ब्याक रूम

| ब्याक् रूम् |

हामी रेस्टुरेन्ट पुग्छौँ । खाना अर्डर गर्छौँ । अनि खाना आउन्जेल गफिँदै बस्छौँ । हामी एउटा टेबलमा आमने सामने भई बसेका हुन्छौँ । हामी बाहेक त्यहाँ अरू कोहि कस्टमर थिएनन् । साजसज्जा पूर्ण त्यो ठुलो डाइनिङ् हलमा, सिर्फ उनी र म थियौँ । बिरलै हुने यस्तो प्राइभेसिको बेग्लै मजा आइरहेको थियो । उनी भन्छिन् "कस्तो राम्रो रै'छ नि, मलाई त कस्तो मन पर्‍यो" ! म भन्छु "अब रानीलाई जस्तो पायो त्यस्तो ठाउँमा ल्याउने कुरै भएन नि" ? उनी कटाक्ष गर्दै भन्दै थिइन् "उम्, है" ? म थप्छु "रानी-सा हौ नि त, थोरै हदसम्म भएपनि ठाउँ त रोयल हुनु पर्‍यो नि" । उनी हाँस्छिन् । म उनलाई एकोहोरो हेरिरहेको हुन्छु । उनी मुस्काउँदै भन्छिन् “के हेरेको के त्यसरी” ? म भन्छु “तिमीलाई हेरेको नि ! के साह्रो राम्री हो के तिमी” ? उनी अनुहार बनाउँदै भन्छिन् “होला होला” ! उनी मलाई हेर्दै भन्छिन् “के हो तपाईंको अनुहार त ग्लो भइरहेको छ त” ? म भन्छु “हुन सक्छ, मेरो माइन्ड एकदम क्लियर जस्तो भएको छ, आइ फील गूड” ! उनी भन्छिन् “उम् त्यस्तो हुन्छ नी” । उनले हाम्रो रसिक लिला तर्फ सङ्केत गरेकी हुन्छिन् । यो त्यसकै असर हो या के हो, त्यो त म जान्दिन । केहि हदसम्म होला पनि । तर हामी बिच जहिले एउटा अनौठो लाइन वा ब्यारियर रहेको जस्तो महसुस भइरहने मलाई, त्यो असहजपन केहि हदसम्म भए पनि कम भयो कि भन्ने कुराले मलाई आनन्द दिएको थियो । एक कदम अझ उनको नजिक पुगेको महसुस गर्दै थिएँ । मनमा त धेरै नै प्रश्नहरुको ज्वारभाटा चलिरहेको थियो । तर यि कुराहरूमा अल्झिने समय थिएन । उनी सँगको, सोँच्दै नसोचेको, अप्रत्यासित यो मिठो भेटलाई भरपुर रमाइलो र यादगार बनाउनु थियो । उनलाई कुनै पनि हालतमा बोर नलागोस् र उनलाई झर्को लगाउने, रिस उठाउने काम त झन् हुँदै नहोस् । म उनलाई मेरो बेस्ट पक्ष दिन चाहन्थेँ ॥

खाना आइ पुग्नु भन्दा अगाडिको कुराकानीमा, “आइ हेट यु” चाहिँ उनले मात्र भन्न पाउने, मैले भन्न नपाउने कुरा गरेकी थिइन् । यानिकी उनले जे भन्न पनि पाउने कुरा गरेकी थिइन् । मैले भनेको थिएँ “कहिलेकाहिँ मैले बिर्सेर केहि त्यस्तो भनि हालेँ भने पनि नरिसाउ है, बरु सम्झाउ मलाई” । उनले जवाफमा के भनिन्, मलाई सम्झना छैन । म मनमनै सोँच्दै थिएँ 'त्यसो भए के हामी जुनसुकै बिषयमा पनि खुलेर बहस गर्न सक्छौँ' । यो मेरो सधैको चासो हो । जुन अहिलेसम्मै थाति छ । उनी सोध्छिन् “तपाईंले अघि नेट (amount) भनेर किन सोध्नु भएको” ? म भन्छु “पछि यिनीहरू सर्विस चार्ज र भ्याट जोडेर पैसा धेरै लिन्छन् नि