एक्लो

“घुम्न जान भए पनि बिहे गर्नु पर्ने भयो !”

उनले आफुलाई ‘एक्लो’ बताइन् । यो कस्तो विस्मयन ?

“म हुँदा-हुँदै पनि, त्यस्तो फील भएको छ तिमीलाई ?” मैले डराइ-डराइ सोधेँ, “मेरो अस्तित्व... कहाँ गयो ?”– किनकि विद्यमानताको अर्को एउटा प्रश्नले फेरि नयाँ दुर्घटना निम्त्याउने हो की भन्ने त्रास कायमै थियो ।

उनले सिधा जवाफ दिईनन् । भनिन्, “हिजोको स्टोरीमा कहाँ थियो तपाईंको अस्तित्व ?”

मेरो छाती चिसो भैसकेको थियो । तैपनि हिम्मत जुटाएर अनुरोध गरेँ, “कुन स्टोरीको कुन प्रसङ्गको कुरा गरेकी, भनिदेउ न । मैले बिर्सिएँ ।”

कुन प्रसङ्गको जिक्र/उल्लेख गरेकी हुन्, मैले बुझिन । उनले पनि बताइनन् । मेरो मन ओइलायो, चैतमा गोडेर फालेको झार जस्तै । म हुनुको त एक त्यान्द्रो पनि माने नभए झैँ, उनले जोड्दार भनिन्, “एक्लो मान्छे । एक्लै त हुन्छ नि ।”

मैले अरु केहि भन्न सकिन । मेरो अनुहारमा अप्ठ्यारा रेखाहरू सुलुसुलु दौडिन थालिसके । लामो सास सँगै मेरो मुखबाट “ए... !” निस्कियो ।

उनलाई त्यो चित्त बुझेन । झर्किएर भनिन्, “कस्तो ‘ए..’ हो त नि !?”

त्यसपछि मैले केहि भनिन । बोल्न पनि आएन । धेरै कुराहरू गरौँला सोँचेर फोन गरेको– सबै बात हराएर गए । आवाज पनि नबुझिएको– भनिरहेकी थिइन् । अब त झन् शब्दै निस्किएनन् । उनको मनमा मेरो स्थान के हो ?– भन्ने प्रश्न फेरि उब्जिएको थियो ।

बोल्दै जाउँ । डाउट् क्लियर् गरौँ । अन्त्य सम्ममा मन हल्का हुँदै जाला– भनेको पनि नेटवर्कले साथ दिएन ।

उनी आफुलाई ‘एक्लो’ भन्दै गर्दा– जिस्किएर भनेको जस्तो पनि लागेन । निकै गम्भीर आवाजमा विश्वस्त रूपमा भनेकी थिइन् उनले ।

त्यसपछि मेरो निद्राले बाटो ततायो । तर मलाई चिस्याएर छोड्यो । मनभरि झलझली तिनै कुराहरू खेल्न थाले । अब त सबै ठिकै हुँदै गइरहेको छ– भन्ने भइरहेको बेला– फेरि एकपटक सङ्कट्मा पर्‍यो, ‘म हुनुको अर्थ’ ।

होइन, आखिर कुनै अर्थ नै नराख्ने मान्छे रै’छु कि के हो म ? उनको भावनामा मेरो एक स्थान पनि रै’नछ कि क्या हो ? यदि म कहिँ न कहिँ, उनको मनको कुनै कुनामा हुन्थेँ भने त– उनले आफुलाई ‘एक्लो’ भनेर मेरो सामु नभन्नु पर्ने ! मेरो मन खलबलियो । राति अबेरसम्म छटपटाएँ । कति बेला झुपुक्क भएछु, थाहा पाइन ।

बिहान आमा कराएपछि ब्युझिएँ । उठ्ने बित्तिकै त केहि सम्झिएको रहेनछु, चिलमा थिएँ । छिन् मै झल्यास्स गत रातको कुरा सम्झिएँ । त्यसपछि त के चाहियो र ? मन भरि नानाभाँती कुराहरू खेल्न थाले । हिजोकै कुराहरूले सताउन थाले । उनलाई एक्लो फील् हुन नदिने किसिमको माया, मैले गर्न नसक्दो रै’छु जस्तो लाग्यो । भावात्मक खुसिमै रमाउने म । भावात्मक पीडामै दुखि हुने म । त्यहि भावना भित्रको थोरै पनि खुसि उनिसम्म पुर्‍याउन नसक्ने रै’छु । आफ्नो औकाती माया देखेर दया लाग्यो । मेरो माया उनको स्तरको हुन कहिले सक्दैन झैँ लाग्यो । यदि त्यसो हुँदो हो त, म छँदाछँदै उनलाई एक्लो फिल् नहुनु पर्ने !?

अस्तिको दिन मैले दिएका घाउहरू पुरिदैँ छन् । खुसि नै छिन्– कमसेकम मसँग– सोँच्न थालेको थिएँ । तर ति घाउहरू आलै रहेछन्, झैँ लाग्यो ।

अघिल्लो दिन साँझसम्म हल्का रहेको टाउको आज भारी भयो । भित्र कतै दुख्दै थियो । आखाँको पछाडि पनि दुखेको थियो । दुखेको टाउको सुम्सुम्याउन देब्रे हात निधारमा पुगीरहन्थ्यो । गिदी जमेर मह झैँ भएछ कि– पानी झैँ बग्न सकेनन् विचारहरू । एकै ठाउँमा बाक्लो भइ ठाँटले बसे । तर्कनाहरूले गाँजी रह्यो मन । क्लियर् हुन सक्दै सकेन ।

