अल्पकालीन आनन्द

दिउसोको कुराकानीमा उनले– “यसरी बोली राखेकी छु त म, हाँसी-हाँसी”– भनेको बेला, म हौसिएको थिएँ । हाँसी-हाँसी नै त्यसो भनेकी थिइन् उनले । तर त्यति भन्दा-भन्दै पनि उनले अन्तर-कुन्तरका मनका कुराहरू भने भन्न नखोजेको पाउँदा चाहिँ बिस्मित् थिएँ ।

उनि मख्ख/आनन्दित थिइन् । एट् लिस्ट् त्यसै भनेकी थिइन् । उनको हर्ष मैले पनि अनुभूत गरेको थिएँ । इट् वाज् ब्युटिफुल्ली कन्टेजियस् । मैले उनको त्यो आनन्द पनि खोसेको जस्तो लाग्यो । ठुलै पाप गरेको थिएँ । हिजो-अस्तिको दिनमा पनि– खुसीका बिच पनि डराइरहेको थिएँ म । कति बेला पोखिइ जाने हो– भन्ने भइरहेको थियो । नभन्दै त्यस्तै भयो । धेरै खुसि टिक्न सकेन । खै किन टिक्न मान्दैन ? रिपिटेड्ली यस्तै भइरहन्छ । केहि पनि ज्यादा, फाप्दैन हामीलाई ।

अगाडि टेक्स्ट्मा निकै मिठो गरि, मलाई पढ्न अर्‍हाएकी उनले, पछि फोनमा नमिठो गरि, “पढ्न मन लागे पढ्नुस्, मन नलागे नपढ्नुस्”– भनेपछि मेरो सातो गयो । छाती भित्र कसैले बरफ राखिदिए जस्तो भयो । घाँटी ख्याप्पै सुक्यो । त्यसपछि म बोल्न सकिन । मेरो मन दलदल जमिन भासिए जस्तै गरि खस्यो । बुनेका सपनाहरू टुटे जस्ता भए । उत्साह सबै मरे जस्तो भयो ।

सुरुमा त्यसरी चिसो आवाजमा भनेको भए पनि, मेरो आवाजको टोन् फेरिएको थाहा पाएर होला– उनले पनि लवज फेरेकी थिइन् । संबादलाई निरन्तरता दिन सक्दो कोसिस गरेकी थिइन् । तर म भने भत्किइ सकेको थिएँ । विचलित भइसकेको थिएँ । अब के भनेर, के नै हुन्छ र– जस्तो अवस्थितिमा पुगेको थिएँ । मन भरि भन्ने कुराहरू भएर पनि– ति भन्नुले, अब अर्थ राख्दैनन्, जस्तो लागेको थियो । चाहेर पनि उनको प्रयासलाई मैले साथ दिन सकिन । त्यसरी साथ दिन नसक्नुको ग्लानी भाव मनमा जोड-जोडले कराइ रहेको थियो । तर पनि बोल्ने हिम्मत आउँदै आएन । एक शब्द निस्किएन । भित्र-भित्रै दबिएर गयो, मेरो स्वर ।

उनिसँग गुनासो गरेर, उनलाई दोषी देखाएर, केहि हरफ लेखि सक्दासम्म त– खुबै गरेँ, ठुलै काम भो, जस्तो लागेको थियो । मनका केहि आवृत्तिहरूको वृत्त बन्न सक्यो झैँ लागेको थियो । तर जब उनले सबै खारेज गरिदिईन् । म त अनुचित पो रहेछु, भन्ने एहसास तत्कालै सुरु हुन थाल्यो । ति त मेरा मनगढन्त अड्कलहरू मात्र थिए । कुनै आक्षेप थिएनन् । मैले जान्न चाहेको एउटै मात्र कुरा थियो– ह्वाट् डु शी फील् फर् मी । सटीक रुपमा उनको मनमा चल्ने दृश्यहरू दुरुस्तै थाहा पाउनु नै, एक मात्र उद्देश्य हो मेरो । तर त्यसमा मैले अनावश्यक धेरै तर्क-वितर्कहरू गरेँ, जुन मेरो डुकु-लट्ठकपन थियो ।

उनले, “मैले केहि भनेकी छैन ?” भनि सोध्दा– मेरो दिमागमा दुई कुराहरू आएका थिए । एउटा– अस्ति राति, “उडेर कहाँ जान मन लागेको छ ?” भनि मैले सोध्दा– उनले, “भो’ भनिन” भनेको । अर्को– आजै दिउसो, केहि प्रसङ्गहरूमा उनले हाँसेर छोडेको वा मौन भएको । अनि, “घाँटीसम्म आउँछ, मुखमा आउँदैन” भनेको । तर मलाई डरले पछ्याईसकेको थियो । मेरो गल्ति हो– भन्ने लागि सकेको थियो । किनकि, जिन्दगीको जल्दो-बल्दो चिन्ताका बिच मैले मेरो झिनो भावनाको तुच्छ कुरालाई बढी महत्व दिएको थिएँ । त्यसैले पनि, जवाफमा मैले अरु केहि भनिन । भन्न पनि सकिन । मैले सहमति जनाउँदै भनेँ, “भनेकी छौ ।” तर तत्कालै मैले आफैलाई सोधेको थिएँ, “के चाहिँ भनेकी छन् त ?” उहिलेका केहि उनका सुन्दर विवरणहरू बाहेक, फ्रेश् वाणी मैले सम्झिन सकिन ।