त, त्यसैले” । उनी भन्छिन् “जे भए नी अनि, खानु अगाडि नै किन price सोध्नु पर्‍याे त” ? म भन्छु “सोध्नु पर्‍यो नी; बेरोजगार छु, आफ्नो गोजीमा भएको भन्दा धेरै पर्न गयो भने त bad हुन्छ नि” । उनी सहमतिको हाँसो हाँस्छिन् । उनको फोन निकै नै बजिरहेको हुन्छ । घरि text, घरि कलहरू आइरहेका हुन्छन् । म उनलाई जिस्काउँदै भन्छु “मेरो त आनन्द छ, फोन पनि बज्दैन” । उनी आफ्नो मोबाइलबाट आँखा हटाएर पुलुक्क मलाई हेर्छिन् । उनी भन्छिन् “अरु बेला त मेरो पनि यति सारो बज्ने त होइन, अहिले म बाटोमै छु नी, destinationमा पुगिसकेकी छैन नि, त्यसैले” । म भन्छु “माया गर्नेहरू धेरै हुनु भएपछि यस्तै हो” । मोबाइलमा आएको टेक्स्ट्को रिप्लाई गर्दै उनी भन्छिन् “है, खुबै” । म भन्छु “हो त, अनि” ॥
खाना आइपुग्छ । म एउटा चम्चा हातमा लिई टिस्स्यु पेपरले पुछ्छु । उनी मलाई हेरिरहेकी रहिछन् । उनी पनि आफ्नो हातमा चम्चा लिन्छिन् र पुछ्दै भन्छिन् “स्वार्थी मान्छे भनेर बल्ल थाहा पाइयो” । मेरो मन चिसो हुन्छ । सोँच्छु ‘ल जा ! अब फेरि के गर्न मरेछु’ ? कान चनाखो बन्छन् । म सानो स्वरमा सोध्छु “किन” ? उनी भन्छिन् “आफ्नो लागी मात्र चम्चा पुछ्ने, मेरो लागि चाहिँ छैन” । सुनेर मनको चिसोपन अलि कम हुन्छ । म भन्छु “ओ हो ! त्यसो गर्नु पर्छ भन्ने त दिमाग मै आएन नी, अर्को पटक सम्झेर गर्छु है त” । उनी हाँस्दै भन्छिन् “हस्” । चम्चाले दाल चलाउदैँ उनी भन्छिन् “एउटा कुरा भन्छु है, मान्ने भए” । केहि विशेष कुरा हो कि भनि, म चनाखो भएको हुन्छु । उनी भन्छिन् “यो खानाको बिल चाहिँ म दिन्छु है” ! म सहजै भन्छु “हुन्छ, भईहाल्छ नि” । उनी थप्छिन् “साँच्चै हो” ? म भन्छु “मलाई त त्यस्तो केहि लाग्दैन, जसले दिए पनि त हुन्छ नि” । उनी सहि थाप्छीन् । म जिस्काउँछु “णाईस रूमको पैसा पनि दिन्छौ कि” ? उनी भन्छिन् “म त दिन्छु, साँच्चै हो, लिनुहुन्छ” । म भन्छु “त्यो म कहाँ लिन्छु त नी” ? उनी “है” मात्र भन्छिन् । म फेरि भन्छु “तर यसपालिको बसाइमा सबै म गर्छु नी हुन्न ? बरु तिमी अर्को पाली ...” । उनी बिचमै भन्छिन् “नाइँ हुँदैन” । म पनि "ठिकै छ" भनि सहमति जनाउँछु । मनमनै भने 'मान्ने भए' अप्सनको तुक खोज्दै थिएँ । खाना स्वादिलो थियो । हामी गफको तालमा बिस्तारै खाना खान्छौँ । उनी राज्मा खादिनन् । त्यसैले त्यसलाई चोखो नै राखेर वेटरसँगै फिर्ता पठाई दिन्छिन् । निस्कने बेला ढोका खोल्दा मैले खुट्टाले धकेलेर खोल्न खोज्छु । उनी त्यता होइन यता भन्दै तानेर खोल्छिन् । मेरो हातमा कुनै झोला/सामान थिएन । सबै leg guard मा झुन्ड्याएको थिएँ । मलाई आफु रित्तो हात हुदाँ कस्तो कस्तो लागेकोले उनीलाई भनेको थिएँ । उनी भन्छिन् “सबै यहीँ त छन् अनि” ॥

