दशैँ फोटो

दशैँको दिन साँझबाट कोलाहल मच्चिएको मेरो मनमा अझै शान्ति फर्किन सकेको थिएन । जति नै कोसिस गरे पनि आफुलाई धैर्य राख्न सकिन । बतास जस्तै गरि उनको सम्झना आउँथ्यो । आँखा फरफराउन थाल्दथे । थाकेको मनको रस निचोरिएर आँखा टिलपिल हुन्थे । झ्यालबाट पारीको क्षितिज हेर्दै टोलाएको म, आफुले गरेको गल्तिको मनमनै प्रायश्चित गरिरहेको हुन्थेँ । रातिको निद्रा हराएको थियो । कुनैबेला पत्तै नपाई, निदाई पनि हाल्थेँ । ब्युझिए पछि फेरि उही हालत । मनमा त्यही कुरा बारम्बार दोहोरिन्थ्यो । दिमागको नसा तताई दिन्थ्यो । मुटुमा डरको काँढाले बिझाइ रहन्थ्यो ।

कतिबेला के आइपर्छ, पत्तै नहुने । दिनभरको दौडधूपले शरीर लखतरान भएको बेला, अर्को बज्र आइलागेको थियो । मनसँगै शरिर दुखेको थियो । मनको चोट शरीरले थाहा पाएको थियो । शरीरले लक्षण देखाउँदै थियो । शरीर फतक्कै गलेको थियो । असोजको बेला कौसीमा चलेको चिसो हावाका बिच पनि मेरो शरीर भतभती पोल्ने भएको थियो । आन्द्रामा अम्लियपन बढेको महसुस गरेको थिएँ । दिमाग शुन्य भएको थियो । उनलाई के भनौँ ? म कसो गरौँ ? केहि मेसो लगाउन सकेको थिइन । दिनभर दशैँको धपेडीले थिचेको मनको चैन साँझ आफ्नै नकामले लुट्न पुगेको थियो ।

उनी नराम्रोसँग रिसाएकी थिइन् । कर्कश आवाजमा डाइलग् पेलेकी थिइन् । निकै लामो अन्तराल पछि उनको त्यो रुप देखा परेकोले पनि होला– मैले बेलैमा समस्याको समाधान पहिल्याउन सकिन । र इस्स्युले झनै ठुलो रुप लिन गयो ।

दशैँको टीका लगाई सकेपछि उनले उनका दुइवटा निकै सुन्दर तस्बिरहरू पठाएकी थिइन् । उनको सुन्दरता दिनानु दिन बढ्दो थियो । मन भरि उनको तस्बिरको रुप बसिसकेको भएपनि, उनलाई भन्न पाएको थिइन । दशैँको दिन, यता देखी उतासम्मको दौडाहाले, मनमा उर्लिएको उनको सुन्दरता उपरको तारिफ पनि उनिसँग पोख्न भ्याएको थिईन । सोँचेको थिएँ– साँझ अलि फुर्सत भइ सकेपछि मज्जासँग, मन खोलेर उनको त्यो सुन्दरताको वर्णन गर्ने छु ।

तर साँझ ... ! साँझ, उल्टिन पुग्यो । आफ्नै कुबुद्धिले मैले मेरो दशैँ-सन्ध्या र त्यसपछिका दिनहरू बिगारेँ । उनलाई रुष्ट बनाएँ ।

सायद दशैँको दिन नै दशा हुनु परेकोले होला– मैले आफ्नो एउटा तस्बिर खिचेर उनलाई पठाउने बारे धेरै पटक सोचेँको पनि थिएँ । तर खिचिन ! पठाउने त कुरै भएन । किन ? दशा लागेर हुन सक्छ । बुद्धि सकिएर पनि । एउटै पनि तस्बिर लिएको होइन । कहिले लिने बानी नै भएन । त्यसैले पनि धेरै त्यता तर्फ ध्यान गएन । तर बेलाबेला लाग्दै पनि थियो– एउटा त जस्तो भएनी फोटो खिचेर उनलाई पठाउनु पर्ने ।

घरमै हुँदा, बाहिर तिर टिका लगाउन निस्किनु भन्दा अगाडि नै, एउटा तस्बिर खिचिक्क पारेर पठाउनु पर्ने रहेछ, पछि पछुतो लाग्दै थियो ।

प्राय: मेरो तस्बिर लिने तिर कहिले ध्यान जाँदैन । म जरुरि ठान्दिन । बस् त्यो पललाई इन्जोय गरूँ जस्तो मात्र लाग्छ । त्यसैले पनि मलाई बानी भएन । बरु लिनु नपरोस् भन्ने तिर मेरो झुकाव बढि हुन्थ्यो । अझ दुइ वा त्यो भन्दा बढिसँग र ग्रुपमा खिच्नु पर्ने अवस्थामा त झन् म निसास्सिन्छु । कताबाट कसो गरि भागौ र यो मोमेन्ट्लाई अभोइड् गरूँ जस्तो लाग्छ । बरु म फोटोग्राफर् बन्न लालायित हुन्छु । त्यसको पनि एउटै मात्र कारण, समूहमा सामेल हुनबाट बच्ने एकमात्र सजिलो उपाय । उनको आगमन पछि भने, एउटा सेल्फी जरूर खिचुँ जस्तो लाग्थ्यो । बस्, उनलाई पठाउन पाइयोस् ।

