सि.आई.डी.

निकै ठुलो उम्मिद बोकेर उनलाई फोन गरेको थिएँ । खासमा, म आत्तिएको थिएँ, उनीसँग बात्तिन । कतिबेला उनीसँग कुरा गरौँ, अनि मन पोखौँ– जस्तो भइरहेको थियो । त्यसै-त्यसै हतारिएको थिएँ म– उनीसँग बहकिन ।

हिजो रातिको संवादमा देखिएको खुलापनले मेरो मनमा जोश भरिदिएको थियो । उनको पनि उत्साह सहित, केहि खास विषयहरूमा विना छेकबार उनको राय बुझ्न पाउँछु कि– झैँ लागेको थियो । बिहान केहि भावहरूले मनमा कब्जा जमाएका थिए । कौतुहलता र जिज्ञासा थपिदिएका थिए । अब साँझको कुराकानीमा सोध्नु पर्ला भनि टिपोट गरेको थिएँ । जस मध्ये मूल यसप्रकार थिएँ :-

१. उनले भनेकी थिइन्– “मनको कुरा खोल्ने त अहिले पनि कोहि छैन ।”
- मेरो पनि त कोहि थिएन ? उनी आएपछि, उनी नै भएकी थिइन् । म त उनको लागि त्यति पनि भइन । उनको सुख-दु:ख बाँड्ने विश्वास पात्र किन हुन नसकेको होला म ? एक्लै नै आफ्ना कष्टहरूसँग लड्न खोज्छिन् । सुनाउँदा मात्रै पनि आधा कष्ट कम भएर जाने कुरामा विश्वास गर्दिनन् क्यारे उनी । म उनको दु:खको सारथी हुन सक्ने कुरामा निश्चिन्त हुन नसकेर हो कि ? कि सुनाउँदा असुरक्षित महसुस गर्छिन् ? आफ्नो कमजोर पाटो देखाउँदा, मैले उनलाई नराम्रो भन्ठान्छु जस्तो लागेर हो कि ? जज् गर्छु जस्तो लाग्यो कि ?

२. पहिले-पहिले रिसाए पछि, फेरि झ्याप्पै बोल्ने कोसिस गर्दिन थिइन् । “राख्नुस् फोन्” भनिहाल्थिन् र फोन काट्थिन् । अहिले चाहिँ चुप रहेरै केहि समय पर्खिन्छिन् । समस्या बुझ्ने कोसिस गर्न थालेकी छिन् । किन होला ? यसको जवाफ भने उनले एक-दुइ पटक दिएकी पनि थिइन् । उनको भनाइ अनुसार– यसको कारण, अहिले उनले मबाट आश गर्ने भएर हो ।
- फेरि पनि जान्न मन लागेको मलाई– मेरो महत्व अहिले जति पहिला थिएन र ? मेरो लागि त उनको श्रेष्ठता सधै एकैनास भयो । उनको लागि म किन सधै एकैनास भईन होला ? उनी उहाँसँग भएकोले हो भनिन्– भनेपनि त्यसबेला पनि एक बर्ष जति निकै खुलेर माया गरेकी थिइन् । पछि एक्कासी रोक्न थालिन् । किन ? ठ्याक्कै थाहा पाउन सकिएन । पराइ ठान्न थालेको जस्तो लाग्थ्यो । आफ्नो मान्छे पनि कसरी अनयासै पराइ हुँदो हो ? कि कहिले उनको आफ्नो भएकै थिइन म ?

३. उनका आवेगहरू मध्येमा रिस चाहिँ मजाले व्यक्त हुने । तर दुख, खुसि र माया चाहिँ नहुने । किन होला ? उनी किन मसँग आफ्नो सबै भावनाहरू बारे कुरा गर्न आनाकानी गर्छिन् ? उनका भावहरूको कदर नभएको ठानिन् कि ?