हामी पार्कको लागि रवाना हुन्छौँ । फूटपाथबाट जाँदै गर्दा उनी भन्छिन् "ट्राफिकले केहि गर्दैन" ? म भन्छु "गर्दैन" ! अगाडि निर बाटो क्रस गरेर हामी आफ्नो लेनमा पुग्छौँ । फूटपाथ अंशको रहस्योद्घाटन भए झैँ उनी भन्छिन् "यस्तो पो हो कुरा" । दोबाटो निर आइ पुग्दा उनी पछाडीबाट मलाई हेर्दै भन्छिन् “तपाईं त्यस्तो फोटोमा देखिएको जस्तो ख्याउटे त होइन रै’छ है” ! मैले खुसीले मेरो कुहिनोलाई भी आकारमा बनाई मुठ्ठीलाई पछाडी तान्दै “यस” भनेको थिएँ । बाटोमा पर्ने खोला हेर्दै उनी भन्छिन् “खोला त सानो छ, पुल यति ठुलो” । अलिकती अगाडि पुग्दा पुरै खोला देखिसके पछि फेरि भन्छिन् “ए यता पट्टि पो ठुलो रै’छ” ! मैले हामी जादैँ गरेको बाटो देखाउँदै भन्छु “मेरो घर जाने बाटो पनि यहि हो नी” । उनी भन्छिन् “तपाईंको घर पुगेर ममीलाई दर्शन गरेर आउने हो कि” ? म भन्छु “म त रेडी, जाने हो” । उनी बस् हाँस्छिन् ॥
हामी पार्कमा पुग्छौँ । अलि उचाइमा रहेको यो पार्क देखी शहर आधा भन्दा धेरै देख्न सकिन्थ्यो । तर धुलो र धुँवाको तुवाँलोले शहर ढाकेको थियो । उनी भन्छिन् “यो सधै यस्तै हो, कि सफा पनि हुन्छ” ? म भन्छु “शहर हेर्नलाई त मज्जाले पानी परेपछिको समय नै राम्रो हुँदो रै’छ” । हामी पार्कको चौतारीको एक छेउमा उभिएर गफ गर्दै, दृश्यावलोकन गरि रहेका हुन्छौँ । म घरिघरि उनलाई हेरिरहन्छु । गहिरो गरी हेर्छु । उनी हाँसेको बेला उनको दाँतमा हरियो केहि लागेको जस्तो देख्छु । म भन्छु “खोइ तिम्रो दाँत देखाऊ त” । उनी नाइँ भन्दै हातले मुख छोप्छिन् । मैले एक दुइ पटक “देखाउ न” भन्दै अनुरोध गर्छु । उनी मान्दै मान्दिनन् । अलि नरमाइलो लाग्छ । डिस्टेन्ट फील हुन्छ । उनी भन्छिन् “मेरो दाँत त्यस्तै हो, कहिले जाँदैन त्यो” । म भन्छु “हो त्यै त हेर्छु भनेको नी, देखाउ न” । उनी नदेखाउने कुरामै अडिग रहन्छिन् । देखाउँदिनन् । पार्कमा आउँदै गरेकी एउटी चेली देखेर उनी भन्छिन् "यो फेस त मैले चिनेको जस्तै पो लाग्यो" । म भन्छु "होर" ? उनी फेरि भन्छिन् "तर होइन रै'छ, तैपनि कस्तो उस्तै पो है'छ त" । म भन्छु "चेहरा मिल्ने सात मध्येको एक होला नि" । उनी "होला होला" भन्दै टाउको हल्लाउँछिन् ॥
