फ्रन्ट रूम

| फ्रन्ट् रूम् |

हिउँद मासका सुरुवाती दिनहरू । दिउसो गर्मीले पसीना बग्ने भए पनि, बिहान साँझ भने राम्रै चिसो हुन थालेको छ । अझ बिहानी पखको चिसो हावाले जाडो मासलाई झन् सघाउ पुर्‍याएको हुन्छ । चाडपर्वहरू सकिई सकेको बेला छ । शहर आफ्नै धुनमा मस्त छ । पर्वहरूको रमाइलो मनमा राख्दै मानिसहरू आ-आफ्नो गन्तव्य तर्फ जाने आउने क्रम अझै पनि चल्दै छ । काममा फर्किनेहरूको घुइँचो छ । बुढाबुढी, केटाकेटी, युवायुवती, किशोरकिशोरी सबै आ-आफ्नो मेसोमा । आफ्नो जिन्दगीको ठेला धकेल्दै । जिन्दगीको दौडमा दौडिदैँ । यहि शहरको एउटा पात्र, म । प्रकृतिले दिएको भुमिका सक्दो पुरा गर्दै गर्दै, जिन्दगीको भागमभागमा सहभागी छु । मेरो पात्रलाई मैले कति न्याय गर्न सकेँ वा सकिन ? के कति पुण्य वा पाप ? त्यो त म जान्दिन । तर जे जति गर्दै छु, राम्रै गरेको छु, भन्ने लाग्छ । किनकी जे गर्छु, मनले गर्छु ॥
उनीसँग बिताएका अनुपम पलहरू सबै लेख्ने मन हुन्छ । ति स्वर्णिम पलहरूलाई पानामा उतार्ने मन हुन्छ । यो कार्य आजै सक्ने मन हुन्छ । भोलि फेरि बिर्सिएर कुनै कुरा छुट्ने पो हो कि ? सबै कुराहरू समेटी, केहि पनि नछोडी, सम्झनाको एउटा दस्ताबेज नै बनाउने मन हुन्छ । अझ सिलसिला मिलाएर लेख्न सके झन् कति राम्रो हुन्थ्यो होला ? तर केहि लेख्न सक्दिन । कहाँबाट सुरु गर्नु केहि मेसो पाउँदिन । सबै कुराहरू एकै पटक ओइरो लाग्छन् । कसरी छाट्नु ? कसरी मिलाउनु ? कसरी पानामा उतार्नु ? मुख्य कुरा, यि भावना र महासुसताहरूलाई कसरी शब्दमा ढाल्नु ? सबै गन्जागोल भैदिन्छ । निकै थोरै कुराहरू मात्र शब्दमा अटाए जस्तो लाग्छ । कलात्मक शब्द रस आउनु त परको कुरा । मैले मज्जाले लेख्न जान्ने हुने कहिले ?

बिहान ५:२५ मा उनको म्यासेज आउँछ । म होटल रूममा हुन्छु । अर्ध निद्रा जस्तोमै हुन्छु किनकि अघिल्लो रात, हाम्रो अलिअलि ठाकठुक परेको थियो । खासै राम्ररी निदाउन सकेको थिइन । कस्तो बेला आएर मैले, फेरि war सृजना गर्न पुगेँ भन्ने पश्चाताप परेको थियो । खै किन ? थाहा छैन । म होटल आएको कुराले उनी निकै नै रिसाएकी थिइन् । मैले केहि भन्न सकेको थिइन । यो जाडोमा उनलाई सजिलो र आराम होस् भनेर नै यसो गर्न पुगेको थिएँ । अर्ध निद्रामै म्यासेज पढ्छु । मलाई त, उनले हिजो भनेको कुरा सम्झिदाँ, उनले यहाँ आइपुगे पछि पनि सायद फोन त के म्यासेज पनि गर्दिनन् होला जस्तो लागेको थियो । जे भए पनि ६ बजे तिर चाहिँ, म आफै फोन गर्छु भनी सोँचेको थिएँ । उनी भेट्न राजि भए भेटौँला नभए सम्झना बोकेर होइन कि, आँसु लिई घर फिर्ता । 