कुर्था

बिहान गूड् मर्निङ् सन्देशसँगै उनले आफ्नो तस्बिर पठाएकी थिइन् । कुनै पर्व वा अवसर पारेर खिचिएको तस्बिर थिएन त्यो । बिहानी कक्षामा आफुले पढ्दै गरेको बेला एउटा सेल्फि खिचेर पठाएकी थिइन् प्रियतमाले । फिल्टरको असर प्रशस्तै भएपनि, आज तस्बिर इतिहासमा पहिलोपटक उनी भन्दा सुन्दर देखेको थिएँ मैले । र त्यहि अनुपातमा गम्भीर पनि भएकी जस्तो लाग्यो मलाई । रसिला आँखाले बिलकुल मलाई हेरेकी थिइन् । एउटा हात चिउँडोमा थियो । तर घाँटी तिर बढि पर्ने गरि । उनको त्यो अकस्मातको तस्बिर र तस्बिर भित्रको उनको स्वरूपले, उनको सानिध्यमा बिताएका पलहरू एकैपटक उद्वेलित गराईदिएको थियो । उनका यादहरू सम्हाल्नै नसकिने गरि मेरा आँखामा छचल्किएका थिए ।

तस्बिर बोल्दै थियो । — ई हेर मलाई । कक्षाकोठामा पनि म तिमीलाई सम्झिएर बसेकी छु । यि आँखाले तिमीलाई खोजि रहेछन् । कहाँ छौ तिमी ? दुई दिनको लागि आयौ । अनि अहिले कहाँ गयौ हँ ? मलाई तिम्रो उपस्थितिको बानी लगाईदिएर एक्लै छोड्यौ । यो निधारले तिम्रो अधरको स्पर्श याद गरि रहेछ । यी हातहरूले तिम्रो हातको पकडको अभाव महसुस गरि रहेछन् । अनि म तिम्रो चाहनामा डुबेकी छु । तिमी साथ नहुँदा एक्ली भएकी छु । आउ प्यारा ! मलाई लिएर जाउ तिमी सँगै । जान्छु म तिमी सँगसँगै । हरेक दिन बिहान ब्युझिदाँ तिमीलाई आफु छेउ देख्न पाउँ । तिमीले जहाँ लैजान्छौ त्यहिँ जान्छु । पर्खिनु पर्खिएँ । अब अझै कति पर्खाउँछौ तिमी, तिम्री पियारीलाई । तिमीलाई मेरो माया लाग्दैन र ? कि तिमीले देखेनौ र, मेरो माया तिमी प्रतिको ? किन एक्लै पारेर गएको मलाई, भन त प्यारा ।
मैले सुनि रहेँ । उनको तस्बिर निरन्तर बोलिरह्यो । — यि हेर मलाई । तिमी यहाँ नहुँदा म कस्ति भएकी छु । म सुन्दर छु कि छैन, भन त एकपटक । तिमी बिनाको एक्लोपनले अलिकती मेरो सुन्दरता खोसेको होला । मलिनता थपिदिएको होला है ! मेरो मुहारको उदासीनता तिमीले पक्कै पढ्ने छौ भनेर नै, म तस्बिर बनेर तिमीसम्म आइ पुगेकी हुँ । मलाई तस्बिरमा देखेर दुखि त हुँदैनौ नि तिमी ? नहोउ है । एकदिन म पनि साक्षात तिमी सामु हुनेछु । तिमीलाई हँसाउने छु । चिन्ता नलेउ है । म तिमीलाई कति चाहन्छु भन्ने – तिमीले कतै बिर्सियौ कि ? बेलाबेला अति व्यस्त भइरहने तिमीलाई यो याद दिलाउन कि – यो धर्तीको अर्को भागमा तिमीलाई पर्खेर एउटी चरी तिम्रो सम्झनामा बसेकी छ । तिम्रो गुँडमा सर्न हतारिएकी छ । त्यसैले, तस्बिर बनि आएकी हुँ । तिम्रो सम्झनाले आएकी हुँ ।

उनको त्यो मायालु अनुहार देखेर निकै खुसि भएको थिएँ म । साथै उनलाई केहि दिनको साथ निभाएर एक्लै छोडेर आउनु परेको पीडा गढेको थियो । मन रोएको थियो । आखाँ रसाएका थिए । नाक बगेको थियो । दुइ-तीन हुँक्कहरू निस्किएका थिए । हुन त, दलबल सहित उनलाई लिन जाने गरि फर्किएको थिएँ । तर पनि उनि बिना म आफू पनि निकै एक्लो भएको थिएँ । उनिसँग बिताएका क्षणहरू, उनले धेरै माया गरेका पलहरूको सम्झनाले झनै सताउने । तुरुन्तै फेरि उनि सामु पुग्न पाए पनि त हुन्थ्यो झैँ लाग्ने । अरु बेला पनि टाढैबाट माया गरेका थियौँ । तर एउटा भेटपछि एकैछिन पनि छुटिन किन यति गाह्रो ? मैले भिजेका आँखा पुछेँ । हातमा चिसो लाग्यो । त्यहि चिसो हातले नाक पुछेँ । अनि नाक तान्दै गिलो हात टि-सर्ट्मा पुछेँ । मोबाइल बन्द गरेँ र उही दैनन्दिनको रटानमा लागेँ ।


दिउसो उनले फोन गरिन् । मैले उठाउन पाइन । पछि फोन गरेर कुरा गरेँ ।
उनले भनिन्, “आज म कुर्था ला’एर गा’थेँ भनेर, तपाईंलाई कुर्था देखाउनलाई फोटो पठाएकी ।”
मैले भनेँ, “तिम्रो शुट् राम्रो छ ।”

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न