हामी चौतारीमा बस्छौँ । तर त्यहाँ त रुखबाट झुसिलकीराहरू खस्दो रै’छ । हामी एकअर्काको कपडाबाट किरा हटाउथ्यौँ । उनी मेरो बाँयापट्टि बसेकी हुन्छिन् । म भन्छु "तिमीले अघि मलाई दुख्छ भन्थ्यौ, अहिले पो दुख्दै छ" । दुखाई लडेर छालामा स्क्य्राचेजहरू आउँदा हुने दुखाई जस्तो थियो । ख्याल गर्दा वा इनर वेयरसँग टच हुदाँ मात्र दुखाई फील हुन्थ्यो । उनी भन्छिन् "मैले भन्या त हो नि" ॥ उनको नजर मेरो हातको key-ringमा पर्छ । उनी कि-रिङ्ग आफ्नो हातमा लिएर “के हो यस्तो यो, गोली हान्ने हो क्या ?” भन्दै त्यसमा रहेको AK-47 बन्दुक आकारको सानो नमुनाले निसाना लगाए जस्तो गर्छिन् । म भन्छु “उम् अझ मान्छे पनि ढल्दिरा’को रे क्या” ! हामी एकसाथ हाँस्छौं । म प्रसङ्ग बदलेर भन्छु “घरमा बिहेको कुरा चलिरा’को थियो नि मेरो" । उनी भन्छिन् "होर" ? म भन्छु "म केहि दिन अगाडि देखिनै तिमीलाई सुनाउँछु भनेको, हाम्रो राम्रोसँग कुरा हुनै पाएकै थिएन” । उनी मेरो कुममा टाउको अड्याउँदै विस्मित् स्वरमा हल्का मुस्काउँदै भन्छिन् "लौ मलाई पो टेन्सन हुन थाल्यो अब” ! म प्रत्युत्तरमा भन्छु “तर मैले गर्दिन भनेको छु” । केहि बेर मौनता छाउँछ । उनी मलाई मायालु नजरले हेर्दै भन्छिन् “तपाईं अब मोटाउनु है, यो गालाको खाल्डा पुर्नु” । म भन्छु “गाह्रै छ के मोटाउन त, एक्लै हुदाँ longing मात्र भइ रहन्छ, अब त फेरि तिमीसँग कहिले होला भेट भन्ने दिमागमा आइरहन्छ” । उनी आफ्नो हातको घडी हेर्दै सोध्छिन् “यहाँ देखी बसस्टप पुग्न कति समय लाग्छ” । म भन्छु “दश मिनेट” । उनी भन्छिन् “ए त्यसो भए त फोन आए पछि जाँदा पनि हुने रै’छ” । हामी त्यहाँबाट हिड्दै गर्दा उनको curvy नितम्बमा एउटा झुसिलकिरा देख्छु । मैले उनको हातको कि-रिङ्ग माग्छु र त्यसैको सहायताले किरा फ्याँक्छु किनकी अघि हातले फाल्ने हुँदा किराको झुस लागेर मेरो औँला चिलिएको थियो । ओरालो झर्दै गर्दा पनि उनले कति धेरै कीराहरू हो भन्दै मेरो ज्याकेटबाट एउटा अर्को किरा हटाइ दिन्छिन् । म भन्छु “खोइ आउने बेला हेर्न त राम्रैसँग हेरेको हो” । “हेर्न त मैले पनि राम्ररी नै हेरको हो नी” उनी भन्छिन् । साँघुरो गल्ली आउँदै गर्दा म भन्छु “त्यो तिम्रो bag र jacket पछाडी बोकेर बस है । मलाई तिमी मेरो पछाडी टाँसिएर बसेको एक्स्पेरिएन्स गर्न मन छ । उनी केहि नभनी bagलाई साइड बोकी jacketलाई पनि मिलाएर त्यसै गर्छिन् । नजिकै आइ टाँसिएर मेरो काधमा चिउँड़ो अड्याउँदै भन्छिन् “ल भयो अब” ? उनको त्यो न्यानो स्पर्शले म मख्ख हुन्छु । त्यो कोमलपनको आनन्दले मेरो मुखबाट “हैट” निस्कन्छ । उनी भन्छिन् “धेरै हैट हैट मात्र होइन राम्रो सँग चलाउनु नि त्यहाँ” । फर्किदा म उनीलाई मुख्य शहरको मध्य भाग हुदैँ ल्याउँछु । उनी भन्छिन् “म यसरी पछाडी बस्दा, मान्छेले के