तिमी, अवश्य नै !

म मेरो यु-ट्युब् च्यानल् प्रोमोट् गर्दै थिएँ । केहि हुन्छ कि भनि– श्रुति-संवेग कार्यक्रमका वाचनहरूलाई छाँटेर, काटकुट पारेर दुइ-चारवटा भिडियोहरू अपलोड् गरेको थिएँ । वि.सं. २०७५ पौष २५ गते बुधबारको दिन मध्यान्ह, रोजीरोटीको कामबाट अलिक फुर्सत मिलेको बेला, बन्दै गरेको भवनको चिसो भर्‍याङ्गमा बसेर, च्यानलको प्रवर्धनमा लागेँ । ट्वीटरमा डि.एम्. गर्न मिल्नेहरूलाई रेन्डम्ली भिडियो-लिङ्क पठाई रहेको थिएँ । कसैलाई फलो गरेर । कसैलाई नगरेरै । साथै “नेपाली उपन्यास र कथा सुन्नका लागि, कृपया शेयर् तथा सब्स्क्राइब् गर्नुहोला !” भनेर फूट्नोट् पनि छोडि दिन्थेँ । कसैले सबरक्राइब् गरि पनि दिन्थे । कसैले बदलामा त्यसै गर्न लगाउँथे । कसैले “हस्” भन्दथे । कसैले “पछि गर्छु” पनि भने । कसैले इमोजीहरू पठाएका हुन्थे ।
अपरान्ह तिर एउटा डि.एम्. आएको रहेछ । मेरो नजरमा साँझ मात्र पर्‍यो । तस्लिमा नास्रिनको फ्रान्सेली प्रेमीको मैले पठाएको लिङ्कको तल सोधिएको थियो, “पुरै उपन्यास हो यो ?”
मैले त्यो प्रोफाइल् चेक् गरेँ । केहि गहकिला ट्वीट्हरूसँगै, चार-पाँच तस्बिरहरू देखेँ । एउटी सुन्दराले पो रिप्लाई दिएकी रहिछन् मलाई । उनलाई देखेपछि मनमा अर्कै खालको भाव उत्पन्न भएको महसुस गरेको थिएँ । ति आँखाले मलाई नै हेरेको जस्तो । उनी निकै प्रिय, सुशील र विदुषी लाग्यो मलाई । मुहार उनको सरल अनि गहन थियो । पहिरन पनि सामान्य र आकर्षक । मोहिनी रुप धारण गरेकी थिइन्, एकदम निश्चला । आधुनिक पहिरनमा भने उनी क्लासी देखिएकी थिइन् । गजब ठाँटकी ।
जवाफमा “हो !” मात्रै भन्न मलाई मन लागेन । त्यो अलि अरोचक सुनियो । क्षमताले भ्याएसम्म मजाकिलो सुनिने कोसिसमा, मैले भनेँ, “अवश्य नै ! कुनै शङ्का ?”
अब फेरि उनको रिप्लाई आउला-नआउला त्यसमा बरु शङ्का थियो । मैले त्यति धेरै आश पनि गरेको थिइन । त्यसैले आफ्नो ध्यानलाई रोकी राखेँ ।
अर्को दिन मध्यान्ह मेरो प्रोमोसनको काम फेरि उसैगरि सुरु भयो । उसै राती उनले रिप्लाइ गरेकी रहिछन् । भनेकी थिइन्, “नाइँ, छैन शङ्का त ।”
अब के भन्ने केहि मेसो लागेन । दिमागले बल गर्‍यो । तर पनि केहि इन्ट्रेस्टिङ् फेला पारेन । त्यो भन्दा पछि उनीसँग कुरा हुने वा नहुने, त्यो उनकै भरमा थियो । मैले भन्नका लागि मात्र भने, “आइ नो !”
सायद अब यत्तिमै टुङ्गिन्छ होला जस्तो लागेको थियो । किनकि चाख मर्दो, सुख्खा रिप्लाई गरेको थिएँ । तर पनि फिक्री थिएन । अलिकती थियो क्यार ! अझै कुराहरू हुँदै जाउन भन्ने कामना त थियो । तर आफ्नो वाक क्षमतामा भने खासै पत्यार भएन । आत्मविश्वासको कमी जो थियो । “जे सुकै होस् । रिप्लाई आए आउँछ, नआए, के नै गर्न सक्छु र ?” भनि चित्त बुझाएको थिएँ ।
झण्डै एक घण्टापछि उनको म्यासेज् आयो । भनेकी थिइन्, “थ्याङ्क् यु !”
मलाई अचम्म लाग्यो । मैले सोधिहालेँ, “फर् ?”
उनको जवाफ पनि आइहाल्यो, “नोवेलको लिङ्कको लागि ।”
म अलिकती हौसिएको हुँदो हुँ । मैले भनेँ, “डन्ट् मेन्सन् ! इट् इज् अल् माई प्लेजर् !”
उनी हाँसिन्, “हे हे हे !”