दिनभरमा धेरै पटक सोँचेको पनि थिएँ । तर खोइ के मा अल्झिन पुगेँ, मुख्य काम गर्दै गरिन । एक मन भन्दै थियो– एउटा त पठाउनकै लागि मात्र भए पनि खिच्नु पर्छ । अर्को मन भन्दै थियो– नपठाए पनि केहि हुँदैन । मलाई तस्बिर खिच्न खासै मन लाग्दैन भन्ने त उनलाई थाहै छ नि । उनले बुझ्ने छिन् । अगाडिका बर्षहरूमा पनि त पठाइन ।

पासा उल्टा पर्‍यो । मैले सोँचे जस्तो उनले सोँचिनन् । दशैँको दिन मात्र नभई अगाडिका धेरै दिन देखि नै म काममा बढि व्यस्त थिएँ । दिमाग अकुपाइड् थियो । त्यसबारे मनन गर्ने मौका मैले पाइन । ठाउँ-ठाउँमा टिका थाप्न ट्याक्सी बनेर दौडिदा-दौडिदै म नचाहेको व्यस्त हुन पुगेँ । उनी सामु मेरो तस्बिर नपुग्दा हुन सक्ने विभिन्न गम्भीर आयामहरू बारे मैले हेक्का राख्न पनि भ्याइन ।

साँझ उनीसँग जे-जे हुनु भइसके पछि मात्र मेरो बुद्धिको बिर्को खुल्यो । तर के गर्नु ? समय गए पछि आएको बुद्धिको के काम ? उनैले आफै नै “anyways sakyo aba” भन्दै मौका गुमीसकेको घोषणा गरिदिएकी थिइन् ।

मैले अघिल्लो वर्षको दशैँ सम्झिएँ । मलाई अहिले बल्ल याद आयो । मैले उनलाई टीका लगाएको तस्बिर नपठाए पनि, अपरान्ह तिर एउटा बिहेमा जानु परेकोले त्यहाँबाट एउटा तस्बिर खिचेर पठाएको थिएँ । एक संयोग जुरेको थियो ।
तर यसपालि, त्यो कुरा बिर्सिएछु । कहिले खिचेकै त होइन जस्तो मात्र भइरह्यो । बेलैमा एउटा फोटो खिचिक्क पारेर पठाउने बुद्धि आएन ।

उनले “धेरै भाउ खानु भयो” भनेपछि भने, त्यो रातमै भएपनि “म एउटा अहिले खिचेर पठाउँछु है” भन्न मन लागेको थियो । तर त्यसले फेरि मान्यता नराख्ने हो कि जस्तो लाग्यो । केहि भन्न सकिन । केहि गर्न सकिन ।

दशैँको दशा लागेको मेरो दिमागले केहि सोँच्न सकेन । घैँटोमा घाम लाग्दै लागेन । उनी रिसाइ नै सकेको हुनाले झनै बढि संयम हुन खोज्दा एउटा समान्य उपाय पनि चिप्लेर गएको जस्तो लागेको थियो । सायद जे हुनु थियो । त्यो भएरै छाड्थ्यो होला । त्यसैले होला मैले टारेर टरेन । बेलैमा जुक्ति पलाएन । सुरुमै मनको सुन्न नसक्दा दुर्घटना निम्तिएको थियो ।

दशैँको तेस्रो दिनसम्म पनि उनी good termsमा आइ सकेकी थिइनन् । त्यो दिन बिहान अबेर तिर पानी परेको थियो । त्यो ओसिलो मौसम, भिजेको जमिन देख्दा पनि मुटु निचोरिन्थ्यो । आफु निकै एक्लो परेको भान हुन्थ्यो । जे सम्झे पनि, जे देखे पनि उनी रिसाएको कुरा मात्र मनमा आइरहन्थ्यो । अनि आफुलाई केहि गर्न नसक्ने उपायहिन देख्दा झनै बिरक्त लाग्थ्यो ।

उनको बोलीको मिठास फर्किएको थिएन । रुष्टता अझै झल्किएको पाउँथेँ । त्यस्तो देख्दा मुटु छिया-छिया भएर आउँथ्यो । संसारमै एक्लो, आफ्नो भन्ने कोहि नभएको जस्तो महसुस हुन थाल्दथ्यो । एक्लोपनको भावावेगले करकरि खान्थ्यो । उनको मनको भाव पहिल्याउन नसकेको देख्दा आफैसँग रिस उठेर आउँथ्यो । आफैलाई कुटौँ जस्तो लाग्थ्यो । उनलाई फोन गरेर, आवाजमा वा उनीसँग भेट गरेर, प्रत्यक्ष माफी माग्न मन लागेको थियो । तर त्यो सम्भव थिएन । विषयको छलफल टेक्स्ट्मा गरेँ भने पनि, मैले झनै कुरा बिगार्न सक्ने डर थियो ।