अघिल्लो दिन भर चङ्गा थियो मन । दिउसो कुरा हुन नपाएको कसरा भने थियो । कार्य क्षेत्रमा साहुहरूको आगमनले गर्दा, उनले फोन गरेको भए पनि, बोल्न मुस्किल थियो । उनले फोन गरिनन् । मैले गर्ने अवस्था थिएन । किन गरिनन् होला– भन्ने चाहिँ दिन भर लागिरह्यो । मैले थाहा नपाएर हो कि भनि, एकदुई पटक चेक पनि गरेको थिएँ । मिस्ड्कल पनि नदेख्दा– कतै मन दुखाएर त होइन, जस्तो लागेको थियो ।

दु:ख लाग्छ– तिम्रो नजिक पुगेर पनि, कहिले तिम्रो नजिक भइन । कि कहिले पुग्दै पुगिन, हँ ? कैयौँ पटक, अब त तिम्रो नजिक पुगेँ जस्तो लाग्थ्यो । तर फेरि, केहि न केहि त्यस्तो पर्न जान्थ्यो की– ए होइन रहेछ– म भ्रममा पो रहेछु– जस्तो फील गराई हाल्थ्यो । हिजो राति पनि त्यस्तै भयो । दिउसो सम्म उनको नजिकै छु जस्तो । राति त “ए... लौ... !” भन्ने भइ हाल्यो ।

थोरै मात्र खाएर जागिर तिर हुर्रिएँ । मजाले खान सक्दै-सकिन । म मल्हमको पर्खाइमा थिएँ । अब एउटै औषधीको आश थियो । आए सास र प्रश्वास, नआए खलासको स्थिति थियो । नभन्दै, सोँचे जस्तै प्रेम भरिएको सम्बोधन सुकुन लिएर आयो- ‘मायालु हजुर’ । त्यो मल्हम ल्याप्प मनमा लागि हाल्यो र काम पनि गर्‍यो । म मख्ख भइहालेँ । शरीरमा उर्जा भरिदैँ आयो । अब त भोक पो लाग्न थाल्यो ।

“तर हिजो तिमीले किन त्यसो भनेकी ?”– टाउको भने दुखिरह्यो ।

ओठका दुई कुना राता गालासम्म पुर्‍याएर मुस्काएको इमोजी आए पछि, टाउको पनि सञ्चो भयो । तिमी पनि त्यसरी नै मुस्काएकी हौली– भन्ने भयो । तर तिमीले आफुलाई त्यस्तो एक्लो ठान्छौ ? मेरो साथको आभाष हुँदैन तिमीलाई ?

तिमीलाई आभाष हुने गरि मैले प्रोभाइड् गर्न नसक्ने देखेर होला है, त्यस्तो लागेको !? साँच्चै, मैले केहि गर्न नसक्दो रैछु, तिम्रो दु:ख कम गर्न जस्तो लाग्छ । मैले गर्न सक्ने भनेको त्यै ‘बरै– भन्ने’ मात्र हो झैँ लाग्यो । तिम्रो लागि कङ्क्रिट रुपमा केहि गर्ने क्षमता नराख्दो रै’छु मैले । उही कुरा माथी कुरा मात्र भए मेरा त । ठोस काम कहिले भएन । तिमीलाई झन् दु:ख पुर्‍याई रहको त छैन मैले ? छ भने भन है । आफुलाई लागेको कुरा सुनाउ है । म त यस्तै भएको छु । मनमनै के-के सोँच्छु के-के । अनि आफै चित्त दुखाएर बस्छु । तिमीलाई पनि वाक्क लगाउँछु होला जस्तो लाग्छ ।

हुन त, म आफैले, तिम्रो म माथिको भरोसा भत्काएको थिएँ । त्यसैले पनि, ठिक त्यसबेला त्यो विचारले तिमीलाई जितेको होला, अनि मात्र त्यसो भनेकी थियौ होला । तर पनि कुरा के हो– भन्ने स्पष्ट नभएसम्म यो मन कट्कटी खाइ रहन्छ, किराले काठ खाएको जस्तो, कटर्-कटर् !

जिन्दगीका कुरा गर्दा बेला-बेला तिमीले लामो सास छोडेको सुन्दा निकै पीर लाग्छ । पहिले त्यसरी सास छोडेको कहिले सुनेको थिइन । अहिले तिमीलाई निकै गाह्रो परेको छ । मेरो भरोसा टुटेपछि झन् बढेको छ, त्यो श्वासको बारम्बारता र तीव्रता । त्यो भन्दा अगाडिका धेरै दिनसम्म निकै खुसि थियौ तिमी । त्यो खुसि देख्दा, म दुईगुणा खुसि थिएँ । अहिले तिमी आत्तिएको देख्दा, म झन् अतालिएको छु ।

अरु सबै यत्रतत्र घुमफिर गरेको देख्दा, घुम्न जाने योजना बनाएको सुन्दा, अनि कुनैपनि योजनामा आफु पर्ने वातावरण नहुँदा, एक्लो महसुस गर्‍यौ होला । अनिश्चित भविष्यको चिन्ताले सताइरहेका बेला, स्वतन्त्र उड्ने चरीलाई घरैमा थच्चिनु परेकोले पनि खिन्न बनायो होला । धेरै सुर्ता नगर न तिमी । मेरो प्रबन्ध त्यति शानदार नहुन सक्छ, तर मेरा एक-एक योजनामा तिमी नै तिमी छौ । निश्चिन्त भैजाउ, हाम्रो पनि राम्रो समय आउँछ । तिम्रो र मेरो प्रभुत्व आउँछ ।


(२०७९ चैत्र २२ बुध)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न