भन्लान्” ? म भन्छु “के भन्नु र ? couple हो रै’छ भन्ठान्छन् नी” । उनी भन्छिन् “हो, है” ? म भन्छु “मलाई त advantage छ नी, तिम्रो त्यो निधारको टिकाले” । उनी ब्यङ्ग गर्दै जवाफ दिन्छिन् “है, खुब जान्नु भा’छ” । म उनीलाई बाटोमा पर्ने शहरका केहि ल्यान्डमार्कहरू देखाउँदै, बताउँदै हुन्छु । उनी “ए, ए” भन्दै हेर्दै थिईन् । हामी गफैगफमा बस काउन्टर पुग्छौँ । बस आउने समयका बारेमा बुझ्छौँ । हामीसँग केहि समय अझै बाँकी थियो । उनको औषधी किन्नलाई निस्कन्छौँ । केहि स्टोरहरू चाहारियो, कुनैमा पनि नपाए पछि, उनी भन्छिन् “भै’गो म उतै गएर लिउँला” । म भन्छु “एउटा लास्ट् प्लेस् ट्राई गरौँ, हुन्छ” ? उनी सोध्छिन् “कहाँ” ? म अलि पर, राउण्ड्अबाउट भन्दा पनि पर पट्टि बताउँदै भन्छु “उ त्यहाँ sure पाइन्छ, त्यो यहाँको निकै पुरानो र फेमस ड्रग स्टोर हो” । उनी मेरो हातमा पैसा राखिदिदैँ भन्छिन् “तपाईं जानु है” । म भन्छु “पैसा पर्दैन के” । उनी मान्दिनन् । म फेरि भन्छु “म एक्लै जानु, मलाई साथी जादिनौँ” । उनी “ल ल हिड्नु” भन्दै अघि लाग्छिन् । अलिकति अगाडि पुगेपछि उनलाई के दुख दिनु जस्तो लागेर म भन्छु “तिमी यहिँ रोक भो, म गएर आउँछु” । उनी “हुन्छ” भन्दै मलाई औषधीको मात्रा सम्झाउँछिन् । म एक्लै गएर आउँछु । उनी मलाई हेर्दै हुन्छिन् । उनी आफ्नो हातहरूलाई कोखमा च्यापेर उभिएकी थिइन् । निकै मायालु नजरले मलाई हेर्दै थिइन् । मलाई घायल बनाउने गरी । म उनको हातमा औषधी र बाँकी पैसा दिँदै भन्छु "price त ठिकै होलानी होइन" ? उनी खासै चासो नदिए जस्तो गरेर भन्छिन् "उम् ठिकै होला" । औषधीलाई उनको त्यो सानो तर लिमिटलेस समान अटाउने ब्यागमा राख्छिन् । म उनलाई जिस्काउँदै भन्छु “तिमी गएर मोज गर्ने है” ? उनी मलाई हान्न खोजेको जस्तो गर्छिन् । आफ्नो हात घुमाउँदै मुक्का मेरो टाउको तिर ल्याएर लजाए जस्तो मुद्रामा भन्छिन् “मोज रे ! हेर न भनेको” ! म हाँस्छु । हाँसो बिस्मयको खोल जस्तो लाग्थ्यो । सायद केहि सोँचमा परेर होला । हामी फेरि काउन्टर पुग्छौँ । समय भए पनि बस आइपुगेको रहेनछ । हामी उनको लागी पैसा साट्न निस्कन्छौँ । उनी आफ्नो ह्याण्ड ब्यागको सानो बाहिरी पकेटमा हेर्दै भन्छिन् “छ न त, मसँग यसपाली मलाई पुग्ने जति छ नी” । म भन्छु "तिमी थाकेकी छौ यहिँ बस, म साटेर आउँछु” । उनी भन्छिन् “होइन, म पनि जान्छु नी” । म ड्रग स्टोर तिर इशारा गर्दै भन्छु “अनि उता चाहिँ किन नगएकी त” ? उनको मायालु स्वरमा जवाफ आउँछ “त्यो त टाढा थियो नी, यो त यहाँ नजिकै छ अनि” । हामी बाटो पारी जानै लाग्दा