होला !

एकाएक उनले मेरो माया पत्याईनन् ।
मैले भनेको थिएँ, “तिमीसँग बोल्न पाउँदा थकान कमी महसुस हुन्छ ।”
उनले नपत्याए जस्तो गरी भनि दिईन्, “होला !”
मैले उनलाई विश्वास दिलाउने कोसिसमा भनेँ, “मलाई त हुन्छ क्यारे !”
उनले अझै पनि सुनिश्चितता प्रकट गरिनन् । भनिन्, “हस् !”
मेरो कुरा चित्त बुझ्दो नलागेर प्रसङ्गलाई त्यत्तिमै टुङ्याउन तिर लागेको जस्तो प्रतित हुन्थ्यो । मेरो मुटु फुल्लिन थालिसकेको थियो । सास तेज भएको थियो ।

कामको थकानलाई, मनको थकानलाई उनीसँग केहिबेर गन्थन् गरेर भएपनि आफुलाई कायाकल्प गराउँछु सोँचेको थिएँ । तर सधै त्यस्तो नहुने । बिरालोलाई सधैको दुध र भात पुगोस् पनि कसरी ? मेरो मन झन भारी भयो । यसै त उनको अभावले भिडमा पनि एक्लो महसुस गर्ने म, झनै एक्लिएको जस्तो लाग्यो । शरीर सोझ्याउन एकैछिन बेडमा पल्टिन त पल्टिएको थिएँ । तर मनको आनन्द लिन भने पाइन । मन भरि कुरा मात्रै दौडिन थाले । धेरै कुराहरू सोँच्न थाल्यो मेरो दिमागले । उनका छोटा एवम् बाध्यात्मक जस्ता लाग्ने जवाफहरू सुनेर, उनलाई केहि न केहि त भएको हुनपर्छ भन्ने अनुमान लगाएको थिएँ ।
केहि कुरा निस्कन्छ कि सोँचि मैले मजाकको शैलीमा भनेँ, “एक शाब्दिक जवाफहरू !”
उनले त्यसमा पनि एक शब्दकै जवाफ दिईन् । सहमति स्वरूप भनिन्, “उम् ।” कुरा चाहिँ खोलिनन् ।

मैले सोध्ने साहस पनि बटुल्न सकिन । केहि गल्ति गरेछु कि जस्तो लाग्यो । मुटु बाउँडियो । आँखा भरिए । बाहिर खडेरीको बतास चल्दै थियो । मेरो मनको शान्ति पनि त्यसैसँग उडेर गयो । धेरै नसोँच्न भनि दिमागलाई धेरै पटक निर्देश गरेँ । तैपनी उनीसँग खुल्न नसकेको कुराले पिरोल्यो । उनलाई गुमाउँछु कि भन्ने डरले मुटु काँप्यो । आँखा रसाए । नाक पनि बग्दै थियो, सुँक्क माथि तानेको थिएँ । लिविङ्ग रूमबाट आमाले बोलाउँदै हुनुहुन्थ्यो । अड्किएको आवाजमा “एकैछिन्” भनि चिच्याएको थिएँ । उनीसँग मिठासपूर्ण कुरा नहुँदा, मन खुल्न नपाउँदा यस्तै हुने गर्छ मलाई । सुन्दर समय उजाडिन्छ ।

सबै मेरो सोँचको उपज मात्र पनि होला । तर म उनको मनमा केहि न केहि भएको कुरा अनुमान गर्न सक्थेँ । उनलाई सधै खुल्नु पर्ने नियम त छैन । तैपनि खै किन यो मन उनको मनको हाल जान्न तड्पिन्छ । जान्न नपाउँदा छट्पटाउँछ । तत्काल सोध्ने हिम्मत गर्न सक्दैन । किनकि यस्तो मूडमा उनले खुलेर कुरा गर्दिनन् । सोध्दा उनी झनै कडा रूपमा प्रस्तुत हुन पनि सक्छिन् । कुरा बिग्रने डरले गाँजेको अनुभूत गर्छु । सम्झेछु भने कुनै दिन लाइट् मूडमा उनीसँग यसबारे कुरा गर्ने छु ।


“र तिमी छैनौ !” भन्ने मेरो प्रसङ्गलाई उनले अस्ति पनि नजरअन्दाज गरेकी थिइन् । “खाना खानु भयो ?” भनि सोधेर कुरा मोडेकी थिइन् । मेरो मन खिन्न भएको थियो । हुन त, सबै प्रसङ्गबारे बोल्नु नै पर्छ भन्ने छैन, तर पनि यो मनले भने उनको राय खोज्दो रहेछ । उनको मनको कुरा जान्न चाहँदो रहेछ । तर त्यस्तो सधै सम्भव कहाँ । सधै उही कुरा दोहोरीरहँदा वाक्क पनि लाग्दो हो उनलाई । अथवा उनलाई पनि मलाई जस्तै अभाव महसुस हुँदो हो । तर केहि भन्न नसकेर कुराको प्रसङ्ग बदलेकी होलिन् । आफुलाई बलियो बनाएर रोक्दी हुन । कहिलेकाहीँ प्रसङ्गबारे केहि नबोलेरै आफुलाई सम्हाल्न सजिलो हुँदो हो उनलाई ।

तर मलाई भने त्यस्तो हुँदैन । मलाई त आवेगहरू पोखेपछि मात्र आनन्द लाग्छ । कुरा खोलेपछि मात्र मन शान्त हुन्छ । उनको कथा सुनेपछि मात्र मेरो चित्त बुझ्छ ।

□■□

मलाई थाहा छ म तिमीलाई कहिले पाउने छैन
तर तिमी प्रतिको यो चाह मनको मर्न दिने छैन ।

तिमीसँग जति कम सम्पर्क वा कुराकानी हुन्छ
त्यति नै बढी यो मनको चाह बढेको हुन्छ ॥


(२०७८ वैशाख १०, शुक्रबार)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न