अब के त ? ठुलै समस्या पो पर्‍यो । के भन्नु, के नभन्नुको दोसाँधमा मैले सोधेँ, “बाइ द वे ! डु यु रिड् अर लिसन्, मोस्ट्ली ?”
‘फ्रेन्च् लभर्’ चाहिँ नपढेको बताउँदै उनले भनिन्, “सुन्न खासै मन पर्दैन । पढ्न मन पर्छ ।”
मैले सहमति जनाएँ, “हुन त हो ।”
उनको केहि प्रतिक्रिया आएन । आउने जस्तो गतिलो जवाफ पठाएको भए पो आओस् त ? धेरै बेर सोँचेपछि, मैले सोधेँ, “कुनै राम्रो रेकमेन्डेसन् छ ?”
उनको एक शब्दको जवाफ थियो, “छैन ।”

अब सिध्यो जस्तै लाग्दै थियो । यत्तिमै सकिने हो, यो वार्तालाप जस्तो भयो । उनले अरु केहि भनिनन् । मैले पनि भन्ने जस्तो केहि भेटिन । पहिलो पटकको कुराकानीमा के भन्नु ? के नभन्नु ? आइस् ब्रेक् गर्न पनि निकै गाह्रो । मनमा जे आयो त्यहि भनौँ भने पनि उता नराम्रो सन्देश पुग्ला भन्ने डर ।
केहि सीप नलागे पछि, मैले अर्को उपन्यासको लिङ्क पठाएँ । कमसेकम केहि न केहि कुरा त सुचारु होला सोँचेर । थमनेलमा पुस्तककै कभर देखेर होला, उनले सोधिन्, “पढ्ने कि सुन्ने यो ?”
मैले सुरुको लिङ्कलाई पनि समेटेर भनेँ, “दुवै सुन्ने नै हो ।”
उनको जिज्ञासा थियो, “अनलाइन् कि अफलाइन् ?”
दुवै तरिकाले सुन्न मिल्थ्यो । त्यसैले भनेँ, “डाउनलोड्/सेभ् गरेर पनि सुन्न मिल्छ ।”
उनको छोटो प्रतिक्रिया आयो, “ए ए !”