केहि यमराजहरू हर्न बजाउँदै आउँछन् । तिन चार वटै ठाउँमा सोध्दा पनि, कहीँ काम बन्दैन । छेउ सम्मै पुगेर सोधी खोजि गर्दा पनि नपाए पछि उनी भन्छिन् “भै’गो छोडिदिनु, तैपनि म सँग अलिअलि त छँदै छ नि, पुगिहाल्छ नि” । म भन्छु “मैले समाएकै कहाँ छु र” ? उनी मलाई हेरेर हाँस्छिन् । हामी अर्को छेउ सम्म पुग्छौँ । उनले फोनमा कसैसँग कुरा गर्दै गर्दा मैले छेवैको एक ठाउँमा सोधी हेर्छु । त्यहाँ काम बन्छ जस्तो लागेर म उनीलाई हातको इशाराले बोलाउँछु । उनी आउँछिन् । त्यहाँको मान्छेलाई आफु सँगको पैसा दिन्छिन् । म भन्छु “जिन्दगीमा हार मान्नु हुन्न भनेको यहि हो” । उनी सोध्छिन् “किन” ? म भन्छु “अघि नै छोडिदिने कुरा भ’को होइन, यदि साँच्चै छोडी दिएको भए, यो सम्भावना त छुट्दो रै’छ नि” । उनी “है” भन्दै मुस्काउँछिन् । त्यहाँको मान्छेले हामीलाई चेन्ज पैसा ल्याएर दिन्छन् । त्यहाँबाट निस्कन्छौँ । उनी पैसा चेक नै नगरी ब्यागमा राख्छिन् । म सोध्छु “गन्नु पर्दैन” । उनी भन्छिन् “उसले दियो त गनेर, मैले किन गन्नु पर्यो” ? म जिल्ल पर्छु । बाटो क्रस गर्ने बेला बाटो खालि देखेर उनी दौडिदै भन्छिन् “ए क्रस गरि हाल्नु, बाटो खाली छ” । त्यसबेला उनले आफ्नो एकजना साथीको सम्झना गरेकी थिइन् । काउन्टर निर पुग्दै गर्दा उनी भन्छिन् “खोइ मेरो गिफ्ट दिनु त” । म उनको लागि ल्याएको पोको निकालेर उनलाई दिन्छु ॥

बस लाग्ने ठाउँमा बस आइपुग्छ । हामी ब्यागहरू बोक्छौँ । उनी बस चढ्छिन् । उनको लगेज ब्याग बसको छतमा चढाएर म उनीलाई बस भित्र गइ बताउँछु । उनी सहयात्रीसँगै त्यो पुरानो बसको कन्जस्टेड सीटमा बसेकी हुन्छिन् । माया लागेर आउँछ । जस्तो पनि सहेर सफर गर्ने कति सहना उनी । बस जस्तो भएनी सीटहरू त अलि आरामदायी भइदिए हुने नी जस्तो लाग्छ । तर मैले गर्न सक्ने केहि थिएन । मन नरमाइलो मान्छ । सानो बसमा धेरै सीटहरू राखिएकोले दुइ सीट बिचको खालि ठाउँ निकै थोरै मात्र हुन्छ । यस्तोमा घुँडा ठोक्दै यात्रा गर्नुपर्ने बाध्यता देखेर दुख लागेर आउँछ । उनी मायालु नजरले मलाई हेर्दै थिइन् । मेरा आँखा मलिन भएका थिए । गहमा आँसु आउन खोज्दै थियो, म बसबाट ओर्लिन्छु । मन भारी भएको थियो । छुटिने पल उनीसँगै जाउँ कि त जस्तो लाग्दै थियो । म उनलाई कतै बिरान ठाउँमा एक्लै पठाउँदै छु जस्तो लाग्दै थियो । उनलाई एक्लै नछोडुँ, उनको सारथी बनि सँगै जाउँ जस्तो लागेको थियो । तर छुटिनु त थियो नै । अर्को पटक भेट हुनकै लागि भएनि छुट्न पर्दो रहेछ । भौतिक दुरि टार्न सक्दैनथ्यौँ । सधै साथ हुन प्रकृतिलाई मन्जुर थिएन । मैले