त्यसैले केहि भनिन । केहि गरिन । सबै जिम्मा समयलाई लगाएँ । आफ्नो दुख्ने मुटु सञ्चो गराइदिन पनि समयलाई नै अनुरोध गरेँ । आफू बसेँ उनैलाई सम्झेर । उनको रूपको माला जपेर । रुँदै-रुँदै कामना गरेर । फेरि घाम लागोस् भनेर । कालो बादल हटोस् भनेर ।

□■□

हप्ता-दश दिनपछि, मैले हिम्मत गरेर, उनलाई सुनाएँ । उनलाई सुनाउन मन लागेर सुनाएँ । डरले हल्का काँप्दै थिए ओठहरू । यत्तिका दिनपछि समय आफैले थोरै भएपनि फर्काएको शान्ति फेरि कतै खलबलिने हो कि ? सन्देह अगाडि लम्पसार परेको थियो । उनलाई नसुनाए कसलाई सुनाउँ ? उनको विशालकाय बुद्धिमत्ताको शरण नै, म जस्तो मूढात्मा, लाछीको मनोआरामको एक मात्र बाटो थियो । आशा थियो, मेरो मनको खत मेटिने छ । लागेको थियो, यो प्रहेलिका उनले सजिलै सुल्झ्याई दिनेछिन् ।
उनले टसका साथ् निकै सामान्य रुपले भनिन्, “मलाई फोटो हेर्न मन भएर होइन । मैले त उसै भनेकी थिएँ । किन त्यति धेरै सोँच्न पर्थ्यो र ?”
उनको त्यो कुराले मलाई झनै बढि दिग्भ्रमित बनायो । मैले सोँचेको थिएँ– उनी मेरो तस्बिर हेर्न चाहन्थिन् । कमसेकम, मलाई देख्न चाहेर त्यसो भनेकी हुन् । तर खै ? चाहना मुनको बुझिन मैले । मेरो जीर्ण दिमागले, त्यस कुराको वास्तविक भेद कहिले पहिल्याउन सकेन ।

□■□

पन्ध्र दिन जति पछि, दिउसो उनी बाहिर निस्केको बेला मैले उनलाई फोन गरेको थिएँ । त्यसबेला उनले उठाइनन् । पछि साँझ तिर उनले फोन गरिन् । त्यसबेला मैले उठाउन पाइन । सोँचेको थिएँ राति सुत्ने बेला तिर गर्ने छु । उनले रात परिसके पछि पनि फोन गरिन् । उनले दोश्रो पटक फोन गर्लिन् जस्तो लागेको थिएन । त्यो कुराले म निकै खुसि भएको थिएँ । म माथि छतमा निस्किएर फोन उठाएँ । निकै मिठास पूर्ण लयमा कुराहरू हुँदै थिएँ ।

आज उनको बेग्लै मिठो बोली आएको थियो । उनी निकै मायालु भावमा थिइन् । सोधेका कुराहरू पनि झर्को नमानि मज्जाले बताइरहेकी थिइन् ।
मैले सोधेँ, “के छ त डिनर् प्लान् ?”
“त्यस्तो केहि त छैन । दाइले बनाउँदै हुनहुन्छ ।”
“त्यै पनि आज, म बनाउने पनि थिइन ।”
“ह्वाई इज् द्याट् ?”
“आज पिरियड् मेरो ।”
उनको यो मिठो अवतारको श्रेय मासिक चक्रलाई दिँदै, जिस्काउँ की – जस्तो पनि लागेको थियो । तर फेरि आफैलाई रोकेँ । उनको अर्को रोष निकाल्न मन लागेन । फेरि उनलाई क्रोधित बनाउने हुँ कि ?  

उनी “आज त आफै फोटो आएको थियो त, मैले त भनेकै थिइन !”
 “अम्, भुल सुधार गरेको नि !”
“दशैँको भुल सुधार !”
“उम्, त्यो बेला पनि पठाउन मन नभएको त होइन । तर नपठाए पनि केहि त हुँदैन, जस्तो नि लाग्यो । अनि खिचेको पनि थिइन ।”
उनी “फर् योर् काइन्डेस्ट् इन्फर्मेसन्, दशैँमा टीका पाँच दिनसम्म लगाइन्छ ।”
म “होइन नि ! हाम्रो तिर एकदिन मात्रै हो ।”
“ए ए ! मलाई थाहा थिएन ।”

मलाई तल खोजि पो हुने हो की भन्ने कुराले म आत्तिएको थिएँ । उनीसँगको त्यो सुनौलो वार्तालाप पनि छोड्न मन लागेको थिएन । मैले उनलाई पनि सुनाएको थिएँ । उनले “हुन्छ नि त, जानुस्” भनेकी थिइन् । मैले “है त !” मात्र के भनेको थिएँ । उनले “एकछिन-एकछिन ! एउटा कुरा !” भन्दै मलाई रोकिन् । मैले निकै रौसिएर, खुसि हुँदै सोधेँ, “के ? भन त ।”
उनको प्रेमिल जिज्ञासा थियो, “तपाईं कहिले आउने हो ?”
र प्रेममा चुर्लुम्म डुबेको थिएँ म ।

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न