साझेदार र असुरक्षा

उनको सम्झना आइरहन्छ मलाई । बेहिसाब आउँछ । अझ बिहानीपख त्यसको तिव्रता झन् बढी हुन्छ– सास नै रोकिएला जस्तो । उनको अभाव खट्किन्छ । आज पनि त्यस्तै भयो । निकै तिव्र ।

कतै उनी टाढिन पो खोज्दै छिन् कि– भन्ने यो मनलाई लाग्दा, अझ बढी एक्लिएको महसुस गर्छु । उनलाई केहि भन्न पनि सक्दिन । झनै कुरा बिगार्छु कि जस्तो लाग्छ । त्यसैले, केहि नभनी बसेको हुन्छु । भित्र-भित्रै कुरा गुम्साउँदै । भनि हालौँ भने पनि, छङ्ङ छैन मन । उनले छेकबार लगाइरहेको पाउँछु । अनि त्यसै पछाडि हट्छ मन । भित्र-भित्रै जल्न पुग्छु । आफैले निभाउन पनि जान्दिन ।

त्यो बिहान, फेरि मेरो मनमा विभिन्न तर्कनाहरू दौडँदै थिए । जुन कुराहरू मैले उनलाई सुनाउन सक्दिन । त्यसैले लेख्ने कोसिस गर्दै छु । यदि केहि गलत शब्द/भाव निस्किएमा, म क्षमा चाहन्छु । अलिकती मात्र पनि, मैले नराम्रो मतलब राखेको छैन ।

यस्तो विचार आएको थियो– यदि म भएको भए ल्याउने थिइन होला । हामी दुइको बिचमा पर्ने गरि कुनै पनि कुरा ल्याउने थिइन । मेरो मामलामा त झन्, श्रीमती पनि नाइँ ।

हुन त, त्यो केबल एक पाल्तु जनावर मात्र हो । तर थाहा छैन किन– त्यस कुराले मलाई जोडले हिर्कायो । भित्रैसम्म चोट पुर्‍यायो । लाग्यो, त्यो एक पाल्तु जनावर मात्र नहुन सक्छ । त्यहाँ उनको भावना जोडिएको छ । त्यसैले पनि मलाई फरक खुट्याउन गाह्रो पर्‍यो । मैले त्यसका बारेमा केहि बोल्दा उनले चित्त दुखाइन् । अकस्मात् क्रोधित भइन् । यस्तो लाग्यो– म भन्दा प्रिय उही छ । उसको अगाडि म कोहि/केहि होइन । एउटा पाल्तु जनावरबाट प्रतिस्थापित हुँदाको पीडा मैले पहिलोपटक अनुभव गरेँ ।

उनले एउटा सानो कुकुर ल्याएकी थिइन् । त्यसबारे मैले केहि टिप्पणी गरेको थिएँ । सायद मेरो टिप्पणी अलिकती क्षुब्ध प्रकारको भयो होला ।
मेरो दिमाग ठाउँमा थिएन । खराब भएको थियो । सिधा सोँच्न पनि सकिन । तर पनि म उनलाई सधै माया गरिरहने छु– सधैजसो उनीसँग व्यक्त गर्न नसके पनि ।

मैले भनेको थिएँ, “यदि अरु कसैको हुन्थ्यो भने मलाई समाउन अप्ठ्यारो लाग्थ्यो होला । तर तिम्रो हो । तिम्रो प्यारो कुरा हो । त्यसैले समाउँछु होला जस्तो लागेको छ ।”
त्यो त मेरो दिमागमा झट्ट आएको एउटा सोँच मात्र थियो । उनको भावनात्मक संलग्नता भइ सकेको प्राणीको बारेमा त्यस्तो भनिदिँदा उनको चित्त नबुझेको पनि हुँदो हो । मेरो कुरा सुनेर उनले झ्याट्टै छेको हालिन् । झ्वाप्प बार लगाइ दिईन् । आक्रोश पूर्ण शैलीमा भर्त्सना गरिन्, “पर्दैन कसैले समाई दिन, म आफै समाउँछु ।”

आफ्नो कुरा राख्दा सुरिएको म, उनको रिसानी आए पछि, आश बाँकी रहेन, खिस्सिएँ । उनका छेकोक्तिहरू सुन्दा लाग्यो– उनी मलाई बिस्तारै टाढा बनाउने कोसिस गर्दै छिन् । प्रत्यक्ष टाढा होइन । नजिकै राखेर । तर मायावी संसारबाट चाहिँ एकदम पर । जुन कुरा मैले सहन गर्न सक्दिन । म त त्यस्तो सोँच्दा मात्रै पनि बेचैन हुन्छु । छट्पटिन्छु ।

!@#$%^&*()

ति त भए उनले माया नगरेको जस्तो लाग्दा आउने विचारहरू । उनले माया नगरेको जस्तो लागेका क्षणहरू । तर उनले माया गर्छिन् जस्तो पनि उसै पल लागेको हुन्छ । कुरा अलिक दोधारे सुनियो, होइन ? हो, यस्तै हुन्छ मलाई । अलमल प्राय: । यद्यपी, मलाई थाहा छ भित्र-भित्रै उनी मलाई गहिरो माया गर्छिन् । बाहिर देखाउँदिनन् । मानौँ– देखाए बर्बाद हुन्छ ।