बल गरेर हुने कुरै भएन । अब मसँग बाँकी थियो त बस् उनको सम्झना । उनीसँग बिताएका ति क्षणहरू चलचित्र जस्तै दिमागमा चल्दै थिए । बिदा भइ हाल्न मन मानेको थिएन । यो मनलाई उनी चाहिन्छ । मेरी उनी । एकै पल पनि उनको झल्को बिना रहन सक्दैन यो मन । मैले बाइक स्टार्ट गरेर थोरै मात्र अगाडि निस्कदा उनले बस भित्रबाट फोन गर्छिन् । उनी भन्छिन् “कहाँ जाने तपाईं अब” ? म भन्छु “साथीलाई फोन गरेको, उ आइपुगेको छ रे, म उसैलाई भेट्न जान्छु” । उनी भन्छिन् “ल ल जानु जानु, म पनि जान्छु है” । भन्न मन त थियो 'नजाउ भो, यतै देखी मेरो घर जाउँ हिँड' । तर त्यो एउटा दिवा स्वप्न मात्र हुन सक्थ्यो । म भन्छु “फील गुड गर्दै जाउ है त, आनन्द” । उनी हाँस्दै थिइन् । हाँसोमा दर्द महसुस गर्दै थिएँ । छुटिनु पर्दाको पीडा मिसिएको होला । उनको बस अझै गुडिसकेको थिएन । म भने निस्कन्छु । उनलाई छोडी मात्र उनको सम्झना बोकेर । बाँकी समय धान्ने गरी यादहरू सङ्गालेर । विधातालाई मन्जुर भएछ भने, यस्तै प्रेमील पलहरू फेरि फेरि पनि दोहोऱ्याउने आशमा ॥

म साथिहरूसँग बसिरहेको बेला उनले फोन गर्छिन् । भन्दै थिइन् "म गएँ है, बस हिँड्यो अब" । म सोध्छु "फर्कायो बसले" ? उनी भन्छिन् "फर्काएन नि, अघि आएकै बाटो लैजाँदै छ" । म भन्छु "त्यस्तो त नहुनु पर्ने, there is only one way, की हामी गलत गाडीमा ..." ? उनी तत्कालै भन्छिन् "ए, फर्कायो फर्कायो, फर्काउनलाई अगाडि ग'को रै'छ" । म भन्दै थिएँ "त्यै त" ! 

मलाई अत्यन्त सुन्दर लाग्छन्, ति पलहरू । ति अवर्णनीय पलहरू । उनी साथै हुँदाको आनन्द कुनै शब्दले बताउन सक्दैनन् । उनीसँग सँगै यताउता हिड्दाको त्यो समय मलाई निकै अद्भुत लाग्दछ । त्यो पल नै त्यहि रोकी दिउँ जस्तो । सधै उनको समिपमा भइ रहुँ जस्तो । म सम्झन्छु ति क्षणहरू ; हामी कुरागर्दै हिँडेको, घरि औषधी खोज्दै, घरि पैसा साट्ने ठाउँ खोज्दै । म सम्झन्छु दौडिदै बाटो क्रस गरेको, उनले मलाई 'मोज है' भन्दै हान्न खोजेको । उनले 'त्यो गिफ्टको पोको दिनु त' भनेको । फेरि उनीसँग कहिले सँगै हुन पाउँला भन्ने लागिरहन्छ । उनीसँग त्यहाँ हुँदाका क्षणहरू अहिले सम्झिदा पनि उत्तिकै आनन्द लाग्छ । उनको शालिन व्यवहार, मलाई हेर्ने उनका मायालु नजर । म बिर्सन चाहन्न ति सुन्दर पलहरू । बिर्सन सक्दिन उनको शक्ति । उनको त्यो सुन्दर मन । मलाई माया गर्ने मन । लाग्थ्यो हामी एकअर्कालाई बर्षौं बर्ष देखि चिन्दछौँ जान्दछौँ । आफुलाई भन्दा बढी एकअर्कालाई बुझ्दछौँ ॥

(पौष ९)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न