उनको अर्को प्रश्न थियो, “हाँस्न पनि मुस्किल छ है ?” जवाफमा भन्न मन त थियो, “फिलिङ्सका कुरा गर्दा मात्रको हाँसोको कुरा गरेको हो ।” तर मुखबाट अर्कै निस्कियो, “त्यस्तो त होइन । कहिलेकाहिँ त्यस्तै फील् हुन्छ ।” उनले च्याप्प कुरो समाइन्, कडा स्वरमा भनिन् “त्यस्तो त भन्नु भएको छैन ।”
सोँचेको थिएँ, “त्यस्तै नै भनेको छु त ।” भनुँ की भनेर । तर बहसमा उत्रिने आँट आएन । म चुप भएँ ।

जसोतसो बोल्दै गए, मन हल्का हुँदै जान्छ, कोसिस चाहिँ गर्छु– भन्ने त भइरहेको थियो । तैपनि फेरि, यस्तो बेला, के सोधेर, के अर्थ– जस्तो लाग्दै थियो । न त उनले उत्साहले जवाफ दिने । न मैले त्यसमा केरकार गरेर बाँकी कुरा भन्न सक्ने । बोल्दा पनि आफ्नै शब्द बनावटी जस्तै लाग्दै थिए । आफ्नै बनावटीपन आफैलाई चित्त बुझेको थिएन । त्यसैले पनि मौन थिएँ । यस्तो लागेको थियो– मेरो यो कमजोर मुटुले उनको कडा राप झेल्न सक्दैन ।

उनि खुसि भएर बोल्दा, उनले मलाई बराबरीको हक दिइन्– जस्तो लाग्छ । अब, मैले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ– झैँ लाग्न थाल्छ । अनि हौसिएको हुन्छु । तर जब उनको स्वर कडा भएर आउँछ– त्यसपछि मात्र मैले आफ्नो वास्तविक स्थान बिर्सिएको चाल पाउँछु । उनलाई त्योसम्म भन्न सक्ने वा गर्न सक्ने मेरो हैसियत छैन– भन्ने कुरा बल्ल महसुस हुन थाल्छ ।

उनको पैतालामा नसुहाउने म, उनले बराबरीको दर्जा दिँदा– आफै मात्तिएको भान हुन्छ । मैले आफ्नो औकात बिर्सदाँ घट्ने दुर्घटनाले, उनलाई पुग्ने चोट सम्झेर दु:ख लाग्छ । तर पनि उनको त्यो निश्चल मनलाई पिरोल्न कहिले नछोड्ने भएँ । पाप धूरीबाट कराइरहँदा पनि पाप गर्न छोडिन । पापी म । पापीष्ट दक्षप्रजापति जस्तो !

जब-जब जानी नजानी उनलाई चोट पुर्‍याउँछु । तब-तब लाग्छ, मेरो मनमा कसिङ्गर भरिएको छ । मेरो मन त्यति सफा छैन, जति मैले दावा गर्छु । दुखाउन चाहन्न उनको मन । तर दुखाई रहेछु । तोड्न चाहन्न भरोसा उनको । तर तोडी रहेछु । खोस्न चाहन्न उनको आनन्द । तर खोसि रहेछु । कष्टप्रद जिज्ञासु बनि रहेछु । अक्षम्य अपराध गरे जस्तो लाग्छ । माफी पनि कसरी मागौँ ?

त्यस्तो नै गर्छु भनेर होइन । आफै हुन्छ । रोक्न सक्दिन । उनको मिठो बोली आएन भने । उनको मिजासपन महसुस गर्न पाइन भने । मेरो मनमा विकार पैदा हुन थाल्छ । म लहडीन थाल्छु । नेगेटिविटी ट्रिगर् हुन्छ । रजोगुण हराएर जान्छ । स्प्लिट् पर्सनालिटी डिसअडर् जस्तो– म अर्कै मान्छे बन्न पुग्छु । तमस सकिएपछि मात्र थकथकी लाग्न थाल्छ । बेलैमा पराक्रम जुटाएर संवाद गर्ने सुद्धी कहिल्यै फिरेन । सुद्धी भए नि, साहस भएन । सोँचाइ भए नि, गराई भएन ।

(२०७९/१२/३० मध्यरात्र)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न