अब चाहिँ के भन्ने ? दिमाग शुन्य भयो । उता पनि सन्नाटा थियो । केहि पठाएकी थिइनन् । सोँच्दै थिएँ– यो संबाद यहिँनेर चाहिँ नरोकियोस् । भद्दा लाग्ने खालका प्रसङ्गहरू उप्काउन भएन । सान्दर्भिक केहि भेटाइन । कनीकुथी गरेर दिमागको कुनाबाट मैले एउटा प्रश्न निकालेँ, “ह्याव् यु एभर् लिसन्ड् टु अर ओन्ली रेड् ?”
त्यति भएपनि प्रसङ्ग जोड्न सकेकोमा, आफैले आफैलाई धन्यवाद दिएँ । उनको प्रियताले मलाई कता-कता छोइ सकेको थियो । उनको रुपको जादु चढिसकेको थियो । उनलाई ‘तिमी’ भनौँ वा ‘तपाईं’ ? ‘तपाईं’ सम्बोधन गर्न मन थिएन । ‘तिमी’ भनिहाल्न अलि सकिन । त्यसैले मैले अङ्ग्रेजीको साहारा लिइरहेको थिएँ ।
पाउलो कोएल्होको ‘द अल्केमिस्ट्’ चाहिँ सुनेको । तर सुन्दा खासै चित्त नबुझेको अनुभव सुनाउँदै उनले भनिन्, “प्राय: जस्तो पढ्छु । पढ्न नै मजा आउने । सुन्न भन्दा त ।”
मैले अर्को एउटा कथाको लिङ्क् पठाउँदै भनेँ, “एउटा कथा सुनेर, फेरि विचार गरे भो’ नि । छोटो छ कथा ।”
उनले सोधिन्, “न्यारेटरको नाम के हो ?”
“अच्युत घिमिरे ।”
“ओहो ! हि इज् भेरि नाइस् । है ?” उनले उत्साह पुर्वक भनिन्, “ओके ! सुन्छु ।”
उनले सुन्छु भनेकोमा दङ्ग पर्दै, मैले भनेँ, “या हि इज् ! वन् एण्ड ओन्ली !”

उनको कुनै प्रतिक्रिया आएन । मैले फेरि उही जुक्ति लगाएँ । मिलन सङ्ग्रौलाको च्याट् गर्लको लिङ्क पठाउँदै भनेँ, “यो अर्को कथा पनि राम्रो छ ।”– अनि यसो पनि भनेँ, “मैले पठाएका लिङ्कहरू सबै उहाँले वाचन गरेका हुन् । अरुको त मलाई मन परेन ।”
“च्याट् गर्ल त मैले पढेकी छु ।”
पढिसकेको कथा पो सुझाएछु । नौलो सुझाउन सकिन भन्ने भयो । खिस्स परेर भनेँ, “ए ए !”
मैले गरेको अर्को कुराको प्रतिक्रिया स्वरूप उनले भनिन्, “मलाई पनि भन्ने स्टाइल् र बोली साह्रै मन पर्छ उहाँको ।”
रुचि मिलेकोमा खुसि हुँदै भनेँ, “सेम् ह्यर् !”