४. भनेकी थिइन्– मन लागेको कुरा भन्ने वा नभन्ने पनि सामुबाट आउने प्रतिक्रिया वा टिप्पणीमा निर्भर गर्दछ ! भनेपछि कस्तो हुँदो रै’छ थाहा पाइन् की ? मेरो पनि त निर्भरता उनका प्रतिक्रियाहरूमा अडिएको हो ।

उनीसँग जे पनि भन्न पाइयोस्, जे पनि गर्न पाइयोस्– जस्तो लाग्छ । एक-एक विवरण विस्तारमा जान्ने चाहनाको उपज मात्र हो यो, अरू केहि होइन । उनको मनलाई बुझ्ने सानो कोसिस मात्र हो– भनेर उनले बुझिदिउन्, जस्तो लाग्छ । उनले पनि उनका एक-एक उद्वेगहरू मलाई सुनाउन् । एक-अर्काले बुझे नबुझेको कुराहरूमा प्रेम पूर्वक छलफल होस्, सोधनी होस्, बोधनी होस् । कौतुहलता मेटियोस्, द्विविधा नरहोस्– जस्तो लाग्छ । तर त्यस्तै त हो– उनको रिएक्सन् सोँचे जस्तो नहुँदा मलाई भन्न आउँदैन । मेरो रिएक्सन् भने जस्तो नहुँदा, उनलाई भन्न मन लाग्दैन । विडम्बना त के हो भने, राम्रो संवादको माहोलमा पनि उनी प्राय: नभनी बस्न नै अग्रसर हुन्छिन् । उनको लागि त्यो वातावरण पनि प्रयाप्त भएन कि ? पहिल्याउन चाहिँ गाह्रो छ ।

दिउसोको व्यस्तताले होला, साँझसम्म आइपुग्दा ति सवालहरूको भार अलि घटेको महसुस गरेको थिएँ– कौतुहलता अलिक सेलाएको जस्तो । तैपनि कुरा राख्ने निधो गरेको थिएँ । तर कुरा भन्दा पहिले फोन राख्नु पर्ने स्थति सृजना भएको थियो । ति भावहरूले त्यसबखत संसार देख्न पाएनन् । तुहिएर जानु पर्‍यो तिनलाई ।

कि त…, मैले गर्न हुने र नहुने कुराहरू छुट्याईदेउ । मेरो अधिकार क्षेत्र कहाँसम्म हो ? स्पष्ट बताईदेउ । म संयम रहनेछु । आफुलाई रोकेर राख्ने छु । कहिले खुल्लम्-खुल्ला, जे भन्न वा सोध्न नि छुट भएको जस्तो । कहिले ठ्याप्प बन्देज भइदिँदा– म निकै दोधारमा पर्छु । खुला हुँदा– ए हुँदो रै’छ । पाउँदो रै’छु । अब, बिस्तारै सबै कुरा पालैपालो सोध्ने अनि बुझ्ने छु– भनि सोँच्छु । अनि बन्द हुँदा– ए नहुँदो पो रै’छ । मैले त गलत पो बुझेको रै’छु– भन्ने हुन्छ । एकदिन खुलापन पाउँदा म किन मात्तिएको होला है ? किन धेरै आशा बटुलेको होला है ?– जस्तो लाग्न थाल्छ ।

मैले नाघ्न नमिल्ने सीमारेखा कुन हो ? त्यो कोरिदेउ । र नाघ्न पनि नदेउ । एकपटक नाघेपछि, आश लाग्न थाल्छ । आफ्नो हद बिर्सन पुग्छु । कहिल्यै नपाएपछि, मलाई आश पनि हुँदैन । तिमीलाई दु:ख पनि हुँदैन । जे-जे भन्नु छ– आफैलाई भन्छु म । आफैले आफ्नो मन बुझाएर राख्छु । तिमीलाई भन्न मन लागेको तिमी आफै भन्नु । म सुन्छु । मनन गर्छु । प्रतिप्रश्न गर्दिन । म सि.आइ.डी. बनेर आउँदिन । सामान्य भइ प्रस्तुत हुने कोसिस गर्छु । मेरो मन हौसिन थाल्ने वातावरण नै नबनाइदेउ । बेलामा-बेलामा चेतावनी सङ्केत दिई राख । म पछाडि हट्ने छु । आफ्नै मनको विरक्तिलो संसारमा थच्चिने छु । मनको लड्डु घिउसँग खाइ बस्नेछु । तिमीलाई बारम्बार झस्काई रहने छैन । आश मर्नुको पीडा सहनु भन्दा, आशै लाग्न नदिएको राम्रो ।
{कि कसो ?? 😉}


(२०८० वैशाख १२, मध्यरात्रोत्तर)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न