'Better luck next time, you moron' म आफैलाई कोस्तै थिएँ । उनको म्यासेजमा लेखिएको थियो “म तपाईंको शहर आइपुगेँ” । धन्न म्यासेज सम्म भएनी आएछ भन्ने लाग्यो । मख्ख परेँ । मनमा अलिअलि डर त थियो नै । के भन्ने हुन् ? अझै रिसमै पो छिन् कि त ? जस्तो लागेको थियो । तैपनि मैले तत्कालै फोन गरेँ । मैले कतिबेला आइपुग्यौ भन्दा, झन्डै एक घण्टा जति भो भन्दै थिईन् । अनि किन फोन नगरेको त भन्दा गर्न मन नलागेर म्यासेज भए नी गर्छु भनेर गरेको भन्दै थिईन् । त्यो पल, मन अमिलो भएको थियो । ‘म होटलमा नआएको भए हुने नी, कमसेकम यस्तो गरी त भेट्नु पर्दैन थियो, मायालु पाराले भेट्न पाइन्थ्यो’ भन्ने कुराले टाउको हानि रह्यो । उनले के पो भन्ने हुन् भन्ने मनमा लाग्दा लाग्दै म सोध्छु “के म आउन मिल्छ” ? उनको चिसो जवाफ थियो “आपकी मर्जी” ! मन खिन्न भएको थियो । उनी खुशी होलिन् भनेको, झनै मैले आफ्नै नकामले उनलाई दुखि बनाएको थिएँ । मैले “ल म एकैछिनमा आइपुग्छु है” भनि फोन राख्छु । हतार हतार दाँत माझ्छु, न्यानो कपडा लगाउँछु र बाहिर निस्किन्छु । होटलको स्टाफ उठीसकेका थिएनन्, एकैछिन् त्यहीँ अल्मलिनु  पर्‍यो । उनी आएको खुशी पनि थियो । हिजोको ठाकठुकको असरबाट पनि दिमाग बाहिर आइसकेको थिएन । उनलाई फोन गर्दा पनि मैले खुलेर कुरा गर्न सकेको थिइन । भेटघाट सौहार्दपूर्ण होला नहोला, के कति सहज असहज, कस्तो हुने होला भन्ने कुराले जरो गाडेको थियो । मन भने बेचैन थियो, उनलाई देख्न, उनलाई भेट्न, उनलाई हेर्न, केहि पल भएपनी उनीसँग सँगै बिताउन ॥

रात अझै बाँकी नै थियो । उज्यालो भइसकेको थिएन । म बस स्टेशन पुग्छु । अँध्यारोमा उनलाई ठम्म्याउन नसके पछि फोन गर्छु । उनी एउटा चिया स्टलको छेउमा एकजना सहयात्रीसँग बसिरहेकी थिइन् । म उनलाई “हेलो” भन्दै छेवैको अर्को बेन्चमा गइ बस्छु । रातो ओपन हूड़ी ज्याकेट, creamy खैरो हाइनेक, हल्का कालो ट्राउजर-प्यान्ट र हरियो स्पोर्ट्स जुत्तामा सजिएकी थिइन् उनी । ठिक्क कद-काठी भएकी उनको, निकै छरितो ज्यान थियो । अनुहारको दिव्यता उस्तै झल्किरहेको थियो । मधुरो प्रकाशमा पनि म उनलाई खुब निहार्छु । उनी असाध्यै सुन्दर र मायालु थिइन् । उनी चिया अर्डर गर्छिन् । मलाई “पिउने हो” भनि सोधेकी थिइन् । मेरो जवाफ थियो “नाइँ, नपिउने म” । चिसो हावा चलिरहेको थियो । निकै जाडो फील भईरहेको थियो । त्यहाँ बसिरहँदा घुँडाहरूमा चिसो लागेको थियो । उनी बेन्चमा दुई हातले टेकी खुट्टाहरू हल्लाउँदै बसेकी थिइन् । म उनलाई हेर्दै बसी रहन्छु । यस्तो जाडोमा पनि उनले आफ्नो टाउको छोपेकी थिइनन् । उनलाई हेल्मेट लगाउ भनुँ कि जस्तो लागेको थियो तर भन्नु जस्तो थिएन । बेलाबेला उनी आफ्नो मोबाइल हेर्दै हुन्छिन् । सायद केहि टेक्स्टहरू गरेकी होलिन् । सहयात्री सँगको गफमा पनि हुन्छिन् । बेलाबेला केहि कलहरूमा पनि बोल्दै हुन्छिन् । दुवैजना शौचालय जाँदा सहयात्रीले भन्दै थिइन् "मेरो ब्याग पनि हेरिदिनु