उनले प्रसङ्ग फेरेर सोधिन्, “सो... ह्वेर् आर् यु फ्रम् ?”
उनको चासोले मलाई रौस्यायो । आफुले सोध्न नसकेको कुरा उनैले सोधिन् । मौकाको फाइदा उठाउँदै मैले पनि सोधेँ, “बुटवल... एण्ड् यु ?”
“म केटिएम् !”
त्यत्रो विशाल काठमाडौँ उपत्यका भरिमा, कता तिर होला ? सोध्न सकिन । उनको बारे अरु पनि धेरै कुराहरू जान्न मन लागेको थियो । तर व्यक्तिगत कुराहरूमा घुस्न पनि अप्ठ्यारो । त्यसैले, मैले सजिलो बाटो रोजेँ । अगाडिकै कुरालाई निरन्तरता दिँदै सोधेँ, “अहिलेसम्म पढेको पुस्तकहरूमा कुन चाहिँ सबभन्दा राम्रो लाग्यो ?”
“यो, त्यो भन्ने छैन । प्राय: सबै राम्रो लाग्छन् ।”
मैले जोड गरेँ, “जस्तै ?”– मलाई पनि केहि सिफारिस चाहिएको थियो ।
“कर्णाली ब्लुज, पल्पसा क्याफे, दमिनी भिर, अनि चेतन भगतको रिभोलुसन् ट्वान्टी-ट्वान्टी, आइ एम् मलाला । अरु पनि थुप्रै । रोजेर पढ्दिन, सबै खाले पढ्छु प्राय: ।”
“अरु त पढेको छु । ‘आइ एम् मलाला’ चाहिँ छैन ।” मैले भनेँ ।
“राम्रो छ । मुटु छुने खालको ।” उनको समीक्षा थियो ।
“ए ! थ्याङ्क्स !”
“किन ?”
“रिकमेण्डेसनका लागि । अवश्य नै !”
वाक्यान्तमा दुइवटा स्माइलिङ् इमोजी राखेर उनले भनिन्, “प्लेजर् इज् अल् माइन् !” सुरूतिर मैले पनि त्यहि नै भनेको भएर हो वा सामान्य बुझियोस् भनेर हुन सक्छ, उनले इमोजी राखेको ।
मैले पनि फिर्तामा एउटा स्माइलिङ् इमोटिकन् पठाएँ । :-)
त्यसपछि केहि भएन । न उनीबाट । न मबाट । यत्तिमै सकिएला जस्तो देखिन थाल्यो । उनको बारेमा निकै जान्ने चाह भएर पनि मनमा थिचेर राखेको थिएँ प्रश्नहरू ।
साँझ पर्नै लाग्दा बल्ल-तल्ल मैले एउटा अभिलाषा राख्ने जमर्को गरेँ । कामबाट निस्कने बेला तिर मैले सोधेँ, “इफ् यु डन्ट् माइन्ड् माइ आस्किङ्, ह्वाट् डु यु डु ?”
अर्को दिन बिहान मात्र मैले म्यासेज् हेरेँ । उनले साँझ नै जवाफ पठाएकी रहिछन् ।
“स्टडी मात्र । काम त केइ गर्दिन । एण्ड यु ?”
मेरा सवालहरू थपिए । सोधेँ, “कुन लेभल ? एण्ड् ह्वाट् आर् यु स्टडीइङ् ?”
अनि उनको जिज्ञासा उपर भनेँ, “सानो जब् गर्छु ।”
केहि क्षणमै उनको जवाफ आयो, “अहिले त बि.एस्सि. सकाएर बसेको हो । अब मास्टर्स् जोइन् गर्ने ।”
“ए ए !” भन्दै मैले फेरि सोधिहालेँ, “कुन बिषयमा हो नि ?”
एकैछिन् पर्खदा पनि उनको जवाफ आएन । मैले फेरि पनि सोधेँ, “अनि, खाली समयमा के हुँदै छ त ?”
त्यसपछि हराइन् उनी । दिन बित्यो । साँझ सकियो । राति पनि अबेर भयो । म प्रतिक्षामा थिएँ । तर उनको कुनै सङ्केत थिएन । सायद यत्तिमै सकिनु रहेछ... ।
अर्को दिन खाना खाई सकेपछि, मैले एकपटक कोसिस गर्ने विचार गरेँ । र म्यासेज् पठाएँ ।
“गायब नै पो भयौ त !”– यो मेरो, उनीलाई पहिलो ‘तिमी’ सम्बोधन थियो । मनमा विचार आयो, “कतै अन्तिम पनि पो हो कि ?”
सधैको जस्तो सामान्य दिन बित्यो । उनको भने कुनै अत्तोपत्तो थिएन । बारम्बार सोधिरहन ठिक लागेन । यदि उनको पनि बोल्ने चाह भए, त्यति नै मेरो खोज काफी थियो ।

