तस्बिरको बिल्ला

अघिल्लो दिन राति उनले उनको एउटा तस्बिर पठाएकी रहिछन् । मैले बिहान मात्र देखेँ । तस्बिर निकै सुन्दर थियो । तस्बिरमा उनी अलिकती मलिन जस्तो देखिन्थिन् तर निकै भद्र । परिपक्क शालिनता झल्किएको थियो उनको मुहारमा । उनको त्यो साइड् प्रोफाइल् हेरेर मुग्ध भएको थिएँ म । निकै गजबको कोणबाट खिचिएको उनको त्यो तस्बिरले उनको वास्तविक सुन्दरतालाई धेरै हदसम्म न्याय गरेको थियो । उनको तस्बिरले आउनुले मलाई धेरै खुसि प्रदान गरेको थियो । लागेको थियो, अब रिसाएकी छैनिन् ।

मुटु नै चढाउँ जस्तो लाग्ने त्यो उनको तस्बिरको बारे मैले केहि कुराहरू भनेको थिएँ । मलाई स्वर्गीय आनन्द जो गराएको थियो त्यो तस्बिरले । मेरो लागि त्यो तस्बिर, तस्बिर मात्र थिएन । मेरो प्राण थियो । मेरो प्रेम प्याला थियो । मेरी उनीको प्रेमिल भाव थियो । त्यसैले पनि मैले मन खोलेर, मलाई लागेको कुराहरू भनेको थिएँ । उनको सुन्दरताले मेरो मन छोएको कुरा गरेको थिएँ । र सोँचेको थिएँ– उनले हाँस्दै प्रतिक्रिया जनाउने छिन् ।

तर त्यस्तो भएन । उनले ति कुराहरूलाई सिधै नजरअन्दाज गरि दिइन् । अहँ, एक शब्द आएन । त्यो देखेर म छाँगाबाट खसेको जस्तो भएको थिएँ । भर्खर नुहाएर आएको म, असिनपसिन भएको थिएँ । उनी अझै पनि मसँग रुष्ट भए जस्तो लाग्यो । उनको त्यो नजरअन्दाजले मलाई छिन्न-भिन्न बनायो । मेरो श्वासप्रश्वास तिब्र भएको थियो । सासै फेर्न गाह्रो भएको जस्तो । मांसपेशीहरू पुरै फतक्क भएका थिए । म उभिन नसकेर, बिस्तारै कुर्सीमा बसेको थिएँ । यसै गर्दा-गर्दै बिस्तारै, उनी टाढिने हुन् कि भन्ने डरले मेरो ज्यान लगलग काँप्दै थियो ।

रिसानिको सुरुवात अस्तिबाट भएको थियो– यदि म सहि छु भने । किनकि त्यो भन्दा अगाडि, करिब एक हप्ता हाम्रो फोन संबाद हुन पाएको थिएन । त्यो संबादमा पनि म जान्ने पल्टिएर सवाल गर्दा उनलाई एकाएक बम्किनु परेको थियो । मेरै कर्तुतले उनी रिसाएकी थिइन् । बैनीको केस् कहाँ पुग्यो भन्ने सवालमा ब्ल्याकमेलिङ् मेटेरियलको कुरा चल्दै थियो । बिचैमा मैले प्रतिप्रश्न गरेको थिएँ । उनले मजासँग बताइरहँदा मैले सुनिमात्र रहनु पर्ने । आपत्तिजनक तस्बिरहरू डिलिट् भैसकेको कुरामा, मैले अझ बढी स्पष्ट हुन खोज्दा कुरा बिग्रिएको थियो । उनले आफुलाई थाहा भएको कुरा जति त भनेकै थिइन् । फेरि उनले बैनीलाई सोधिराख्ने कुरा पनि भएन । उनी त्यसरी सोधि राख्न रुचाउँदिनन् पनि । बैनीले सुनाएको कुराहरू मात्र न, उनी मलाई बताउन सक्थिन् । र बताईरहेकी पनि थिइन्, निकै मजाले, सुरु देखी अन्त्यसम्म । मलाई लागेको थियो– उनले नै यो केसको नेतृत्व गरेकी छन् । सबै कुराहरू उनले नै ह्यान्डल् गरेकी छन् । मेरो बुझाई गलत रै’छ । बैनी आफै नै सबै कामहरू गर्दै आएकी रै’छिन् । उनलाई नै माली सम्झेर मैले पुष्टि प्रश्न सोध्न पुगेँ । उनलाई मन परेन । उनी रिसाइन् । “थाहा छैन मलाई !” भन्दै चिच्याइन् ।

उनको चिच्याहटले मेरो मुटु खसेको जस्तो भएको थियो । म अवाक भएको थिएँ । मैले उनीसँग माफी मागेको थिएँ । उनले बाँकी कुराहरू सुनाइन् । मैले चुपचाप सुनिरहेँ ।
त्यसपछि एकैछिन चलेको संबाद भने अगाडिको जस्तो रसिलो हुन सकेको थिएन । चिसो-चिसो हुँदै गइरहेको जस्तो लाग्थ्यो । मेरो मन खुल्न सकेको थिएन । कुराहरू, सर्र खुल्न सकेका थिएनन् । उहाँ आउने बेला पनि हुन लागेकोले, केहि क्षणपछि उनले “मण्डे कुराकानी गरौँला ।” भनेर फोन राखिदिएकी थिइन् ।

त्यो साँझ उनले दुइवटा अडियो म्यासेज् गरेकी रहिछन् । म खाना पकाउँदै थिएँ । खाना खाइसकेपछी बेडमा गइ पल्टेको... उसै निदाएछु । अर्को दिन बिहान मात्र मैले म्यासेज् देखेँ । मैले उनलाई अघिल्लो दिन टेक्स्ट् नगर्नुको कारण उनलाई बताएको थिएँ । उनले त्यो पनि नजरअन्दाज गरिदिएकी थिइन् । अडियो आउँदा उनको रिसानी मत्थर भएछ जस्तो लागेको थियो । तर फेरि पनि टेक्स्ट् नजरअन्दाज भए पछि भने उनी अझै पनि खराब मुड्मा रहेको फील गरेँ । मेरो दिन अनायासै बिग्रियो । दिनभर कुनै काममा मन लागेन । बिछ्यौनामा पल्टिएरै बिताएँ दिन । छटपटाउँदै । उनलाई सम्झिदै ।

उनले मेरा ति शब्दहरूलाई, फकाउनलाई गरेको प्रशंसाको पुल बाँधिरहेको ठानिन् वा उनलाई मेरो कुरा मन परेन । मलाई बुझ्न गाह्रो पर्‍यो ।


(२०७८ श्रावण ०९, शनिबार)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न