होला है, आफ्नो साथीको मात्र हेर्नुहोला नि फेरि" ! बिस्तारै उज्यालो हुँदै आउँछ । म चिया स्टल साइडको रुखको आडैमा उभिएको हुन्छु । घाम लाग्छ । उनी म भए तिर आउँछिन् । मेरो मनमा खुसियाली छाउँछ । उनी मेरो ठिक सामुन्नेको बेन्चमा बस्छिन् । म उनलाई हेर्छु । बिछट्टै राम्री पाउँछु । उनलाई तस्बिरहरूमा हेर्दा, मेरो दिमागमा बनेको इमेज भन्दा बिल्कुल अलग पाउँछु । कैयन गुणा राम्री । उनको शेप-साइज पनि तस्बिर र भिडियोमा भन्दा फरक देख्छु । फोटोमा हेर्दा उनलाई हिउज एण्ड हेभी देख्ने मेरा आँखा, प्रत्यक्ष भने गुडिया जस्तै लाग्छ । अति नै क्युट् । मलाई लाग्थ्यो; she easily would take care of me ! तर अहिले उनलाई प्रत्यक्ष देखे पछि लाग्यो; no, I should take very good care of her ! She is so tender ! उनले आफुले आफुलाई भन्ने गरेको जस्तो मोटी पनि थिइनन् । निकै मिलेको, पर्फेक्ट ज्यान थियो उनको । एकदम ठिक्क । न कम न बेसि । मेरो निम्ति त झनै पर्फेक्ट । अत्यन्तै सुन्दरी । साँच्चै नै रानी । म भन्छु “कति राम्री हौ के तिमी” ? उनी हाँस्दै भन्छिन् “है, होला खुबै” ? उनी मलाई हेर्दै भन्छिन् "तपाईं त्यस्तो पातलो त हुनुहुन्न त" । म भन्छु "बाक्लो कपडा लगाएकोले त्यस्तो देखिएको हो" । म मेरो ओवर-ज्याकेट खोल्दै भन्छु "ल, हेर इ" । उनी हाँस्दै भन्छिन् "उम् अहिले चाहिँ पातलो लाग्यो" । मुखमा घाम परेकोले उनी आँखा माथि पाली गाँसेर कुरा गरिरहेकी थिइन् । म उनको अनुहारमा परेको घाम छेकिने गरी अर्को पट्टि गई उभिन्छु । हामी धेरै बेरसम्म कुराकानीमा मस्त हुन्छौँ । मैले उनलाई जिस्काउँदै भनेको थिएँ “तिमी किन यहाँ झरेकी त, सिधै जान्छु भनेकी होइन” ? उनले हाँस्दै भनेकी थिइन् "गाडी नै यहाँ भन्दा उता गएन" ।

काउन्टर खुलिसके पछि, म उनको ठुलो लगेज ब्याग बोक्छु । सानो चाहिँ उनी समाउँछिन् । ब्याग उठाउँदै गर्दा म भन्छु “ओहो, के सारो भारी हो” ? उनी मेरो हातबाट ब्याग खोस्न खोज्दै भन्छिन् “पर्दैन तपाईंले बोक्न, म आफै बोक्छु” । म अचम्म मान्दै मनमनै भन्छु ‘it was just a joke, and I will carry it even if I have to carry on the shoulders’ ! तर मुखबाट एक शब्द निस्कदैँन । ति सहयात्रीले आफ्नो ट्रली ब्याग घिसार्दै भनेकी थिइन् "मेरो पनि ब्याग बोकि दिने कोही साथी हुनु नी यहाँ" ! हामी ब्यागहरू काउन्टर भित्र राख्छौँ । उनी बसको समय तालिका बारे बुझ्दछिन् । सहयात्रीसँग बिदा माग्छिन् । हामी त्यहाँबाट निस्कन्छौँ ॥