राती मात्र उनी देखा परिन् । थोरै पुलकित भएको थिएँ म । प्रतिक्षारत जो थिएँ ।
म्यासेज् नै सेन्ड् नभएको अज्ञातता प्रकट गर्दै, उनले भनिन्, “बायोलोजी हो बिषय । अनि, खाली समयमा केहि गर्दिन म त । खायो, बस्यो, घुम्यो । द्याट्स् अल् ।”
अनि मलाई सोधिन्, “हजुर कस्तो जब् गर्नुहुन्छ र ?”
म जस्तोलाई ‘हजुर’ अलि सुहाएन कि ? त्यो ‘हजुर’मा मैले सभ्यता झल्किएको पाएँ । शिष्ट संस्कार देखेँ । खुसि लागेको थियो । मैले जवाफ फर्काएँ, “म एउटा निर्माण कम्पनीमा काम गर्छु ।”
उनले “होर !” भनेकी थिइन् ।
मैले कुरा गर्ने कार्जेलाई निरन्तरता दिँदै सोधेँ, “अनि, अहिले कुन पुस्तक पढ्दै छौ त ?”
“रिसेन्ट्ली त कुनै पढेको छैन ।”
“अनि खालि समयमा पढ्नु पो पर्छ त ।” मैले सुझाएँ– ठुलै मान्छेले जस्तो ।
“लोकसेवा पढ्दै थेँ । फारम खुलेन । त्यसैले, त्यो पनि छैन अहिले पढेको ।”
“कुन पोस्ट्को लागि ?”
“अफिसर् ।”
“ओहो ! राम्रो !”
उनी हासिँन् । अनि सोधिन्, “हजुर केइ पढ्दै हुनुन्छ कि नाइँ ?”
“टाईम् हुँदा पढ्नलाई, छ एउटा ।”
“हो र ! कुन ?”
“अ थाउजेन्ड् स्प्लेन्डिड् सन्स्, रे !”
“कसको हो ?”
“खालिद होसीनी, रे !”
“रे रे मात्र भन्नु हुन्छ त, के हो ?”
“नाम त्यहि लेख्या छ त ।”
उनी हाँसिन्, “हे हे !”
“एक महिना भयो, अझै आधासम्म नि पुग्न सक्या होइन ।”
“धेरै टाईम् पाउनु हुन्न होला नि त पढ्न ।” बुझकी नानीको बुझाइ आएको थियो !
मैले वास्तविकता बताएँ, “अल्छि भएर नि हो, अलिअलि त ।”
उनले जिस्काइन् मलाई । “हे हे हे !” हाँस्दै भनिन्, “अल्छि हुनु नि राम्रो हो ।”
मैले सोझो जिज्ञासा राखेँ, “अल्छि भ’को कसरी राम्रो हुन सक्ला ?”
उनको प्रतिप्रश्न थियो, “हुन्न त राम्रो ?”
“कसरी ?”
“त्यसरी नै ! कसरी कसरी ?” उनलाई झर्को लाग्यो कि ?
मैले यत्तिकै भनेँ, “यु डन्ट् नो ?”
“उम्, आइ डन्ट् नो !”
“बट् आइ नो !”
“के ? भन्नु त ।”
म पनि जिस्किएँ, “आइ नो द्याट् आइ डन्ट् नो !”
उनी मज्जैले हाँसिन् क्यार, “हा हा हा ! नाइस् जोक् !”
मैले ङिच्च पर्दै भनेँ, “ना ! इट्स् टेरिबल् !”

उनले गजब शैलीमा प्रश्न गरिन्, “माम हाम भयो त ?”
“मेरो त भयो । तिम्रो नि ?”
“उम्, भयो मेरो नि ।”
उनको नौलो शैलीको प्रशंसक भएँ म, “माम हाम... है, दामी !”
हाँसेका दुइ इमोजी सहित, तीन सास “हे हे हे !” हाँसेर उनले भनिन्, इट्स् माइ स्टाइल् !”
ठट्टा गर्दै, प्रतिलिपिगत प्रश्न गरेँ मैले, “तिम्रो आफ्नै हो ? चोरेको त होइन ?”
“होइन ।” भन्दै उनी पनि जिस्किइन्, “अरु त कसैले भनेको सुन्दिन... रे के !”