उनका केहि इशाराहरू हुन्थे । जसले मलाई माया पाइरहेको अनुभूत गराउँदथे । ति सङ्केतहरूको अर्थ अर्कै पनि हुन सक्थ्यो । क्याजुअल् व्यवहार पनि हुन सक्थ्यो । तर मेरो मनको शान्तिको लागि भएपनि, “यो माया नै फुलेको हो” भनेर बुझ्न चाहेँ मैले । मेरो पाउ मुनिको जमिन बलियो राख्न सघाउ पुर्‍याएका, उनका केहि जेस्चरहरू निम्न थिए :-
- जब, उनी मलाई फोन गर्थिन् वा उनलाई फोन गर्नको लागि टेक्स्ट् गरेर भन्थिन् ।
- विभिन्न कुराहरूका तस्बिर पठाइ रहन्थिन् ।
- कहिलेकाहिँ, धड्किदै गरेको मुटुको स्टिकर पठाउँथिन् ।
- म बेपत्ता हुँदा सोधपुछ गर्थिन् । खोज्दथिन् मलाई ।

कुनैबेला लाग्छ– मै मात्र, जे पायो त्यहि सोँच्दै, चित्त सानो बनाउँदै गर्‍या पो हो कि ?
खै के ? खै के ? बुझ्नै गाह्रो ! नबुझि बस्न नसक्दा, अझ बढी गाह्रो ।

फेरि सोँच्थेँ– उनको एउटा व्यक्तिगत जिन्दगी पनि त छ । त्यसलाई खलल नपुर्‍याई सम्बन्ध राख्न चाहन्छिन् उनी । पुर्‍याउन पनि त भएन । त्यसैले धेरै इन्वल्मेन्ट् नचाहेकी वा नदेखाएकी होलिन् । म मात्र पनि त उनको लागि सबै थोक थिइन । मेरो केसमा जे भए पनि ।

तर फेरि उतिबेलै, उनीसँग पहिले-पहिले हुने कुराहरूको सम्झनाले द्विविधा उत्पन्न गरिदिन्छन् । पहिले नजिक थिइन् । एकदम नजिक । अहिले टाढिन खोजेको भान हुन्छ । हुन्छ पनि, हुँदैन पनि । सधै भरि एकैनास गर्न नसकिने वा नहुने भएकोले होला, उनी एकैनास बनाउन, आफुलाई ठिक्क दुरीमा राखेकी छन् । न धेरै नजिक, न धेरै टाढा । त्यसो पनि होइन होला । उनले त्यति धेरै सोँचेकै छैनन् । बस् एउटा फ्लोमा चलिरहकी छन् । होइन, उनले सोँचेकी छन् र बुद्धिले काम लिएकी छन् ।

उनको यादमा हराउने काम भैरहेको हुन्छ । मैले गर्न सक्ने भनेकै उही सम्झना त हो । अरु त के नै गर्न सक्छु र ? चाहेर पनि सक्दिन । न उनलाई भेट्न सक्छु । न राम्ररी मन बगाउन पाउँछु । बस् कल्पना मात्र गर्न सक्छु । परिकल्पनामा मात्र उनी हरदम साथै हुन्छिन् ।

आज पनि उनको यादमा यसरी हराएँ कि, के भनौँ ? भान्छामा दुध बसाएर कोठामा आइ झ्यालबाट बाहिर हेर्दै टोलाएछु । दुध डढेर गन्ध आएपछि मात्र बल्ल थाहा पाएर दौडिदै गएँ । दुध पुरै सुकिसकेको थियो । ताप्के डढेको थियो । अरु कसैले थाहा नपाउन् भनि सुटुक्क जुठेल्नोमा राखेर पानीले भिजाई दिएँ । तर बैठक कोठा देखि बहिनी चिच्याई । आमा बाहिर हुनुहुन्थ्यो । भित्र आउनु भयो । एकै छिन् हल्लीखल्ली मच्चियो ।
“के गर्‍या ?” आमा भन्दै हुनुहुन्थ्यो ।
तर के नै गर्न सकिन्थ्यो र ? जे हुनु भइ सकेको थियो । त्यो दिन घरमा दोस्रोपटक दुध मगाइयो ।

आजकल म यस्तै भएको छु । भुसुक्कै बिर्सने । एउटा काम सुरु गरेर, पुरा नगरी अर्को तिर जाँदा, पहिलो काम नै बिर्सने । एक तिर राखेको सामान खोज्न अन्तै जाने ।
आफ्नो दैनन्दिनको बिग्रदो चाल देखेर, म झन् बढी उद्देलित भएको थिएँ । यहि पाराले मेरो के हविगत हुने होला सम्झेर डर लागेको थियो । खुब विछिप्त भएको थिएँ ।


(२०७८ आषाढ ०२, बुधबार) (the partner & the insecurity)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न