पहिलो pressमा मोटरबाइक स्टार्ट हुन मान्दैन । उनी हाँस्छिन् । मैले ‘यसलाई चिसो भएछ’ भनि सहज हुन खोज्छु । उनी भन्छिन् “कहाँ जाने हामी” ? म भन्छु “म तिमीलाई सिधा मन्दिर लैजान्छु” । उनी “हस्” भन्दै पछाडी बस्छिन् । बाटोमा भन्दै थिइन् “हेर्नु त, तपाईंको बाइक पनि लक्की रै'छ, बसेँ नि म” ! म भन्छु “उम् लक्की रै’छ नि, तिमीलाई एकदिन पछाडी बसाउने ठुलो चाहना थियो, आज पुरा भयो” । उनी भन्छिन् “बधाई छ, तपाईंलाई” । म भन्छु “खोइ हात देउ तिम्रो” । यसरी हात समाउन माग्दा के भन्ने हुन् भन्ने लागेको थियो । नदिने पो हुन् कि ? जस्तो लागेको थियो । तर केहि नभनी सहजै उनी आफ्नो देब्रे हात अगाडि ल्याउँछिन् । म गदगद हुन्छु । उनको हात समाउँछु । उनको न्यानो र नरम हात समाउँदा, उनको मनको निकै करिब पुगेको महसुस गरेको थिएँ । उनको हात सधै यसै गरि समाई रहूँ, कहिले नछोडौँ जस्तो लागेको थियो । म घरि उनको हात र घरि ह्याण्डल समाउँदै थिएँ । एकपटक म जानीजानी उनको थाई समाउँछु । उनी झर्किदैँ भन्छिन् “कहाँ समाएको” ? म बाहाना पार्दै भन्छु “तिम्रो हात जस्तै लागेको के, मलाई” । उनी कराउँछिन् “लाग्छ, हात जस्तो” ? हामी आफ्नै गतिमा हुन्छौँ । गफिँदै हुन्छौँ । मन्दिर आउनै लाग्दा उनी भन्छिन् “तपाईंको ममीले अहिले हामीलाई देखेर, अनि घर पुगे पछि सोध्नु भयो भने के गर्नु हुन्छ” ? म भन्छु “अब, आउने बेला नै ‘म तिमीलाई भेट्न जाँदै छु’ भनेर हिड्ने कुरा भएन, तर पछि सोध्नु भयो भने त म ‘उम् हो, भेट्न गएको थिएँ’ भन्छु” । उनी हाँस्छिन् ।
मन्दिरको पार्किङमा बाइकको नं. हेर्दै उनी भन्छिन् "अड इभन चलेको छैन यहाँ ? ए हाम्रो त इभन र रै'छ ।"

मन्दिरको सिँडी उक्लिदै गर्दा, म झसङ्ग हुन्छु । मेरो फाइबर झोलामा बाँदरले पछाडीबाट हमला गरेको थियो । ब्याग हल्का च्यातिएको थियो । सामान खस्नबाट जोगाउन अब तलबाट पनि समाउनु पर्ने भएको थियो । मैले उनलाई बिहान चाहिएला भनि ल्याएको टुथ् ब्रस भुइँमा खसेछ । उनी भन्छिन् “खस्यो यो” । उनी टिप्न खोज्छिन् । म भन्छु “भै’गो छोडिदेउ” । मनमनै सोँच्छु, अब त्यसको के काम ?
हामी त्यहाँको एउटा बस्ने स्थानमा झोला राख्छौँ । उनी उभिएकी हुन्छिन् । म भने बस्छु । बस्ने ठाउँ पनि निकै चिसो थियो । चिसो हावा चलिरहेको थियो । म उनको हात समाउँछु । मायालुपनको महसुस गर्छु । न्यानो हातको स्पर्शमा हराउँछु । उनी छेवैमा बसेपछि उनको ढाड सुम्सुम्याउँछु । उनी सोध्छिन् “के गर्‍या यो” ? म भन्छु “फील गरेको नि तिमीलाई” । उनी भन्छिन् “यसरी हुन्छ फील” ? म अकमक्क पर्छु । केहि बोल्न आउँदैन । चिसो सिरेटोले धेरै नै हाने पछि, म उनलाई भन्छु “उ त्यो सेडमा जाउँ न, त्यहाँ अलि कम लाग्छ कि हावा” । उनी मान्दिनन् । भन्छिन् “नाइँ नजाने, तपाईं जानु बरु, म त जादिनँ” । म मेरो ओवर-ज्याकेटको टोपी लगाउँछु । टाउकोमा हावाले नहाने पछि अलि फरक फील हुन्छ । उनको टाउकोमा कुनै बस्त्र थिएन । उनी सिरेटो इन्जोय गर्दै थिइन् । म भन्छु “यस्तै हो क्यारे यहाँको घुम्ने ठाउँ” । उनी भन्छिन् “मलाई त कस्तो राम्रो