बिचैमा उनले सोधिन्, “हजुर कहाँ बस्नु हुन्छ ?”
“बुटवल भन्छन् यहाँ ।”
उनको जिज्ञासा अर्कै रहेछ, “हजुरको घर बुटवल, मलाई थाहा छ की ! तर अहिले चाहिँ बुटवल कि अन्तै भनेको के ?”
अनि उनले माफी पो मागिन्, “सरी फर् आस्किङ् !”
“बुटवल मै हो ।” मैले माफी नमाग्न अनुरोध गर्दै भनेँ, “इट्स नाइस् टकिङ् टु यु ! सो प्लिज्... !”
उनले पनि खुसियाली व्यक्त गरिन्, “मी टु !”
मसँग कुरा गर्दा उनी रमाउने ! वाह ! त्यो थाहा पाउँदा, मेरो मुटुले एक धड्कन बिराएको चाल पाएँ । शरीर, भुवासरि हल्का भएको थियो । दिमागले सपनाहरू बुन्न थालेको थियो ।
अझ ढुक्क हुन मन लागेर, मैले सोधेको थिएँ, “यु टु ??” तर त्यसबारे केहि भनिन् उनले ।
केहि सुरसार नदेखे पछि मैले नै फेरि सोधेँ, “ह्याब् यु बीन् ह्यर् ?”
“नो ! भ्याली बाहिर खासै गएकि छैन । बुटवलको फूलबारी गएकि छु ।”
“ओहो ! ‘द भ्याली गर्ल’ हौ तिमी !”
मैले प्रसङ्ग बस् दिएको नाम सहर्ष स्विकार गरिन् उनले । ब्लश् इमोजी सहित हाँस्दै भनिन्, “नाइस् टाइटल् फर् माइ नेम् ! आइ लाइक् इट् !”
उनले मन पराएकोमा म पनि दङ्ग थिएँ, “आइ एम् ग्ल्याड् यु लाइक् इट् !”
उनी हाँसिन्, “हे हे हे !”
मैले सोधेँ, “फूलबारी कहिले आएकी थियौ ?”
“२०६८ मा, एस्.एल्.सी. दिएको बर्ष ।”
“ए ए !” भन्दै मैले फेरि सोधेँ, “नेपालको कुन-कुन ठाउँ पुगेकी छौ ?”
“उदयपुर, पुरानो घरसम्म गएकी छु । अनि दोलखाको जिरी, चरिकोट, कालिञ्चोक । अरु नुवाकोट, मामा-घर भएर जान पाएकी । पोखरा, लुम्बिनी, नारायणगढ । यति ठाउँ घुमेकी छु । अरु त, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक ।”
“ओह् ! नाइस् ब्रिफिङ्, बाइ द वे !”
उनले सोधिन्, “हजुर त, टन्नै घुम्नु भ’को होला है ?”
मनमा लाग्दै थियो, कुन अनुमानले त्यसो भनिन् होला । मैले भनेँ, “हल्का-फुल्का मात्र हो ।”
“हल्काफुल्का मात्र ?”
“त्यसै भनौँ ।”
अनि मैले सोधेँ, “कुनै त्यस्तो ठाउँ भेटायौ कि ? जहाँ पुगेपछि फर्किन मन नलागोस् ।”
“पोखरा राम्रो लाग्यो ।”
अनि उनले सोधि हालिन्, “हजुरले कुन लेवलसम्म पढ्नु भएको ?”
“ब्याचलर् मात्र ।”
“के मा हो ब्याचलर् ?”
“इन्जिनीयरिङ् !”

