मेरी उनी

आज उनको जन्म दिन । आज भन्दा पच्चीस बर्ष अघि आमाको कोखबाट, काखमा आएकी उनी । म मेरो मष्तिस्कमा चित्र कोर्न खोज्छु । कस्ती थिइन् होला उनी ? मनमा धेरै कुराहरू बयेली खेल्छन् । त्यसबेला म कहाँ थिएँ होला ? के पो गर्दै थिएँ होला ? जिन्दगीमा, कुनै दिन हाम्रो भेट हुने छ, भनि कहिले तय भएको होला ?

उनले सुनाएका उनका बालापनका केही घटनाहरूसँग उनको अनुहार मिलाउन खोज्छु । उनी हुर्किदैँ गर्दा; बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएको उनको मुहार, शरीरको बनोट, सोँच, उनले देखे बुझेको संसार, उनको बोली, मुस्कान; सबै सबै कल्पना गर्छु । उनको आँखाले धर्ती हेर्न मन लाग्छ । उनको मनले महसुस गर्न मन लाग्छ । उनी नै हुन मन लाग्छ । उनको जिवनका तीता मिठा सबै पलहरू एकपटक आफैले महसुस गर्न मन लाग्छ । उनलाई बुझ्न मन लाग्छ । उनको सम्पूर्ण खबर थाहा पाउन मन लाग्छ । उनको मनको पुरै हाल जान्न मन लाग्छ ।

म उनलाई प्रेम गर्छु । कति ? कहिलेकाहीँ म आफै हराउँछु, यो प्रश्नको उत्तर खोज्दा । यति धेरै कि; उनलाई सम्झिदाँ, म आफैलाई बिर्सन्छु । भौतिक रूपमा त उनी साथमा छैनिन्, टाढा छिन् । तर यो मनले उनलाई नसम्झेको पल हुँदैन । मतलब; अब म, म होइन, सबै उनी मात्र । मलाई आफ्नै प्रवाह छैन । तर उनलाई पिर होला भनि गर्ने गरेको छु । उनको आगमन भए देखि जिवनका अरू पक्षहरू बारे, मलाई कुनै चासो लाग्दैन । उनी बाहेक अन्य कुराले अर्थ राख्दैनन् । सबै महत्वहीन लाग्छन् । मेरो लागि उनी नै पुर्णता हुन् । उनी मेरो जिन्दगीकै बहार हुन् । प्रेम के रहेछ ? मैले आफैले महसुस गर्न पाएको छु । अब प्रेम बुझ्न, कथा सुन्नु पर्दैन । आफ्नै एउटा निजी प्रेमकथा जो छ । र यो कथा अन्त्यहीन छ । उनको माया जो छ ।

उनको एउटा बेग्लै संसार छ । उनले रोजेको जिन्दगी छ । उनका आफ्नै इच्छा र चाहनाहरू छन् । उनका केही कर्तव्य र जिम्मेवारीहरू छन् । त्यसैले पनि म उनलाई धेरै दुःख पुर्‍याउन चाहान्न । कहिलेकाहीँ म केटाकेटी भै'दिन्छु । उनलाई अनाहकमा दुःख दिएको हुन्छु । तैपनि सहन्छिन् उनी । मलाई सम्झाई बुझाई गर्छिन् । माया जो गर्छिन् मलाई । मेरी परम प्रिय उनी, दिव्य मनकी रानी ।

उनलाई सधै सधै आनन्द प्राप्त भई रहोस् ।
तनमा आरोग्य, मनमा हर्ष, निधारमा भाग्य, जिवनमा माया रहि रहोस् । शक्ति भक्ति बढोस् उनको ।
जन्मदिनको मिठासपूर्ण शुभकामना मेरी उनीलाई ॥

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न