गरुँ, कसो गरुँ, जस्तो भएको थियो । अन्य प्रसङ्गहरू जस्तै, राजनीति, देशविदेश, छरछिमेक आदिमा भने उनले “त्यस्तो भन्दा पनि, कस्तो भने ...” भन्दै मज्जाले बेली लगाउँथिन् । आनन्द लाग्थ्यो, मजा आउँथ्यो । फेरि केहि छिनमै झर्कि हाल्थिन् । म चाहिँ उनको त्यो मिजासिलो लय आइ पो हाल्यो कि जस्तो ठानेर भन्छु “अहिले यस्तो मजाले कुरा गरेकि छौ, तिमीलाई अघि के भएको होला भनि सोँच्दै छु म” । उनी फेरि आफ्नै रौद्र रुपमा आइ चर्को स्वरमा भन्छिन् “तपाईं मलाई केहि भएकै छ भनि prove गर्न बसेको होइन ? ल गर्नु गर्नु” । म शान्त स्वरमा भन्छु “त्यस्तो होइन, different लागेर मात्र भनेको” । एकै छिन् फेरि सन्नाटा छाउँछ । अनि केहि क्षण घुमघामका कुराहरू हुन्छन्, जुन खुस्मिजासमै भइ रहेका थिए । उनी अलि पहिले यो शहरमा आएको प्रसङ्गमा म सोध्छु “त्यतिबेला रेगुलर हुन्थेन हाम्रो कुरा” ? उनको तिखो जवाफ थियो फेरि कडा स्वरमा “मलाई थाहा छैन, आफै थाहा पाउनु” । मेरो दिमाग फेरि बन्द भएको थियो ॥
उनको ढोकामा निकै ठुलो आवाजमा ट्याक-ट्याक आउँछ । म बुझ्छु आजलाई यत्तिनै भनि । म भन्छु “यस्तो राम्ररी कुरा हुने भएर पनि अघि किन मेरो मन खसाई दिएकी” ? उनी हाँस्छिन् । म जाँदा जाँदै भन्छु “आइ लव यु” ! उनी उनको त्यही हाँसो हाँस्दै भन्दै थिइन् “लव यु टु” । म जिल्लै ॥
मनमनै सोँच्छु, केहि न केहि त भएकै हुनु पर्छ आज, पहिले नै नभएको भए पनि मसँग फोन हुँदा । नभए यस्तो मिठो बोल्ने माया आज किन तिखो लयमा । सदा खुल्ने उनको प्रिय मन आज बन्द थियो । उनका ति मुस्कानहरू थाती राखिएका थिए । म ग्वाँच उनलाई cheer up गर्नुको सट्टा झन् आगोमा घिउ थप्दै थिएँ । सानो सानो कुरा ख्याल छैन, पिरतीका ठुला ठुला गुड्डी हाँक्ने म । मेरो कोसिस र intension त जहिले सुन्दर भन्दा पनि सुन्दर प्रेम र खुशी कै बहार ल्याउने हो, तर कहाँ चिप्लिन पुग्छु पुग्छु । क्षमा, मैले बिराएँ ।

साँझ बिते पछि उनको प्रेमिल भावनाले सजिएको टेक्स्ट आएको थियो । रागले भरिएको । मैले टेक्स्टमै भनेको थिएँ “aaja maya rom rom, ma ta kata jom jom” । उनी हाँस्दै थिईन् । अनि मैले reply-भावना पनि लेखेको थिएँ । उनको ट्वीट थियो त्यो । उनको वालमा हेर्छु । उहाँले लेख्नु भएको थियो “... स्याहार ...” । मैले मेरो reply-भावना भने उनलाई send गर्न सकिन । पठाउनलाई मन अप्ठ्यारो मान्दै थियो । सोँच्दै थिएँ ‘भोलि फोनमा सुनाउँछु’ ॥

(पौष १३, मध्यरात) छटपटी र बेचैनिले निदाउन नसकेको म, उठेर यति कोरिसकेपछी भने मन हल्का भएको थियो ।

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न