दश बजेको थियो । मैले उनलाई सोधेँ, “कति बेला सुत्ने चलन छ तिम्रो ?”
“चलन त, यति बेला भन्ने नै छैन । जति बेला निद्रा लाग्छ त्यति बेला । हिजो दुइ बजे सुतेको । अब आज खै ? तर चाँडै सुत्छु होला । हजुर नि ?”
नाइट् औल् नै रै’छिन् झैँ लाग्यो । “के गर्दै बस्यौ ?” मैले सोधेँ । 
अनि भनेँ, “म त झन् रुटिन् नै नभएको मान्छे परेँ ।”
“यु-ट्युब् जिन्दाबाद !”
अनि “हे हे हे !” हाँस्दै उनले भनिन्, “लावारिस हो, भनेपछी ?”
नबुझेर मैले सोधेँ, “भन्नाले ?”
“सुत्नको लागि चाहिँ लावारिस टाइप् । जति बेला मन लाग्यो तेति बेला ।”
बुझेको सङ्केत स्वरुप, “ए ए !” सहित मैले भनेँ, “सरी फर् द ट्रबल् ! थ्याङ्क्स् फर् एक्स्प्लेनिङ् !”
“हे हे हे ! इट्स् ओके ! आइ एम् गेटिङ् कम्पनी फ्रम् यु इन् टकिङ् । सो, नो नीड् अफ् सेइङ् सरी !”
उनको कुरा सुनेर मेरो दिल बगैँचा जस्तै भएको थियो । मनको दुनियाँमा रङ्गी-बिरङ्गी फूलहरू फुल्न थालेका थिए । अनुहार पनि चहकिएको हुँदो हो मेरो । मसँग बोल्नलाई पनि कोहि-कसैलाई यो विधि रमाइलो लाग्दो हो ? त्यो पनि एउटी राम्री यौवनालाई । मैले कल्पनासम्म पनि नगरेको कुरा, साक्षात् भइ रहेको थियो ।
मैले खुसि व्यक्त गरेँ, “सो.. ग्ल्याड् टु नो सो !”
यसमा उनको कुनै प्रतिक्रिया थिएन । अनि मैले सोधेँ, “के हेर्छ्यौ त यु-ट्युबमा ?”
“साउथ् मुभिज्, क्राइम् पट्रोल्, अनि गीतहरू सुन्ने । तेइ हो ।”
मलाई फेरि जिस्किन मन लाग्यो । उनलाई जिस्काउने हेतुले भनेँ, “बाहिर हेर त, झ्यालमा, कोइ आए जस्तो छ ।”
उनले साँच्चै भन्ठानेर झ्याल तिर हेरिन् क्यार । भनिन्, “कोइ आ’को छैन त । खै, मैले त कोइ देखिन ।”
म अझै खेलमै थिएँ, “तल देखि आवाज आइरहेको छ त ।”
उनले मेसो पाइनन्, “सरी, बुझिन ।”
उनले त्यति भनिसके पछि भने अब धेरै लामो गराउन मन लागेन । भनेँ, “क्राइम् पट्रोल् हेर्छु, भनेको होईन । होसियार ! त्यहाँ साङ्लाहरू हुन सक्छन् ।”– रातबिरात ‘मान्छे’ नै भन्दा डराउने पो हुन् कि सोँचेर ‘साङ्लाहरू’ भनेको थिएँ ।
“हे हे हे ! नाइस् सेन्स् अफ् ह्युमर् !”
“नट् द्याट् नाइस् !”
सानो एउटा प्रयास मात्र थियो मेरो उनलाई हँसाउने । उल्लेख्य नै गरेँ जस्तो चाहिँ लागेको थिएन । उनले दिएको तारिफ स्विकार नगरेको भएर होला । उनले लोप्पा ख्वाई दिइन् मलाई, “ल ल अलिअलि ठिकै रै’छ उसो भए ।”
म लत्रक्क परेँ । उनी भन्दै थिइन्, “अनि, खासमा, हाम्रो घरको किचन् माथिल्लो तलामा छ । तल साङ्लाहरू आउँदैनन् ।”
“छिपकिली त होलान् नि ?”
“हे हे हे ! छैनन् नि छिपकिली नि ।”
म उनलाई अर्को चुट्किला सुनाउन तयार भएँ ।
“सेतो लप्सीले कालो लप्सीलाई के भनेछ, थाहा छ ?”
“के भनेछ ?”
“हप्सी... भनेको रे !”
“हा हा हा हा !” उनी मस्त हाँसेको अनुमान गरेँ मैले ।
उनको हाँसोले मलाई पनि खुसि तुल्यायो ।