लाग्यो यो ठाउँ, शहर देखी नजिक तर शान्त र एकान्त” । म भन्छु “जाउँ मन्दिर दर्शन गरेर आउँ” । उनी भन्छिन् “नाइँ, मलाई जानु हुन्न आज” । उनी उभिएर यताउता नजर डुलाउँदै थिइन् । मेरो मन उनको हात समाउन उद्दत हुन्छ । म फेरि उनको हात समाउँछु । म भन्छु “यो होइन, अर्को देउ न” । उनी अगाडी फर्किएर अर्को हात दिन्छिन् । “हो यसरी हो के, मैले समाउन खोजेको” भन्दै म उनको हातको औँलामा मेरो औँलाहरू फसाउँछु । अनि कँसेर समाउँछु । अरु केहि समयलाई पनि पुग्ने गरि समाउँछु । तर कहाँ पुग्थ्यो र ? त्यो पल आफुलाई निकै भाग्यशाली लागेको थियो । मेरो मनकी रानीसँग यत्तिनै पल बिताउन पाउनु पनि मेरो लागि धेरै ठुलो कुरा थियो । आज सपना पुरा भएको थियो । उनी पनि मसँग सहज थिइन् । कहिँ कतै uncomfortable फील गर्ने हुन् कि जस्तो लागेको थियो । तर त्यस्तो नभए पछि म झन् खुसि थिएँ । उनी छेवैमा बस्छिन् । मैले हाम्रो युगल मुठ्ठीलाई ब्यागले छेक्न खोजेको हुन्छु । उनी सोध्छिन् “के गर्‍या यो चाहिँ” ? म भन्छु “अरूले नदेखुन् भनेर नी” ! उनी भन्छिन् “समाउनु पनि छ, अनि कसैले नदेखुन् भन्ने पनि छ” ! म भन्छु “हो नी, पहिले पब्लिक ठाउँमा कसैले यस्तो गरेको देख्दा म आफै सोच्थेँ, के तमासा गर्‍या होला सार्वजनिक ठाउँमा भनेर; यो पलको आनन्द यस्तो बिधि हुदोँ रै’छ र पो गर्दा रै’छन्” । उनी हाँस्छिन् । हामी बसेको स्थानबाट ओरालो लाग्छौँ । उनले वाशरूम जाने कुरा गर्छिन् । हामी वाशरूम तर्फ जान्छौँ । त्यहाँ सायद अलि बढी नै फोहर थियो । उनी युज नगरी फर्किन्छिन् । हामी त्यहाँबाट निस्कन्छौँ । बाटोमा हामी विभिन्न कुराकानीहरू गर्दै आइरहेका हुन्छौँ । उनी भन्छिन् “तपाईं सधै यस्तै बिस्तारै चलाउनु हुन्छ कि आज मात्र हो” ? म भन्छु “सिचुएसन अनुसार हुन्छ हुनलाई त, तर मोस्ट्ली यस्तै हो, आनन्दले” । उनी भन्छिन् “गुड” । उनलाई रूममा लैजाने मेरो सोँच दिमागबाट हटिसकेको थियो । मलाई फेरि हिजोको जस्तो तिक्तता निम्त्याउनु थिएन । उनलाई फेरि रिस उठाउने काम गर्दै नगर्ने विचारमा थिएँ । हुन त, जानीजानी म त्यस्तो किन गर्थेँ र ? जति समय मिल्छ, राम्रोसँग प्रेमील वातावरणमा बिताउनु थियो । उनलाई सके खुसि बनाई राख्छु, नसके दुखि चाहिँ बनाउँदिन भनि गम्दै थिएँ । मेरो हर्कत कमसेकम आजलाई भएनी उनलाई मन नपर्दो नभईदियोस् भनि प्रार्थना गर्दै थिएँ । म भन्छु “अब हामी सरर पार्क तिर लाग्छौँ है त” । उनी भन्छिन् “मलाई वाशरूम जानु छ नी त” । म भन्छु “त्यसो भए त, रूम जानु पर्छ” । उनी भन्छिन् “हुन्छ” । यो सुनेर किन किन मेरो मन खुसिले नाच्न थाल्छ । अलिअलि डर पनि छदैँ थियो । म प्रार्थना दोहोर्‍याउँछु । हामी त्यता हुइँकिन्छौँ ।

(पौष ५)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न