उनले कुराकानीलाई विस्तृत परिचय तर्फ फर्काइन् । सोधिन्, “ब्याचलर् सकाउनु भएको कति भयो ?”
“लामो समय भयो । ७० मा ।”
“अनि, मास्टर्स् ह्वाई नगरिङ् ?”
“पहिला, जब् तिर लागियो । अब, पढ्न मन लाग्दैन ।”
“पढ्न छाडेसी त, बानी हराउँछ नि ।”
“हो रै’छ ।”
उनले सोधिन्, “हजुरको पुरा नाम के हो ?”
नाम चाहिँ प्रोफाइलमै थियो । त्यसैले थर मात्र बताएँ, “घिमिरे हो ।”
“के... ? नील घिमिरे ?”
“उम्, त्यस्तै त्यस्तै ।”
“हा हा हा हा हा !” हाँस्दै उनले भनिन्, “मिलाएँ... रे के !”
उनले पुरा नाम नै सोधेकोले, आधाआधी जसो नाममा रोकिन मन लागेन । अप्ठ्यारो भने लाग्दै थियो । तर पनि भनेँ, उनको निम्ति, “आधिकारिक चाहिँ नीलमणि घिमिरे हो ।”
अनि उनलाई सोधेँ, “तिम्रो चाहिँ ह्यान्डलमा जे छ, त्यै हो नि ?”
“उम् हो ।”
“ढुङ्गाना कुन जातमा पर्छ नि ?”
“ब्राह्मण नै हो । तर जैसी ।”

अब मेरो जिस्किने बेला भयो । जिस्किदै सोधेँ, “अनि... रोजि कि रोजिन न त ?”
मेरो प्रश्नको को अर्थ बुझिनन् क्यारे उनले । भनिन्, “रोजिना हो । तर ‘रोजि’, ‘रोजु’ भन्दा पनि केई फरक पर्दैन... रे के !”– अन्त्यमा दुई इमोजी हाँस्दा थिए ।
मजाककै शैलीमा भए पनि, उनले दिएको छुटले म मख्ख थिएँ । उनका प्रिय नामहरू सम्बोधन गर्न पाउने खुसियालीमा मैले भनेँ, “ओह ! ओके.. ‘रोज्’ !”
मैले उनलाई ‘रोज्’ अर्थात् गुलाब फूलको रुपमा लिएँ । हुन पनि त्यस्तै थिइन् उनी– रङ्गीन र कोमल । मेरो संज्ञालाई, हाँसेर सहमति जनाइन् उनले, “हे हे हे ! है ? है !”
मेरो जिस्काई बिचैमा रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै मैले भनेँ, “के थाहा ? रोजेकी पनि हुन सक्छ !”
“हुन त जे नि सक्छ !”
“मलाई त लाग्छ, रोजेकै हो !”
“कसलाई ?”
“यु, अफ् कोर्स् ।”
“कसले ?”
“मी, अफ् कोर्स् ।”
“हा हा हा !” उनी हाँसिन् ।
मलाई थाहा थियो, उनी यहाँनिर हाँस्ने छिन् । त्यसैले भनेँ, “आइ नो !”

उनले सोधिन्, “हजुर फेसबुक् चलाउनु हुन्न ?”
“नो !”
“ह्वाई ?”
“नेभर् अकर्ड् !”
“हे हे हे !”
“यु डु ?” मैले सोधेँ ।
“उम्, चलाउँछु म त ।”

त्यसपछि उनले, मैले सोँच्दै नसोँचेको अनुरोध गरिन् । उनले बडा मिठो गरि भनिन्, “कुड् यु सेन्ड् मी सोम् अफ् योर् पिक्स् ?”
अनुहार देखाउन पर्ने कुराले, मलाई त लाज पो लाग्यो । साथै खुसिले मख्ख परेको थिएँ । मलाई हेर्न पनि कोहि त्यसरी लालायित होला ? मलाई विश्वास गर्न गाह्रो परिरहेको थियो ।
हुन त मैले उनलाई देखीसकेको थिएँ । तस्बिरमा, अफ कोर्ष । मेरो भने इन्टरनेटमा फोटो राख्ने चलन थिएन ।

(to be continued...)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न